अहिले परम्परागत पहिरनमा सजिन किशोरीहरूले चाडपर्व नै कुर्नुपर्ने समय आएको छ । आधुनिकताको चरम उत्कर्षमा पनि चाडपर्वहरूले केही हदसम्म संस्कृति जोगाउन सहयोग पुर्याउँदै आएका छन् । दसैं-तिहारलगायतका पर्वमा पश्चिम तराईको थारु समुदायका किशोरीहरू आफ्नै परम्परागत संस्कृतिक पहिरनमा रमाउँछन् । उनीहरू त्यही पहिरनमा नाचगान गर्छन् भने देउसीभैली पनि लेहङ्गा र चोलीमै सजिएर खेल्छन् । यसले समुदायको संस्कृति झल्काउनुका साथै परम्परा पनि जोगाएको छ । 'नयाँ पुस्ताका किशोरीहरू कम्तीमा चाडपर्वका बेला परम्परागत पोसाकलाई माया गर्न थालेका छन् । यसले हाम्रो संस्कृति पनि जोगिएको छ,' थारु अगुवा कमलेश चौधरी भन्छन् ।