साप्ताहिक संवाददाता
सोहाको बिहे
अभिनेता सैफ अलि खानकी बहिनी सोहाले फियान्सी कुणाल खेमुका साथमा २५ जनवरी २०१५ मा लगनगाँठो कस्ने बताइन्छ । अर्को वर्षको प्रारम्भमै सोहाको विवाहको घोषणा सार्वजनिक भएकाले २०१५ मा धेरै सेलिब्रेटिजको विवाह हुनसक्ने बलिउड विश्लेषकहरूको अनुमान छ । प्राप्त जानकारीअनुसार सोहाको विवाह एकदमै साधारण तरिकाले हुनेछ । यद्यपि नवाव पटौदी परिवारको विवाह साधारण हुन नसक्ने एकथरीको प्रतिक्रिया छ । सोहाको परिवारले ढुलमुले करिअरमै हराइरहेका कुणाललाई ज्वाइँका रूपमा कसरी ग्रहण गर्ला भन्ने प्रश्न पनि थियो । सोहाले भनेकी छिन्- हामी ठूलो खानदान भन्दैमा दम्भ प्रदर्शन गर्ने र त्यस्तै सोच राख्ने खालका होइनौं । हाम्रो परिवारले सधैं राम्रा व्यक्तिलाई प्राथमिकता दिएको छ, कुणाल राम्रो कलाकार एवं लेखक हुनुका साथै असल व्यक्ति पनि हुन् । उनका धेरै गुणले परिवारलाई आकषिर्त गरेको छ ।