साप्ताहिक संवाददाता
संगीतकर्मीहरूलाई सम्मान गर्ने समारोह हुने दिन आज शुक्रबार संयोगले स्वरसम्राट स्व. नारायण गोपालको २४ औं वाषिर्क स्मृति दिवस परेकाले रेडियो कान्तिपुरले 'म्युजिक अनर्स' कार्यक्रमको केही अंश नारायण गोपालप्रति समर्पित गर्ने योजना बनाएको छ । कार्यक्रमको प्रारम्भमा काठमाडौं विश्वविद्यालयका संगीतका विद्यार्थीले नारायण गोपालको सम्झनामा उनकै गीतहरू प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा देशका लोकप्रिय गायक-गायिकाहरूले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्दैछन् । निमा रुम्बा, सुगम पोखरेल, प्रमोद खरेल, धर्मेन्द्र सेवान, दीपक बज्राचार्य, मनोज केसी (१९७४ एडी), यमबुद्ध, मिलन अमात्य, कुलेन्द्र बिक, शिशिर योगी, विश्व नेपालीसहितका गायक-गायिकाले कार्यक्रममा सांगीतिक रौनक थप्नेछन् । कार्यक्रममा लोकगायक कुलेन्द्र विकको गायनमा शंकर बिसीसहितका नृत्यांगनाहरूको समुहले आकर्षक नृत्यसमेत प्रस्तुत गर्नेछ । संगीतकारद्वय न्ह्यू बज्राचार्य तथा हरि लम्सालको समेत सांगीतिक प्रस्तुति रहने समारोहमा कोरियोग्राफर गम्भीर विष्टसहितको समूहले चलचित्रका गीतमा नृत्य प्रदर्शन गर्नेछ । कलाकार तथा टेलिभिजनकर्मी सन्दीप क्षेत्रीको हास्यप्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जक बनाउनेछ ।
समारोहमा रेडियो कान्तिपुरका १६ जना भाग्यशाली श्रोता सम्मानित हुनेछन् । काठमाडौंका १० तथा मोफसलका १६ श्राेतालाई एक-एकवटा बिक्यू मोबाइल उपहार प्रदान गर्ने कार्यक्रम रहेको रेडियो कान्तिपुरका प्रशासन प्रमुख परमानन्द खनालले बताएका छन् ।
गीत, संगीत, नृत्य एवं प्रहसनसहितको यो रमाइलो कार्यक्रमलाई रेडियो कान्तिपुरका लोकप्रिय रेडियोजक्कीहरूले सञ्चालन गर्नेछन् । कार्यक्रमलाई सविना र भूमिका, राजेश र स्मिता, हेम र प्रतिमा, सुप्रल र आस्था, अम्बिका र रश्मिला, भूपेन्द, कमला र प्रियंका, गिरिश र श्रृजा, आशिष र सेजासू, महेश र अलिशा, रजनी र अनिल तथा सञ्जय र रेमनले रोमाञ्चक बनाउने तयारी गरेका छन् ।
नेपाली रेडियोको संसारमा अग्रणी स्थानमा रहेको रेडियो कान्तिपुर स्थापना कालदेखि नै नेपाली गीत-संगीत बजाएबापत संगीतकर्मी स्रष्टालाई रोयल्टी प्रदान गर्ने निजी क्षेत्रको पहिलो व्यवसायिक रेडियो हो । मोबाइलको बजारमा सात महिनाअघि मात्र भित्रिए पनि बिक्यू अहिले मध्यमवर्गीय नेपालीमाझ लोकप्रिय भैसकेको छ । रेडियो कान्तिपुरसँगको सहकार्यले आफ्नो ब्रान्ड प्रवर्द्धनमा अपेक्षाकृत सफलता प्राप्त हुने प्रायोजक बिक्यू मोबाइलको विश्वास छ । १६ औं वाषिर्कोत्सवमा गीत-संगीतका १० विधासहित एक जना वरिष्ठ गीतकारलाई ५० हजार नगदसहित 'लाईफटाइम एचिभमेन्ट एवार्ड' द्वारा सम्मान गर्दैछ । त्यसबाहेक रेडियो पत्रकारितामा क्रियाशील एक जना पत्रकारलाई ५० हजार रुपैयाँको 'कान्तिपुर रेडियो पत्रकारिता पुरस्कार' प्रदान गरिनेछ भने वर्षभरिमा सबैभन्दा बढि विज्ञापन प्रदायक विज्ञापन एजेन्सीलाई पनि सम्मान गरिँदैछ ।
कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण हुने यो समारोहलाई शिवम् सिमेन्ट तथा रोयल स्ट्याग मेगा म्युजिकले प्रायोजन गरेका छन् । सेलेबे्रसन पार्टनरमा गुडलाइफ बिस्कुट, नेपाटप, हाइलाइट्स नेपाल, प्रभु बैंक, इन्फ्रास्टकचर डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस, देवेनारा अगरबत्ती, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, बुद्ध पावर, अर्बिट मेडिकल इन्ट्रान्स तथा बुद्ध एयर छन् । कार्यक्रमको हस्पिटल पार्टनर अल्का अस्पताल हो ।