२१ वर्षीया पेरिश्मा उच्च शिक्षाका लागि अस्टे्रलिया जाँदै छिन् । अस्टे्रलियामा उनी दिदी ग्रीष्मा शर्मासँग बस्नेछिन् । साप्ताहिकसँगको एक भेटमा पेरिश्माले आफ्नी माइली दिदी तथा आफ्नो नाममात्र होइन, आफ्ना बुवा हरिप्रसाद शर्मा तथा आमा गोमा शर्माका पाँचै सन्तानको नाम युरोपका प्रख्यात सहरहरूको नाममा आधारित भएको बताइन् ।
पेरिश्माका अनुसार उनकी जेठी दिदीको नाम रुष्मा शर्मा हो । २७ वर्षीया रुष्मा यतिबेला जापानमा छिन् । पेरिश्माकी बहिनी २० वर्षीया बर्लिना शर्मा पनि जापानमै छिन् । उनी बुवा हरिप्रसादसँग बसेर अध्ययन गरिरहेकी छिन् । परिवारका एक मात्र छोरा अर्थात् चारै जना दिदीहरूका भाइको नाम भने 'एम्स्टर्ड' हो । उनी भरखर २ वर्षका भए ।
रमाइलो कुरा के छ भने हरिप्रसाद विगत साढे दुई दशकदेखि नेपाल बाहिर छन् । सेफका रूपमा काम गर्नसबैभन्दा पहिले उनी जर्मनी पुगे । जर्मनी गएको केही समयपछि नेपालमा उनकी छोरी जन्मिइन् । छोरी जन्मिने क्रममा उनी बिदा मनाउन रूस पुगेका थिए । छोरीको नाम के राख्ने भन्ने छलफल चलिरहेका बेला हरिप्रसादले जर्मनी फर्किएर फ्याट् भनिदिए— जेठी छोरीको नाम 'रुष्मा' राखौं । उनकी श्रीमती गोमाले श्रीमान्को कुरामा सहमति जनाइन् । जर्मनी गएको दुई वर्षपछि नेपाल आएर पुन: जर्मनी पुग्दा हरिप्रसादलाई दोस्रो पुत्री लाभ भयो । त्यस क्रममा उनले गि्रसको भ्रमण गरिसकेका थिए, छोरीको नाम जुराइदिए— 'ग्रीष्मा' । तेस्रो सन्तानका रूपमा पनि पुत्री नै लाभ भएपछि उनको नाम जुराइदिए्— 'पेरिश्मा' । पेरिश्मा जन्मिनुअघि हरिप्रसाद नेपाल आएर फ्रान्सको पेरिस भ्रमण गर्नभ्याइसकेका थिए । २० वर्षअघि चौथो सन्तान पनि छोरी नै जन्मिएपछि हरिप्रसादले आफू बसिरहेको सहर जर्मनीको बर्लिनमा आधारित नाम जुराए— 'बर्लिना' । ५७ वर्षीया हरिप्रसादका कान्छा सन्तान दुई वर्षका भए ।सबै छोरीको नाम युरोपका सहर तथा देशको नामबाट जुराइसकेकै थिए, छोरालाई मात्र किन सामान्य नाम राख्ने भन्ने सल्लाह गर्दै नेदरल्यान्डको राजधानी 'एम्स्टर्डम' बाट छोराको नाम 'एम्स्टर्ड' राखिदिए ।
'हाम्रो नाम सुनेर अचम्म नमान्ने कोही छैन, पेरिश्मा भन्छिन्— 'यस्तो रमाइलो नाम कसरी राखियो भने जिज्ञासा राख्नेहरू पनि धेरै हुनुहुन्छ । हाम्रो नाम सुनेर मानिसहरू दंग परेको देख्दा असाध्यै रमाइलो लाग्छ ।' पेरिश्माका अनुसार उनका आमा र भाइ जापानमा बुवा हरिप्रसादसँगै बसोबास गर्छन् । हरिप्रसादले जापानको टोकियोमा 'इन्डो एशियन ब्लु स्काई' रेस्टुराँ सञ्चालन गरिरहेका छन् ।