साप्ताहिक संवाददाता
चलचित्र निर्माण गर्दै जाँदा १८ वटा चलचित्र बनाइसकेछु र ती चलचित्रबाट दर्जनौं कलाकार तथा प्राविधिक जन्मिए । तीमध्ये कैयौंले यो क्षेत्रमा प्रतिष्ठा कमाएको देख्दा मेरो मन यत्तिकै हषिर्त हुन्छ । राजेश हमाल, बिपना थापा, रेखा थापा, पुजना प्रधान, आर्यन सिग्देल, शिल्पा पोखरेलहरूले नेपाली चलचित्रमा नाम कमाएका छन् । स्व. श्रीकृष्ण श्रेष्ठले पनि मेरै चलचित्र 'जन्मभूमि'बाट पहिलो पटक नायक हुने अवसर पाएका थिए । द्वन्द्व निर्देशक राजेन्द्र खड्गी र चन्द्र पन्त, छायांकारहरू सञ्जय लामा, मदन काश्यप घिमिरेलगायत दर्जनौं प्राविधिकले मेरै ब्यानरबाट डेब्यु गरे । द्वन्द्व, अभिनय, छायांकन, संगीत, सम्पादनजस्ता विधामा सशक्त व्यक्तित्वहरूलाई आफ्नो ब्यानरमार्फत उतार्न पाएकामा मैले चलचित्र क्षेत्रमा केही योगदान दिएकै रहेछु भन्ने लाग्छ ।
म 'सिम्पल लिभिङ, हाई थिंकिङ' गर्ने व्यक्ति हुँ । म लाउने-खाने र सो-अप गर्नेभन्दा राम्रो गर्ने र जुन काम जिम्मा लिइएको हो, त्यसलाई स्तरीय बनाउने कुरामा बढी ध्यान दिन्छु । २५ वर्ष यो क्षेत्रमा बिताउँदा मैले चाहेर कसैको चित्त दुखाएको सम्झना छैन । सफा र स्पष्ट कुरा गर्ने मेरो बानी कसैलाई मन परेको छैन भने मसंग पनि स्पष्ट कुरा गर्दिए म खुसी हुन्छु ।
बरु मेरो पारिवारिक जीवन चलचित्र जीवनजति सफल रहेन । मेरो जीवनमा तीनजना महिलाको प्रवेश भयो । ती तीनैजना अहिले मसँग हुनुहुन्न । दैवको लेखा हो कि जस्तो लाग्छ— म चलचित्र विधामा सफल निर्माता भनेर कहलिएँ अनि पारिवारिक जीवनमा भने असफल व्यक्तिका रूपमा चिनिएको छु । सबैलाई सबैकुरा भगवान्ले दिँदैनन् । मलाई पेसामा सफल बनाएँ, अनि पारिवारिक जीवनमा असफल ।
सधैं सकारात्मक सोच राख्ने स्वभावका कारण म नेपाली चलचित्रको सकारात्मक पाटो मात्र देख्छु । यो क्षेत्रका बारेमा सकारात्मक सोच राखियो भने मात्र हामी सफल हुन्छौं । सफलताको मेरो मन्त्र हो— 'सकारात्मक सोच राख्दै कर्ममा कटिबद्ध भैरहनु' । नकारात्मताले दु:ख दिन खोज्छ । त्यसले विचलित पनि तुल्याउन सक्छ, तर सकारात्मक भएर काममा इमान्दारिता मिसाइयो भनेसधैं सफलताले चुमिरहन्छ । एक-दुई पटकको असफलतामा आत्तिने र सफल हुँदा मात्तिने काम गरियो भने फेरि असफल हुन बेर लाग्दैन ।