किराँत याक्थुङ चुम्लुङ, इलामको आयोजनामा शनिबार इलामको माईखोलास्थित टापुबेंसीमा नयाँ अन्नबाली चढाइ खोलामा गालीश्राप बगाउँदै (सा:मुरा वादेम्मा) चासोक पूजा गरियो । यसैगरी मोरङकै कानेपोखरीमा चासोक तङनाम (फुङसोक) उधौली पूजा सम्पन्न भएको छ । मोरङको राजघाटस्थित आम्बारीमा चासोक तङ्नाम (फुङसोक) उधौली पुजाको अवसरमा शुक्रबारदेखि तीन दिने मेला सञ्चालन गरिएको थियो । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै छेलो हान्ने, म्युजिकल चेयर तथा डोरी डोरी तान्ने प्रतियोगिता पनि सम्पन्न गरिएका थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार पनि वितरण गरिएको थियो । उक्त मेलामा केलाङ, माङलाङ, यबालाङ, हाक्पारे, साकेला, धान नाच, हुर्रा नाच, धिमाल नाच, सन्थाल नाच, तामाङ सेलो, सङगीन, लाखे नाच आदि पनि समावेश गरिएको थियो । यसै क्रममा इटहरी, धरान, तरहरा, इनरुवा, मोरङको बेलवारी, सुन्दरदुलारीमा पनि किराँत याक्थुङ चुम्लुङलगायत अन्य किराँती संघ-संस्थाले धूमधामसँग उधौली पर्व मनाएका छन् ।