साप्ताहिक संवाददाता
आरोपको मुहूर्त
चलचित्र 'आरोप' को सोमबार भद्रकाली मन्दिरमा सम्पन्न शुभमुहूर्त समारोहमा अभिनेत्री सञ्चिता लुइँटेल तथा अभिनेता किशोर खतिवडाले मुहूर्त सट दिए । गत मंगलबारदेखि नै छायांकन प्रारम्भ भएको यो चलचित्रमा सञ्चिता र किशोरका अतिरिक्त सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा आदिले पनि अभिनय गर्दैछन् । दिलाशा क्रिएसनको ब्यानरमा अमर ओलीले निर्देशन गर्ने यो चलचित्रको कथा सञ्चारकर्मी लक्ष्मण सुवेदीले लेखेका हुन् ।
दुई संघको सहमति
नेपाल चलचित्र निर्माता संघ तथा नेपाल चलचित्र संघबीच भएको नयाँ सम्झौता पत्रमा निर्माता संघका अध्यक्ष राजकुमार राई तथा चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले सोमबार हस्ताक्षर गरेका छन् । नेपाली चलचित्रको प्रदर्शनलाई व्यवस्थित गर्न उक्त नयाँ सम्झौता गरिएको बताइन्छ । समारोहमा अध्यक्ष राईले निर्माता तथा प्रदर्शकहरूलाई आ-आफ्नो संस्थाको मर्यादामा ल्याउने आवश्यक भएको बताएका छन् भने उद्दिनले निर्माता संघ एवं चलचित्र संघले आपसी विवाद मिलाएर अघि बढ्दा चलचित्र उद्योगलाई फाइदा पुग्ने भएकाले उक्त सम्झौता गरेको बताएका छन् । दुवै संघबीच ११ बुँदै सम्झौता भएको बताइएको छ ।
संक्रमितसँग जिन्दगी रक्स
पुस १८ गतेदेखि प्रदर्शनमाआउने चलचित्र 'जिन्दगी रक्स' ले सफलता एचआईभी शिक्षा सदनका एचआईभी संक्रमित बालबालिकाहरूसँग खुसियाली साटासाट गरेको छ । चलचित्रका कलाकारसहितको समूहले बालबालिकाहरूसँग करिब तीन घन्टा बिताउने क्रममा नाचगानसहित खानपिन गरेको थियो । मानव जीवन संरक्षण मञ्च नेपालले बालबालिकाहरूलाई लत्ताकपडा हस्तान्तरण गर्ने समारोहमा 'जिन्दगी रक्स' को युनिट सहभागी भएको हो । मञ्चले चलचित्रको युनिटको हातबाट करिब ४० हजार रुपैयाँबराबरको न्याना पहिरन हस्तान्तरण गरेको थियो । ती बालबालिकाले पुस १८ गते यो चलचित्रसमेत हेर्ने छन् ।
चकलेटको फस्ट लुक
हास्य कलाकार निर्मल शर्माको डेब्यू निर्देशनको चलचित्र 'चकलेट' को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुक पोस्टरमा मिस्टर नेपाल आयुष्मान घिमिरे, नायिका पूजना स्त्री, नम्रता झा तथा एक बालिकालाई देख्न सकिन्छ । राजधानीका सडक बालबालिकाको कथामा आधारित यो चलचित्रमा अनुज शाक्य, सुनिता ठाकुर, कमल मैनाली, केशव भट्टराई, सुमन गैरे आदि कलाकारले पनि अभिनय गरेका छन् ।
सहरमा नयाँ स्टुडियो
चलचित्र, म्युजिक भिडियो तथा फोटोसेसन एउटै थलोमा गर्न मिल्ने अवधारणासहित काठमाडौंको दरबारमार्गमा मिलान इन्टरनेसनल स्टुडियोको स्थापना गरिएको छ । यो स्टुडियोमा चलचित्र तथा म्युजिक भिडियोको छायांकनका लागि दैनिक १५ हजार रुपैयाँ भाडामा ड्रेस तथा बत्तीको सुविधासमेत उपलब्ध गराइने बताइएको छ । मिलन इन्टरनेसनलका निर्देशक सपन दुलालका अनुसार स्टुडियोमा ३६ प्रकारका दृश्य समेटिएको ब्याकड्रप छ । नेपालकै सबैभन्दा ठूलो एक हजार स्क्वायर फिटको यो स्टुडियो इन्डोर सुटिङका लागि उपयोगी हुने यसका सञ्चालकको दाबी छ ।