हाललाई भने यो सेवा केही रेस्टुराँमा प्रारम्भ भैसकेको छ । त्यसबाहेक क्युएफएक्स सिनेमा हल तथा हाम्रो बस डटकमको सेवामा पनि यसको प्रयोग गर्न सकिन्छ । अहिले एटिएम कार्डका रूपमा एससिटी कार्ड पनि प्रयोग हुँदै आएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज अर्थात् एससिटीले नै एससिटी कार्डको डिजाइन गरेको हो । स्मार्टच्वाइस टेक्नोलोजिज तथा फोकसवान पेमेन्ट सोलुसनले संयुक्त रूपमा नयाँ प्रकारको मोबाइल पेमेन्ट सिस्टमका रूपमा 'एससिटी मोको' लाई नेपाली बजारमा उपलब्ध गराएका हुन् । अब आफ्नो मोबाइल फोन त्यही एससिटी डेबिट कार्डसँग लिंक हुनेछ र खल्तीको मोबाइल सेट पनि एउटा थप प्लास्टिक कार्ड वा वालेटका रूपमा रहनेछ । मोको नाम दिइएको उक्त एप्लिकेसनलाई आफ्नो स्मार्टफोनमा डाउनलोड गरी युजर नेम र पासवर्ड राख्नुपर्छ । त्यसबाहेक ४ अंकको पिन नम्बर पनि प्रत्येक प्रयोगकर्तालाई उपलब्ध गराइन्छ, अनि आफुले जुनसुकै समयमा पनि यसको प्रयोग गरी आवश्यक मात्रामा आर्थिक कारोबार गर्न सकिन्छ । अब नेपालमा मोबाइल पेमेन्ट सोलुसनमा एउटा नयाँ नाम बनेको छ— एससिटी मोको । छोटकरीमा यसलाई मोको पनि भनिन्छ ।
यसका लागि एन्ड्रोइड भर्सनको स्मार्टफोन वा आइफोन हुनु आवश्यक छ । त्यसैगरी एससिटी कार्ड र इन्टरनेट कनेक्सन छ भने जसले पनि यसको सहयोगले सपिङ गर्न सक्छन् । मोकोको प्रयोग गरी आफ्नो बैंक एकाउन्टमा रहेको ब्यालेन्स हेर्न सकिन्छ । त्यसैगरी आफूले गरेको बैंकिङ कारोबारका सम्बन्धमा जानकारी लिन सकिन्छ । यसको सहयोगले नेपाल टेलिकमको विभिन्न सेवाको बिल तिर्न तथा इजी कलिङ कार्ड किन्न सकिन्छ । त्यसैगरी एनसेल, युटिएल, स्मार्टसेल र ब्रोडटेल कलिङ कार्ड पनि किन्न सकिन्छ । यसबाट ब्रोडलिंक, नेपाल टेलिकम तथा एनसेलको इन्टरनेट बापतको महसुल तिर्न पनि सकिन्छ भने डिस होमजस्ता केबुल टिभीको पनि ।
अनुमान गर्नुस्, तपाईं घरमा हुनुहुन्छ । मध्यरातमा तपाईंलाई फोन गर्न मन लाग्यो, तर मोबाइलमा ब्यालेन्स छैन । अब के गर्ने ? त्यस्तो अवस्थामा पनि मोको एपले सहयोग पुर्याउँछ । मोको एपमा रहेको युटिलिटी पेमेन्ट हुँदै एनटिसी प्रिपेड वा एनसेल एयर टाइम छानेर आफ्नो मोबाइल नम्बर तथा आवश्यक रकम र आफ्नो चार डिजिटको पिन नम्बर दिएपछि आवश्यक रकम मोबाइलमा आउँछ । त्यसपछि फोन गर्न कुनै समस्या भएन ।
कदाचित मोबाइल सेट हराए पनि डराउनु पर्दैन । मोबाइलमा कार्ड डाटा स्टोर गरिएको हुन्छ, तर त्यसलाई २ सय ५६ बिटको इन्क्रिप्सनद्वारा उच्च रूपमा सुरक्षित गरिएको हुन्छ । मोबाइलमा पिन नम्बर स्टोर गरिँदैन । मोको प्रयोग गर्दा प्रत्येक पटक पिन थिच्नुपर्ने हुन्छ । त्यसबाहेक युजर नेम र पासवर्ड प्रयोग गरी एससिटी मोको एप्लिकेसन लक गरिएको हुन्छ । साइन अप गर्दा नै यो सबै कार्य सम्पन्न गरिन्छ ।
फोकस वानले पहिलेदेखि नै विभिन्न प्रकारका एप्लिकेसन निर्माण गरिरहेको छ । एससिटी कार्ड नेपाली उत्पादन भएकाले पहिले यसैमा ध्यान केन्द्रीत गरेको फोकस वान पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत आदिस श्रेष्ठ बताउँछन् । भविष्यमा यसको बजार विस्तार हुँदै गए अन्य कार्डमा समेत यो सेवा विस्तार गर्दै लाने योजना रहेको उनले बताए ।
गुगलका स्मार्ट चम्चा
