साप्ताहिक संवाददाता
कलाकार : आर्यन सिग्देल, सुरबिना कार्की, रेम विक, बोधराज रेग्मी तथा सारिका केसी ।
संगीतकार : ताराप्रकाश लिम्बू, योगेश काजी तथा रमन गायक ।
आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'नाइके' ग्यांगस्टरमा आधारित छ । सम्पूर्ण छायांकन पोखरामा गरिएको यो चलचित्रमा अभिनेता आर्यन सिग्देलले ग्यांगस्टरको नाइकेको भूमिका निर्वाह गरेका छन् । यसअघि प्राय: रोमान्टिक भूमिकामा प्रस्तुत हुँदै आएका आर्यनले यो चलचित्रमार्फत एक्सन नायकको छवि बनाउने प्रयास गरेका छन् । यसअघि केही चलचित्र तथा म्युजिक भिडियो निर्देशन गरिसकेका नेत्र गुरुङले यो चलचित्रलाई युवापुस्ताप्रति लक्षित गरेका छन् । २ घण्टा ६ मिनेट लामो चलचित्र नाइके ब्ल्याक स्याडो प्रोडक्सनले निर्माण गरेका हो । त्यसो त चलचित्रमा एक्सन मात्र छैन, नव नायिका सुरबिना तथा आर्यनबीचका अन्तरंग दृश्यले पनि दर्शकको मन जित्ने संभावना छ । सानु कुमार महर्जनको द्वन्द्व निर्देशनको यो चलचित्रको छायांकन अर्जुन तिवारीले गरेका हुन् । यसअघि म्युजिक भिडियोमात्र छायांकन गरिरहेका तिवारीको यो डेब्यु चलचित्र हो । चलचित्रका केही गीत लोकप्रिय भैसकेका कारण निर्माण पक्ष चलचित्र नाइकेको सफलताप्रति आशावादी छ ।
निर्देशक : शम्भु प्रधान
कलाकार : दिक्पाल कार्की, गरिमा पन्त, सुमिना घिमिरे, अर्जुन श्रेष्ठ तथा रश्मी भट्ट ।
संगीतकार : दीप प्रधान
पुराना चलचित्रकर्मी शम्भु प्रधानलाई लामो समयपछि दर्शकमाझ ल्याउने चलचित्र 'रंग बैजनी' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । १२ वर्षअघि चलचित्र 'सन्यास' पछि चलचित्र क्षेत्रबाट टाढिएका निर्देशक प्रधानले आफ्नो अनुभवका आधारमा नयाँ र सरल विषयमा चलचित्र तयार पारेको बताएका छन् । निर्देशक प्रधानकी श्रीमती नुतन प्रधानले लेखेको कथामा आधारित यो चलचित्रलाई नारी प्रधान भनिएको छ । चलचित्रमा आधुनिक नेपाली समाजका नारीहरूबीच विद्यमान अन्तरद्वन्द्वलाई मुख्य विषय बनाइएको छ । 'झोला' को सफलतापछि नायिका गरिमा पन्त यो चलचित्रमा प्रभावकारी भूमिकामा प्रस्तुत भएकी छिन् । दर्जनौं म्युजिक भिडियोका सफल मोडल दिक्पाल कार्की यही चलचित्रमार्फत अभिनेताका रूपमा डेब्यु गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा रातो र नीलो रंगको समिश्रण अर्थात रंगबैजनीलाई विद्रोह एवं शौम्यताको प्रतिकका रूपमा चित्रण गरिएको छ । निर्देशक प्रधानका छोरा सशांक प्रधानले छायांकन गरेको यो चलचित्र आज देशभरिका ५० भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुँदैछ ।