'एकैछिन फुर्सद छैन सधैं हतारो, अभागी यो पुर्परोमा पर्छ झटारो । खानु न पिउनु हजुर लखर-लखर हिन्यो, न त ठाउँमा पुग्न सक्यो, न त मान्छे चिन्यो । काम बन्ला भन्दा-भन्दै मरिसक्यो आस्सै, जे गरे नि सुख छैन ए मेरी बास्सै.' नेपाल टेलिभिजनको हास्यश्रृंखला 'मेरी बास्सै' को यो शीर्षक गीत अधिकांश दर्शकलाई कण्ठै छ । संगीतकार चेतन सापकोटाको स्वर तथा संगीतको यो गीत विगत १० वर्षदेखि प्रत्येक मंगलबार राति नेपाल टेलिभिजनबाट बज्दै आएको छ । यद्यपि यो गीतका गीतकार शंकर अधिकारी 'घायल' हुन् भन्ने कुरा भने धेरै दर्शकलाई जानकारी छैन । थुप्रै टेलिश्रृंखलाका शीर्षक गीतहरू लेखिसकेका झुम्का, सुनसरीका घायल यतिबेला नेपाली चलचित्रका लेखक तथा गीतकारका रूपमा समेत स्थापित छन् । २०५८ सालमा चलचित्र 'मैदान' का लागि 'तिम्रो आँखा भित्र...' गीत रचना गर्दै यो क्षेत्रमा डेब्यु गरेका घायललाई टेलिश्रृंखला 'मेरी बास्सै' ले पहिचान दियो । रेखा थापाको चलचित्र 'अन्दाज' को 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला' लोकप्रिय भएपछि घायल लेखनकार्यमा व्यस्त हुन थाले । दुईवटा म्युजिक भिडियो निर्देशन गरिसकेका घायलले यो अवधिमा ५ सयभन्दा बढी चलचित्रका लागि गीत रचना गरेका छन् भने दुई सयभन्दा बढी चलचित्रका स्क्रिप्ट लेखिसकेका छन् । तामाङ भाषाको चलचित्र 'जाथेवा' बाट स्क्रिप्ट राइटिङमा डेब्यु गरेका घायलले नेपालीबाहेक भोजपुरी भाषाका चलचित्रसमेत लेखिसकेका छन् । विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भएका टेलिश्रृंखलाहरूमा समेत उनको कलम चलिसकेको छ । संगीतकारका रूपमा समेत काम गरिसकेका घायलले राजेशपायल राई, अञ्जना गुरुङ, लोरेटो सिंह, माण्डवी त्रिपाठी, चेतन सापकोटा आदिका गीतहरू संगीतबद्ध गरिसकेका छन् । सम्राट, सुटर, गुन्डासहित एक दर्जन चलचित्रमा संगीतकारका रूपमा काम गरेपछि आगामी दिनमा टेलिश्रृंखला तथा चलचित्रको निर्देशकका रूपमा दर्शकमाझ आउने तयारी गरिरहेका घायलसँग कृष्ण भट्टराईको तीन प्रश्न : मनोरञ्जन क्षेत्रमा तपाईंलाई अलराउन्ड भनिन्छ नि ?
मैले सानो पर्दा र ठूलो पर्दाका लागि अभिनयबाहेक अन्य सबै काम गरिसकेको हुनाले कलाकार तथा प्राविधिकहरूले नै मलाई यो उपमा दिएका हुन् । कलाकारितामा लागेपछि एउटै विधामा मात्र सीमित हुनु हुँदैन भन्ने लागेर आफूले जानेको विधामा सक्रिय भएको हुँ ।
गीतकार, लेखक, संगीतकार, निर्देशक मध्ये कुन विधामा बढि रमाउनुहुन्छ ?
मनोरञ्जनका हरेक विधामा सिर्जनशीलताको आवश्यकता हुन्छ । मैले रचना गरेका गीत, लेखेका चलचित्र, निर्देशन गरेका भिडियोलाई दर्शकहरूले मन पराउनुभएको छ । यो हिसाबले हरेक विधामा काम गर्न पाउँदा उत्तिकै रमाउँछु ।
भविष्यको योजना के छ ?
करिब डेढ दशकदेखि मनोरञ्जन क्षेत्रमा सक्रिय छु । अब मैले गर्न बाँकी रहेको काम भनेको टेलिश्रृंखला तथा चलचित्र निर्देशन हो । निकट भविष्यमै म यी विधामा पनि सक्रिय हुँदैछु ।