साप्ताहिक संवाददाता
भर्खरै सार्वजनिक भएको मेरो पहिलो एल्बम 'बहार'को प्रोमोसन गरिरहेकी छु । श्रोता, दर्शक, शुभेच्छुक तथा शुभचिन्तकहरूबाट आएका सुझावहरूको एनलाइसिस गरिरहेकी छु । यस्तै केही सांगीतिक कार्यक्रममा पनि सहभागिता जनाइरहेकी छु ।
बहारमा कस्ता गीत समावेश छन् ।
यो एउटा पूर्ण व्यवसायिक एल्बम हो । यसमा सेन्टिमेन्टल, रोमान्टिक तथा गजल टाइपका गीतहरू छन् । ६ वटागीत समाविष्ट एल्बममा डाक्टर किराँतको सोलो संगीत छ भने लव बुढाथोकी, जय किराँती, भूपाल राई तथा गीता त्रिपाठीको शब्द छ । मलाई लाग्छ, मैले एल्बमका सबै गीतप्रति न्याय गरेकी छु ।
कस्तो प्रतिक्रिया आइरहेको छ ?
राम्रो भन्ने धेरै छन् । ठीकै भन्ने कमै छन् । नराम्रो भन्ने त छँदै छैनन् ।
सांगीतिक क्षेत्रमै किन लाग्नुभयो ?
सानैदेखिको हबी हो । सबैले तिम्रो स्वर राम्रो छ, यही क्षेत्रमा लाग्नुपर्छ भनेर प्रोत्साहन दिनुभयो । अहिले यही मेरो लक्ष्य र उद्देश्य बन्न पुगेको छ । अहिले म यसैमा खुसी छु । अब यही नै मेरो कर्म क्षेत्र हो ।
नेपालमा गीत गाएर मात्र बाँच्न सकिन्छ ?
बाँच्नेहरू बाँचिरहेका छन् । गर्नेले यसमै प्रगति गरिरहेका छन् । यो व्यक्तिमा पनि भर पर्ने कुरा हो । जोसँग गला छ, कला छ उसलाई खासै गाह्रो हुन्छ जस्तो लाग्दैन ।
आगामी योजना के छ ?
संगीतमै लागेर यसमै पूरा जीवन समर्पण गर्ने लक्ष्य छ । हेरौं, समयले कत्तिको साथ दिने हो ? म कर्ममा विश्वास गर्ने मान्छे । त्यसैले यही क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेकी छु ।