मलाई नेपालको ऐतिहासिक महत्त्व झल्कने चलचित्र मन पर्छन । त्यस्ता चलचित्रबाट इतिहासका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ अनि ती चलचित्र कतैबाट नक्कलसमेत गरिएका हुँदैनन् ।
अभिनेता : मह जोडी
अभिनयका दृष्टिकोणले यो जोडी उत्कृष्ट त छँदैछ, त्यसबाहेक समाजलाई बाटो देखाउने कुरामा समेत उहाँहरू अग्रणी हुनुहुन्छ ।
नायिका : मिथिला शर्मा
एउटा त्यस्ती शालिन कलाकार जसको अभिनय करियरमा आजसम्म नकारात्मक पक्ष फेला पार्न सकिएको छैन । कुनै विवादमा नआउने उहाँजस्तो कलाकार चलचित्र क्षेत्रले पाउनु आफैंमा गौरवको कुरा हो ।
निर्देशक : निश्चल बस्नेत
चलचित्र क्षेत्रमा थुप्रै प्रतिभावान् निर्देशक हुनुहुन्छ जो मलाई मन पर्नु हुन्छ । मैले निश्चल बस्नेतलाई छनौट गर्ने मुख्य कारण चाहिँ के हो भने उनले त्यस्तो बेलामा नेपाली चलचित्र क्षेत्रलाई 'लूट' दिएर तरंगित बनाए, जतिबेला चलचित्र क्षेत्र धराशायी हुने क्रममा थियो ।
गायक : बच्चु कैलाश
मेरा बुवा नै संगीतकर्मी भएकाले होला, म सानैदेखि क्लासिकल गीत सुन्दै हुर्किएँ । पुराना गायक बच्चु कैलाशका सबै गीत मलाई कर्णप्रिय लाग्छन् ।
गायिका : तारादेवी
मार्मिक गीत गाउन सिपालु गायिका तारादेवीका कुनै पनि गीत पुराना लाग्दैनन् ।
पुस्तक : बायोग्राफी
मलाई मानिसका अटोवायोग्राफी मन पर्छन् । स्वदेशी तथा विदेशी लेखकहरूले लेख्ने पुस्तकबाट धेरै कुरा सिक्न सकिन्छ ।
स्थान : मुस्ताङ
मैले सुनेकी थिएँ, स्वर्ग नेपालमै छ । पहिलो पटक मुस्ताङ पुगेपछि स्वर्ग त यहाँ पो रहेछ जस्तो लागेको थियो । म हरेक नेपालीलाई एक पटक मुस्ताङ पुग्न सल्लाह दिन्छु ।
पहिरन : साडी
नारीको सौन्दर्य शरीर ढाकिने पहिरनमै छ भन्ने कुरामा विश्वास गर्छु । साडीले हाम्रो सम्पूर्ण शरिर ढाक्छ, सँगसँगै हाम्राे सौन्दर्यलाई पनि उजागर गरिरहेको हुन्छ ।
खाना : नेवारी
नेवारी परिकारहरू मौसम तथा स्वास्थ अनुकूल हुन्छन् । योमरी, घिउ-चाकुदेखि चटामरीसम्मका परिकार क्रमश: जाडो र गर्मीलाई ध्यानमा राखेर बनाइन्छ ।
मौसम : वसन्त
न त जाडो, न त गर्मी । वसन्त ऋतुमा मनमा सकारात्मक भाव उत्पन्न हुन्छ । नयाँ पालुवा पलाइरहेको यो बेलाको वातावरण नै रमणीय हुन्छ ।
चाडपर्व : तिहार
झिलिमिली र भावनात्मक सम्बन्धलाई उजागर गर्ने तिहार मन नपराउने को होला ? यही बेला पर्ने 'न्ह्ँयू-दया' मलाई अझ बढी मन पर्छ ।