साप्ताहिक संवाददाता
दोबाटेको प्रसारण
कञ्चनजंघा नाट्य समूहको हास्य टेलिचलचित्र 'दोबाटे' को प्रदर्शन प्रारम्भ भएको छ । समसामयिक विषयहरूमाथि व्यंग्य प्रहार गर्ने टेलिचलचित्र 'दोबाटे' को लेखन पत्रकार एवं साहित्यकार भूपेन्द्र तिम्सिनाले गरेका हुन् । तिम्सिनाका अनुसार 'दोबाटे' दमकको हिमशिखर टेलिभिजनबाट प्रत्येक बिहीबार राति ८:३० बजेबाट आधा घण्टा प्रसारण हुनेछ । यो टेलिचलचित्रमा भूपेन्द्र तिम्सिना, ज्योति अधिकारी, अभय पोखरेल, कमलराज भुजेल, भीष्म न्यौपाने, कमला घिमिरे, मातृका पौडेल, हरेन्द्र खत्री, दीपेन्द्र दाहाल, मनोज न्यौपाने, लक्षणा राई, कमल दाहाल काका, रेश्मा धिमाल, पंकज सापकोटा आदिले अभिनय गरेका छन् ।
कलाकारको सहयोग
कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य श्रृंखला 'इर्किनी मिर्किनी' का निर्देशक तथा मुख्य कलाकार प्रकाश सुब्बासहितको समूहले इटहरीका सडक बालबालिकालाई जाडोका न्याना कपडा वितरण गरेका छन् । कलाकारितामा सक्रिय भएदेखि नै सडक बालबालिकाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएका सुब्बाले गत आइतबार इटहरीमा २ दर्जनभन्दा बढी बालबालिकालाई न्याना लुगा वितरण गरेका हुन् । इटहरीमा दृश्य दर्शन प्रोडक्सन सञ्चालन गरिरहेका सुब्बाको यो कामलाई इटहरीस्थित द ब्राइट नेपाल तथा साझा कुरियरले सहयोग गरेका थिए । इटहरी-४ स्थित संगीत चौकमा आयोजित उक्त कार्यक्रममा इटहरी तथा आसपासका सडक बालबालिकाहरू सहभागी भएका थिए ।