महोत्सवमा नेपाल, भुटान र भारतका विभिन्न स्थानमा उत्पादित सुन्तला प्रदर्शनीमा राखिएको थियो । नेपालको सलकपुरे सुन्तलाको स्टलमा अवलोकनकर्ताको बाक्लो भीड देखिन्थ्यो । सुन्तलासँगै एवोकार्डोर्, पुत्काको मह, अलैंची तथा विभिन्न नेपाली उत्पादनहरू महोत्सवका आकर्षण थिए । महोत्सवको सह-आयोजक सिलिगुडीस्थित हेल्प टुरिज्म नामक संस्थाका निर्देशक सुप्रितमराज वसुले दार्जीलिङ, नेपाल र भुटानमा सुन्तला उत्पादनको १ सय७७ वर्ष पुरानो इतिहास रहेको चर्चा गरे । खासगरी दार्जीलिङ र नेपालका सुन्तला पातलो बोक्रा भएका कारण मीठो मानिन्छ । वसुका अनुसार सन् १९७० को दशकदेखि सुन्तला उत्पादन क्रमश: घट्दै गएको छ, तर कुनै पनि देशका सरकारले यस विषयमा चासो नदिएको उनले बताए ।
४० को दशकका लोकप्रिय गायक रविन शर्मापनि कोलकाता महोत्सवमा प्रस्तुत भए । महोत्सवमा शर्माले दर्जनभन्दा बढी नेपाली तथा बंगाली गीत सुनाउने क्रममा बंगालीश्रोताहरू मन्त्रमुग्ध देखिन्थे । रवीन्द्र संगीतमा समेत विशेष दख्खल भएका शर्माले 'चिनी गो चिनी तुमारे' गाउँदा बंगाली दर्शक खुसी मात्र भएनन्, उनीसँगै स्वरमा स्वर मिलाउन मञ्चमै उक्लिए ।
महोत्सवको अन्तिम दिन नेपाली कलाकारहरूको समूहले महोत्सवलाई देउसीमय बनायो । दार्जीलिङ, भुटान र नेपालका नेपालीहरू देउसीमा सहभागी भएका थिए । उक्त अवसरमा झापा धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीले देखाएको नेपाली नृत्यले पनिसबैको मन जित्यो । आठ सदस्यीय उक्त समूहले एक दर्जनभन्दा बढी नेपाली गीतमा नृत्य प्रस्तुत गरेको थियो ।