रिस र रुवाइ
मलाई हत्तपत्त रिस उठ्दैन । स-साना कुरामा रिसाउने मेरो बानी नै छैन । सामान्य कुरामा नअल्झिने स्वभावकी भएकाले मलाई रिस उठ्न कुनै ठूलै कारण चाहिन्छ । रिस उठेका बेला त्यसलाई शान्त पार्ने मेरो बानी पनि अनौठो छ । जब-जब मलाई रिस उठ्छ, म ठूलो स्वरमा रुन्छु । जबसम्म म 'ह्वाँ-ह्वाँ' रुन्नँ, तबसम्म मेरो रिस शान्त हुँदैन ।
स्याम्पु
प्रत्येक पटक नुहाउँदा केशमा स्याम्पु लगाउनु सामान्य कुरा हो । व्यक्तिको केशअनुसार स्याम्पुको ब्रान्ड पनि फरक-फरक हुन्छ । म नुहाउँदा जहिले पनि तीन भिन्न ब्रान्डका स्याम्पु प्रयोग गर्छु । अलग-अलग स्याम्पुका अलग-अलग विशेषता हुनाले म नुहाउनुअघि तीनवटा स्याम्पुका बट्टाहरू तयार राख्छु र नुहाउने क्रममा तीनवटै बट्टाबाट सेम्पू निकालेर लगाउँछु । यसो गर्दा केशले हरेक प्रकारको पोषण पाउँछ भन्ने मेरो अनुभव छ ।
हेयर कलर
मैले अहिलेसम्म केशमा रंग लगाएकी छैन । मेरो केश प्राकृतिक रूपमै हल्का कालो र हल्का ब्राउन रंगको छ, त्यसैले पनि मैले केशमा रंग लगाउनै पर्दैन । यसबाहेक केशमा रंग प्रयोग गर्दा रसायनले केश बिगार्ने, टुक्राउने, हाँगा बढाउने समस्या उत्पन्न हुन्छ । म जीवनभर केशमा रंग नलगाउने पक्षमा छु ।
स्कुटरबाट सेवा
म स्कुटरमा यात्रा गर्छु । घर (सामाखुशी) बाट बाहिर निस्कने क्रममा सडकमा कुनै वृद्ध-वृद्धा बस कुरेर अथवा बिस्तारै हिँडिरहनुभएको छ भने पनि स्कुटर रोकेर 'कहाँसम्म जाने' भनेर सोध्छु । मसँग समय भए पनि, नभए पनि उहाँहरूले भनेको ठाउँसम्म पुर्याइदिन्छु । स्कुटरमा यात्रा गर्दा हेल्मेट र मास्क लगाउने भएकाले उहाँहरूले म नायिका गरिमा पन्त हुँ भनेर चिन्नुहुन्न । स्कुटरबाट उत्रिने क्रममा कतिपयले 'नानीको अनुहार हेरौं न' भन्नुहुन्छ, मचाहिं अहिले हतार छ भनेर अनुहार नै नदेखाई अघि बढ्छु ।
पुस्तक
म आफूलाई मन नपर्ने विषयको पुस्तक पढ्दै पढ्दिनँ । मन पर्ने विषयको पुस्तक पाएँ भने फुर्सद निकालेर पढ्छु । एक पटक पढ्न बसेपछि पूरै पुस्तक नसिध्याई उठ्दै उठ्दिनँ । मैले कतिपय पुस्तक पढ्दा रात नै छर्लंग पारेकी छु ।
आकाश
नीलो आकाशलाई मैले आफ्नो साथीका रूपमा लिएकी छु । आफू जहाँ पुगे पनि आकाश सधैं आफूसँगै हुन्छ । एकान्त होस् अथवा भीडभाड, आकाशले आफैंलाई नियालिरहेजस्तो लाग्छ । खासगरी रातको आकाश मलाई अझ प्रिय लाग्छ । कहिले कौशीबाट, कहिले बरन्डाबाट अनि कहिले बेडरुमबाट आकाश हेर्दै विभिन्न कल्पनामा हराउने बानी छ । मैले आकाशमा हेरेरै घण्टौं बिताएकी छु । खासगरी म निराश भएका बेला आकाश हेरेर मन बहलाउँछु ।
रुमाल
मसँग नछुट्ने साधन धेरै छन्, तर रुमाल बोक्न कहिल्यै बिर्सन्न । खासगरी पुस्तक पढ्दा वा चलचित्र हेर्दा त रुमाल साथमा हुनैपर्छ । भावनात्मक कथा भएका पुस्तक पढ्दा वा चलचित्र हेर्दा मेरो आँखाबाट आँसुका धारा नै बग्छन् । त्यसरी झरेका आँसुमा अरूको नजर नपरोस् भनेरै आँसु पुछ्ने रुमाल आफैंसँग राख्छु ।