साप्ताहिक संवाददाता
इन्टरनेट पढ्ने र पढ्न चाहनेहरूका लागि सबै अवसर नि:शुल्क दिने साधनका रूपमा आएको छ जहाँ सबै पुस्तक नि:शुल्क प्राप्त गर्न सकिन्छ । त्यति मात्र होइन, कहाँ-कहाँ नि:शुल्क पुस्तक उपलब्ध छन् भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । त्यति मात्र होइन कम्प्युटर, क्यामेरा वा कुनै उपकरणको म्यानुअल छैन भने त्यो पनि नि:शुल्क प्राप्त गर्न सकिन्छ ।
इन्टरनेटमा रहेका विभिन्न वेबसाइट, संस्था तथा पुस्तकालयहरूले दर्जनौं विधा र विषयमा सयौं पुस्तक नि:शुल्क उपलब्ध गराइरहेका छन् । जसबाट बिनापैसा नै पुस्तक पढ्न र संग्रह गर्न सकिन्छ । ती पुस्तक कम्प्युटर, ल्यापटप, पाल्मटप, मोबाइल वा ट्याब्लेटमा राखेर पढ्नसकिन्छ अथवा प्रिन्ट गरेर राख्नसकिन्छ ।
यसरी नि:शुल्क पुस्तक प्राप्त हुने वेबसाइटको ठेगाना सबैलाई थाहा नभैरहेको हुनसक्छ । इन्टरनेटका धेरै सेवा र सुविधा नि:शुल्क छन् । नेपालमा यतिबेला ई-बुकका रूपमा विभिन्न पुस्तक पीडीएफ फाइलमा बिक्री हुन थालेको छ । त्यस्तै पीडीएफ इबुकहरू इन्टरनेटबाट नि:शुल्क प्राप्त गर्न सकिन्छ जसले अध्ययनमा लाग्ने खर्च कटौती गरिदिन्छ । त्यतिमात्र होइन पढ्न पर्याप्त स्रोतहरू पनि उपलब्ध गराउँछ ।
इन्टरनेटमा उपलब्ध यस्ता नि:शुल्क पुस्तक प्राप्त गर्ने एउटै बाटो हो- एचक्यू बुक्स जसले इन्टरनेटमा भएका सबै नि:शुल्क पुस्तक खोजेर उपलब्ध गराउँछ । यो वास्तवमा इन्टरनेटमा उपलब्ध नि:शुल्क पुस्तक खोज्ने सर्च इन्जिन हो । यसले त्यस्ता पुस्तक आफ्नै र्सभरमा भने राखेको हुँदैन ।
यो सर्च इन्जिनको डाटाबेसमा ५७ लाख ८५ हजारभन्दा बढी नि:शुल्क प्राप्त हुने पुस्तकको डाउनलोड लिंक छ । जसमा मनोविज्ञानदेखि साहित्य, अनुसन्धान देखी राजनीति सबै विषयका पुस्तक समावेश छन् । कम्प्युटर चलाउन वा वेबसाइट डिजाइन सिक्दै हुनुहुन्छ वा इन्जिनियरिङ गर्दै हुनुहुन्छ भने पनि यो सर्च इन्जिनले नि:शुल्क रूपमा पुस्तक, जर्नल तथा लेखहरू उपलब्ध गराउँछ ।