विवाहको लगन नजिक आउने क्रममा बजारमा दुलहादुलहीको पहिरन किन्नेहरू निकै भेटिन्छन् । दुलहीहरूको विवाह पहिरनमा विविधता पाइन्छ । त्यसमाथि डिजाइनरहरूले ग्राहकको बजेटअनुसार पहिरन तयार गरिदिने भएकाले पनि आफूलाई सुहाउने पोसाकप्रति दुलहीहरूको लगाव बढ्दैछ ।
जाडोका लागि रातो मखमलको लेहङ्गा, मरुन रंगको लेहङ्गा, नेटको रातो घुम्टे, मखमलको पेटी, रातो मखमलको चप्पल तथा ब्यागको सेट नै पाइन्छ । हिजोआज लेहङ्गा सबैको रोजाइमा परेको छ । जर्जेट, नेट, क्रेभ, टिस्यु, प्रिन्टेट जर्जेट, साटन, सिफन, ब्रोकेट नेट तथा सिमर लेहङ्गाहरू बजारमा उपलब्ध छन् । विवाहको दिन भने रातो, मेरुन तथा गुलाफी रंग नै बढी प्रयोग हुन्छ । लेहङ्गामा स्टोन, जर्जोदी, डाइमन्ड, जरी, सितारा, पोते वा धागो वर्क गरी सुन्दर बुट्टा बनाइएको हुन्छ । जुनसुकै लेहङ्गामा पनि नेटको घुम्टो नै प्रयोग गरिन्छ । यसमा पनि दुलहीको रोजाइअनुसार सितारा, डाइमन्ड, स्टोन एवं जरीको प्रयोग सुन्दर तरिकाले गरिएको हुन्छ । विवाहको दिनका लागि ब्याग पनि पहिरनसँग मेल खाने रंगमै तयार गरिन्छ भने चप्पल रातो मखमलको हुन्छ चप्पलमा पनि सितारा, जरी, स्टोन आदि जडिएको हुन्छ । लेहङ्गामा प्रयोग गरिने बुट्टा र रंग लगाउने मानिसको सुन्दरता उसको अनुहारको रंग एवं बनोटअनुसार फरक हुनसक्ने डिजाइनरहरू बताउँछन् ।
विवाह भन्ने बित्तिकै सौभाग्य र प्रेमको प्रतीक रातो रंगको कुरा आउँछ । त्यसैले पनि विवाहको दिन दुलहीहरूले रातो रंगको पहिरन नै रोज्छन् । त्यसमा पनि दुलहीको अनुहारको रंग एवं बनोटअनुसार रातो, मरुन, रानी र गुलाफी रंग मिसाएर विभिन्न डिजाइनका पहिरन तयार गरिन्छ । विवाह विशेष लेहङ्गाको मूल्य २५ हजारदेखि ३ लाख रुपैयाँसम्म पर्छ । एउटा लेहङ्गा तयार पार्न करिब २ हप्तादेखि १ महिनासम्म लाग्छ ।
नेपाली समाजमा साडी र ब्लाउज सधै एक नम्बरकै पहिरनमा रहँदै आएको छ । बजारमा सिफन, जर्जेट, फ्रेन्च नेट, जापनिज सिफन, सिन्थेटिक, क्रेभ तथा सिमरका साडी उपलब्ध छन् । जाडोमा युवतीहरूले मखमल, पस्मिना र सिल्क, पस्मिना र सिफन मिश्रण गरिएको साडी रुचाउने टिपाज् बुटिक, न्युरोडका डिजाइनर प्रेम देव बताउँछन् । साडीमा जरी, स्टोन, थ्रेड, डाइमन्ड, सोरसोकी तथा मोती वर्कसमेत गरिएको हुन्छ । दुलहीका लागि डिजाइन गरिएको साडी र ब्लाउजको मूल्य २० देखि ९० हजार रुपैयाँसम्म पर्छ । अहिले कम्बरबन्दीको फेसन पनि छ । यसमा डाइमन्ड र स्टोन वर्क गरिएको हुन्छ । त्यसै गरी विवाहका लागि फेरि बनारसी साडीको पनि माग हुन थालेको छ । विवाहको समयमा सामान्य साडी र ब्लाउज किन्नेहरू पनि हुन्छन् । यस्ता साडीमा रातो, मरुन तथा गुलाफी बढी प्रचलित छन् । सुती, कटन तथा टेराकोसाका यस्ता साडीको मूल्य १ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ ।
विवाहका लागि प्रयोग गरिने ब्लाउजको डिजाइनमा विविधता हुन्छ । विवाहका लागि फुल बाहुला भएको, अगाडि र पछाडि कम खुलेको ब्लाउज फेसनमा रहेको पाइन्छ । कुनैमा पछाडि डोरी प्रयोग गरिन्छ । ब्लाउज विशेष गरी जर्जेट, नेट, ब्रोकेट, साटन तथा लाइक्राबाट तयार गरिन्छ । अचेल ब्लाउजमा बुट्टा भर्ने चलन पनि छ ।
विवाहको मौसममा कुर्ता-सुरुवालको माग अकासिन्छ । यस्तो बेला सिफन, नेट, पेपरसिल्क, जर्जेट, सिल्क तथा कटनका कुर्ताको बढी माग हुन्छ । त्यस्ता कुर्ता विभिन्न फूल र पात, लहराको बुट्टा डाइमन्ड, सितारा, पोते तथा स्टोनले सजाइएको हुन्छ । हिजोआज अनारकलीका विभिन्न डिजाइनको माग पनि बढेको छ । यस्ता विवाह विशेष कुर्ता सुरुवालको मूल्य १५ देखि २५ हजार रुपैयाँसम्म पर्छ ।