यस्तो रह्यो रेडियो कान्तिपुरको सम्मान

यस्तो रह्यो रेडियो कान्तिपुरको सम्मान

मंसिर २६, २०७१

रेडियो कान्तिपुरले आफ्नो १६ औं वाषिर्कोत्सवको अवसर पारेर गत शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको संगीत सम्मान कार्यक्रम संगीतमय रह्यो । समारोहमा रेडियो कान्तिपुरले स्थापना गरेको नेपाली रेडियो क्षेत्रकै सर्वाधिक ५० हजार रुपैयाँ राशिको रेडियो पत्रकारिता पुरस्कार सञ्चारकर्मी गगनशिला खड्कालाई प्रदान गरियो । गुल्मीको रेसुंगा एफएममा कार्यरत खड्का उक्त पुरस्कार पाउने रेडियोकर्मी खड्का चौथो पत्रकार हुन् । देशभरिका १ सय ५० रेडियोबीच भएको समाचार प्रतिस्पर्धामा खडकाले एन्टेना फाउन्डेसनका लागि तयार पारेको समाचारलाई निर्णायक मण्डलले उत्कृष्ट घोषित गरेका थिए ।

रेडियो कान्तिपुरले गत असोज २८ गते १७ औं वर्षमा प्रवेश गरेको अवसर पारेर आयोजित कार्यक्रममा ७५ वर्षीय गीतकार रत्नशमशेर थापालाई लाइफ टाइम एचिभमेन्ट एवार्डद्वारा सम्मानित गरिएको थियो । सञ्चारमन्त्री मीनेन्द्र रिजाल तथा कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियाले गीतकार थापालाई नगद ५० हजार रुपैयाँ, सम्मानपत्र तथा ट्रफी हस्तान्तरण गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिरोहियाले विगत १६ वर्षका हरेक मोडमा श्रोताहरूको साथ पाएकाले रेडियो कान्तिपुरले लोकप्रियताको शिखर चुम्न सफल भएको बताउँदै श्रोता एवं शुभेच्छुकहरूप्रति आभार प्रकट गरेका थिए । 'शाहीकालमा कान्तिपुर एफएममा आक्रमण गरी उपकरणहरू लुटियो, तैपनि श्रोताहरूलाई सुसूचित गर्ने कर्तव्यबाट हामी पछाडि हटेनौं,' अध्यक्ष सिरोहियाले विगत सम्झँदै भने— 'लोकतन्त्र दिगो भए मात्र मिडिया झाँगिन्छ । त्यति बेला हाम्रो जुन दृढविश्वास थियो, त्यो अहिले पनि छ ।'

समारोहमा रेडियो कान्तिपुरमा गत वर्ष भरी विभिन्न ९ विधामा सर्वाधिक प्रसारण भएका गीत-संगीत तथा संगीतकर्मीहरूलाईसमेत पुरस्कृत गरिएको थियो । उक्त अवसरमा उत्कृष्ट गीतकार, संगीतकार, लोक/ आधुनिक/पप/गायक तथा गायिका, ब्यान्ड तथा चलचित्र संगीतलाई पुरस्कृत गरिएको थियो । जसअन्तर्गत गीतकारतर्फ डा. कृष्णहरि बराल, संगीतकारतर्फ हरी लम्साल, ब्यान्डतर्फ अल्बाट्रस तथा चलचित्र संगीततर्फ यी आँखामा तिमी छौ (नाइँ नभन्नु ल-२) उत्कृष्ट रहे । यसबाहेक गायन विधातर्फ सुगम पोखरेल (पप—पुरुष), आस्था राउत (पप-महिला), उदय सोताङ (गायक—आधुनिक), मिलन अमात्य (गायिका-आधुनिक), पशुपति शर्मा (गायक-लोक) तथा पूर्णकला बिसी (गायिका-लोक) उत्कृष्ट रहे । रेडियो कान्तिपुरले सम्मानसाथ प्रतिगीत दस रुपैयाँका दरले रोयल्टी प्रदान गर्दै आएको छ । नेपाली रेडियोको इतिहासमा रेडियो कान्तिपुर गीतको सबैभन्दा बढी रोयल्टी प्रदान गर्ने रेडियो स्टेसन हो । समारोहमा थम्सन नेपाल (पहिलो), अवानी एजेन्सी (दोस्रो) तथा म्याक्स मिडिया (तेस्रो) लाई उत्कृष्ट एजेन्सीका रूपमा पुरस्कृत गरिएको थियो ।

नारायण गोपालको २४ औं स्मृति दिवसलाई समेत सन्दर्भ पारिएको संगीत सम्मान समारोहको प्रारम्भ उनकै गीतबाट गरिएको थियो । काठमाडौं विश्वविद्यालयका संगीत संकायका विद्यार्थीहरूको संगीत संयोजनमा प्रारम्भ भएको उक्त समारोहलाई धर्मेन्द्र सेवान, प्रमोद खरेल, मिलन अमात्य, विष्णु चेम्जोङ, नवराज बस्नेत, हरि लम्साल, विश्व नेपाली आदिले गीत-संगीतमार्फत संगीतमय बनाए । शंकर बिसीको लोक नृत्यले रमाइलो बनेको कार्यक्रममा चलचित्र 'अधकट्टी' तथा 'लभ यु बाबा' का कलाकारको नृत्य पनि आकर्षक रह्यो । रेडियो कान्तिपुर तथा कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त समारोहमा कान्तिपुर टेलिभिजनका सन्दीप क्षेत्रीको हास्य प्रस्तुति तथा १९७४ एडीको कन्सर्ट पनि रोमाञ्चक रह्यो । रेडियो कान्तिपुरका आरजेहरूले पालैपालो सञ्चालन गरेको समारोहमा संगीत क्षेत्रका लोकप्रिय अनुहारहरूको उपस्थिति थियो ।

यसबीच गत शुक्रबार साँझ नै अन्नपूर्ण होटलमा आयोजित एक अर्को समारोहमा केएमजीका अध्यक्ष सिरोहियाले रेडियो कान्तिपुरमा वर्षभरिमा उत्कृष्ट काम गर्ने आरजे, पत्रकार तथा कर्मचारीहरूलाई पुरस्कृत गरे । समारोहमा आरजे भूपेन्द्र खड्काले आउट स्ट्यान्डिङ परफर्मेन्स एवार्ड जिते । आस्था श्रेष्ठ आरजे अफ दि इयर भइन् भने श्याम श्रेष्ठ टेक्निसियन अफ द इयरका रूपमा पुरस्कृत भए । रामचन्द्र महर्जनले उत्कृष्ट समाचारवाचकको पुरस्कार पाए भने प्रेमसागर भट्टराई लेखा शाखाबाट तथा परमानन्द खनाल प्रशासन शाखाबाट उत्कृष्ट घोषित भए ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्