गुगलले अहिले एउटा विशेष प्रकारको चम्चा निर्माण गरेको छ, जसको नाम 'स्मार्ट चम्चा' राखिएको छ । खाना खाँदा हात कामेर सही तरिकाले खाना खान नसक्ने बिरामीहरूका लागि यो चम्चा निकै उपयोगी सावित हुनेछ । वास्तवमा उक्त चम्चालाई 'लिफ्ट ल्याब्स' नामक कम्पनीले निर्माण गरेको थियो र त्यसको नाम 'लिफ्टवेयर' राखिएको थियो । पछि गुगलले उक्त कम्पनी खरिद गर्यो । उक्त कम्पनी अनुपम पाठक नाम गरेका भारतीय मुलका व्यापारीले खोलेका थिए । चार जना मिलेर उक्त चम्चा निर्माण गर्न प्रारम्भ गरेका थिए । गुगलले लिफ्ट ल्याब्स कम्पनी खरिद गरेपछि अनुपम पनि अब गुगलका कर्मचारी भएका छन् ।
उक्त चम्चामा सयौं एल्गोरिदम्स सामेल गरिएको छ, जसका कारण हात चलाउदा चम्चा हल्लिदैन । रोगीको हात हल्लिए पनि चम्चा आफैंमा नियन्त्रित हुन्छ । चम्चाकै कारण बिरामीको हात पनि लगभग ७६ प्रतिशत हल्लिन कम हुन्छ । गुगलले हाल यसको अन्तर्राष्ट्रिय मूल्य २ सय ९५ डलर तोकेको छ ।
मिराकल एसएमएस
गुगलको प्ले स्टोरजस्तै नेपालीहरूले नै निर्माण गरेको एप्स झोलामा भर्खरै मिराकल एसएमएस एप राखिएको छ । यो एप्स डाउनलोड गरेपछि विभिन्न प्रकारका एसएमएस प्राप्त गर्न सकिन्छ । ती एसएमएस खासगरी लभ, राशि, जोक, फ्रेन्डसिप, बर्थडे आदिसँग सम्बन्धित हुन्छन् । त्यसबाहेक भ्यालेन्टाइन डे, दसैंतिहार तथा नयाँ वर्षको अवसरमा समेत आवश्यक एसएमएस पठाउन तथा प्राप्त गर्न सकिन्छ । त्यसैगरी एसएलसी तथा उच्च माविको नतिजा समेत यही एप्सबाट प्राप्त हुन्छ । यसमा एसएमएस डाउनलोड गर्दा पैसा तिर्नुपर्छ । यो एपमा दैनिक जीवनका लागि आवश्यक लोडसेडिङ लगायत अन्य एप्स समेत उपलब्ध छन् । यो एप मनोहरलाल श्रेष्ठले डेभलप गरेका हुन् ।
चाहना अनुरुपको न्यूज फिड
फेसबुकले प्रयोगकर्ताहरूलाई सुविधा दिने उद्देश्यले आफ्नो न्युज फिडमा परिवर्तन गरेको छ । न्यूज फिडको सेटिङमा गएर युजरले अब आफूलाई कसले फलो गर्न सक्छन् र कसले सक्दैनन् भन्ने कुराको आफै निर्धारण गर्न सक्नेछन् । त्यसैगरी आफूलाई मन नलाग्ने पोस्टलाई नदेख्ने गरी मिलाउन सकिन्छ । प्रयोगकर्ताको रुचीलाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको फेसबुकले जनाएको छ । यसबाट न्यूज फिडमा नदेखिई बसेका प्रयोगकर्तालाई पनि जोड्न सकिनेछ । दैनिक रूपमा न्यूज फिडमा लगभग १५ सय अलग-अलग स्टोरी आए पनि युजरले लगभग डेढ सय स्टोरी मात्र हेर्न सक्छन् । अब भने आफूले चाहेका सबैको न्यूज फिड हेर्न सकिनेछ ।
सर्वाधिक पातलो स्मार्टफोन
स्मार्टफोन कम्पनी ओपोले सर्वाधिक पातलो स्मार्टफोन बनाएको छ । ओपो चिनियाँ कम्पनी हो । सिंगापुरमा भएको एक इभेन्टका क्रममा प्रदर्शित उक्त स्मार्टफोनको नाम ओपो आर ५ राखिएको छ । आर फाइभको मोटाइ ४ दशमलव ८५ एमएम छ । यसभन्दा अघि चिनियाँ कम्पनी जियोनीको एस ५.१ सर्वाधिक पातलो स्मार्टफोन मानिएको थियो ।
ओपो आर फाइभमा ५ दशमलव २ इन्चको फुल एचडी एमोलेड स्क्रिन छ । यसमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ६१५ प्रोसेसर छ । त्यसबाहेक यसमा २ जिबी र्याम तथा १६ जिबी इन्टरनल स्टोरेजको सुविधा उपलब्ध छ । यसमा र्यापिड चार्जिङ प्रविधि प्रयोग गरिएको छ । यसमा भएको २००० एमएएचको ब्याट्री ३० मिनेटमै ७५ प्रतिशत सम्म चार्ज हुन्छ । केवल ५ मिनेट चार्ज गर्दा यसमार्फत २ घण्टासम्मको टक टाइम उपलब्ध हुन्छ । यसमा १३ एमपीको रियर क्यामेरा तथा ५ एमपीको फ्रन्ट क्यामेरा छ । एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टमबाट चल्ने यो स्मार्टफोनको मूल्य ४ सय ९९ डलर छ ।