साप्ताहिक संवाददाता
सक्नुभएन भने पछि-पछि आउनोस्, म त्यो ठाउँको गजुरियल भ्रमण गराउँछु । यो सुनसरी जिल्लाको झुम्का कारागार हो, जहाँ दुईवटा ब्लकमा १५ सयजति कैदी-बन्दी छन् । आज हामीले करिब ७ सय जनालाई हँसाउनु-नचाउनु छ । गायिका मिलन अमात्य, प्राश्ना शाक्य, सुमित खड्का, पत्रकार रत्न आचार्यसहित हामी यहाँ सांस्कृतिक कार्यक्रम देखाउन आएका छौं । लौ, कार्यक्रम सुरु भयो, आन्तरिक प्रशासन प्रमुख ताराप्रकाश नेपालले स्वागत गर्न थाले । अब, तपाईं कैदी ब्यान्डको गीत सुन्दै गर्नोस्, मचाहिं जेलको गजुरियल निरिक्षण गर्छु ।
ओहो, कति राम्रो स्टेज, को बन्छ जेल स्टार ! ए, यहाँ कैदी-बन्दीहरूबीच हप्तैपिच्छे गायन प्रतियोगिता हुँदो रहेछ । महिनैपिच्छे साहित्यिक सम्मेलन गरिँदो रहेछ । विशेष अवसरहरूमा सामूहिक भोज चल्दो रहेछ । दैनिकजसो स्थानीय प्रतिभाको खोज हुँदो रहेछ । कुटिर उद्योगहरू चल्दा रहेछन् । देशका बारेमा चर्चा-परिचर्चा गर्दा रहेछन् । परदेशको पीडाका बारेमा बहस चल्दा रहेछन् । हैन हौ साथी हो, जेल भनेको यस्तो हुन्छ भन्ने पहिल्यै थाहा पाएको भए म पहिल्यै आउने थिएँ नि, भनौंझैं पो लाग्यो ।
अरू कारागारको अवस्था कस्तो छ, त्यो त थाहा भएन तर झुम्का कारागारमा हुने यस्ता गतिविधि देखेपछि गजुरीयल विश्लेषण रह्यो, जेललाई जेल होइन, सुधारगृह भनियो भने सुन्नेलाई सुनको माला, बस्नेलाई फूलको माला, यहाँबाट सुध्रिएर जो बाहिर आउला, त्यो सोझै वैकुण्ठ जाला ।
जेल मूलत: कानुनले वर्जित गरेको काम गर्नेहरूलाई राख्ने ठाउँ हो । तर, गजुरियल जम्काभेट भएकामध्ये धेरै जना कैदी आफ्नो कर्मको समीक्षा गरिरहेका भेटिए । कोही आफूले गरेको गल्तीको लेखाजोखा गर्दै थिए भने कोही खुला संसारमा फर्किएर जिम्मेवार नागरिकको जीवन बाँच्ने सपना साँच्दै थिए ।
थाहा छैन सत्य के हो, तर केही बन्दी आफू 'अन्धा कानुन' को सिकार भएको बताउँथे । कोही नखाएको विषले पोलेको सुनाउँथे । गजुरियल मनोविज्ञानअनुसार धेरैजसोको अनुहारमा अपराध भावको कुनै संकेत देखिंदैनथ्यो । निर्मम घटना घटाउने ज्यान र पाखुरा पनि थिएनन् । कसैले ज्यान केसमा जेल परेको सुनाउँदा लाग्थ्यो, यस्ता लिखुरेले कुन आँटले मान्छे मार्यो होला ?
कर्मशील र श्रमजीवी कैदी-बन्दीको दैनिकी देखेपछि गजुरियल विश्लेषण रह्यो- केहीचाहिं आपराधिक मनस्थितिकै कारण गलत बाटोतिर लागे होलान्, तर धेरैजसो कोही परिपबन्दमा परेर, कोही रिसलाई नियन्त्रण गर्न नसकेर, कोही लोभलाई जित्न नसकेर, कोही घमन्डको आगो निभाउन नसकेर कानुनको फन्दामा परेका हुन् ।
गजुरियल विश्लेषण भन्छ, मानिसका तीनवटा रूप हुन्छन् । शारीरिक, मानसिक एवं भावनात्मक । यी तीन रूपमध्ये शरीरले गरेको अपराध दण्डनीय हो । मानसिक रूपमा आउने उत्तेजना र आवेगलाई पनि दण्डनीय मानिन्छ, तर सबैभन्दा भित्री तहबाट कोही पनि अपराधी हुँदैन । शरीर र मनको आक्रोशलाई नियन्त्रण गर्न नसक्दा मान्छेबाट आपराध हुन्छ । कैदी-बन्दीमा रहेको आन्तरिक भाव रूपलाई जगाउन ध्यान र योगको व्यवस्था गर्नु आवश्यक रहेको गजुरीयल ठम्याइ छ ।
जेलबाहिरका मान्छेलाई जेल भन्ने शब्द सुन्नासाथ डर लाग्छ, तर जेलभित्रको समाज एउटा भिन्दै समाज हो । संसारबाट जेललाई सुधारगृहका रूपमा परिमार्जित गर्ने लहर चलेको छ । झुम्का कारागार प्रशासन र त्यहाँका कैदीहरू त्यसै दिशातर्फ उन्मुख रहेछन् भन्ने गजुरियल विश्लेषण रह्यो ।
नेपालको कानुनले अपराध मानेका विभिन्न घटनामा संलग्न कैदी-बन्दीहरूसँगको भेटघाट अविस्मरणीय रह्यो । हातहतियार, ज्यान, ठगीलगायत मुद्दामा जेल परेका ती मानिसको अनुहार हेर्दा विश्वासै गर्न सकिँदैन— कसरी त्यस्तो बीभत्स कार्य गरे होलान् ? यो कानुनले पुष्टि गरिसकेको कुरामा औंला ठड्याउने प्रयास पनि होइन ।
उक्त कारागारबाट निस्कने बेला एक जना कैदीले सोधेको प्रश्न अझै पनि मेरो मस्तिष्कमा घुमिरहेको छ । कानुनले तोकेको दण्ड-सजाय भोगेर बाहिर आइसकेपछि समाजले हामीलाई कुन नजरले हेर्छ ? आमनागरिकसरह समाजमा स्थापित गराउने सरकारी योजना के छ ? मानसिक एवं भावनात्मक रूपमा हामीलाई सामाजिक बनाउने तपाईंहरूको कार्यक्रम के छ ? हामी सुध्रिएर निस्किए पनि समाजले पुरानै नजरले हेर्यो भने हामी कुन बाटो लाग्ने ?
यस्ता धेरै प्रश्नको जवाफ मसँग थिएन । यति मात्र भनें, तपाईंको शरीर र मनले दण्ड-सजाय पाइसकेपछि तपाईंभित्रको आत्मा र चेतनालाई समाजले सम्मान नगरी सुखै छैन । बाहिरको खुला संसार तपाईंभित्रको शान्त, सुन्दर एवं सामाजिक मनुष्यलाई स्वागत गर्न तयार छ । तपाईं जेल स्टारमात्र होइन, नेपाल स्टार बन्ने तयारी गर्नुहोस् ।