ठूलो मान्छे

ठूलो मान्छे

- सुविन भट्टराई

पुस ४, २०७१

शनिबार । त्यस दिन प्रतीकले बाबासँग फन पार्क घुम्न जान जिद्दी गर्‍यो । नुहाइधुवाइ टिलिक्क भएर प्रतीक, उसका बाबा र बहिनी रोजी फन पार्कतिर लागे ।

भृकुटीमण्डपनेर पुग्दा ट्राफिकहरूले अरू मान्छेको मोटरबाइक, ट्याक्सी र गाडीलाई छेउछेउतिर लगाइरहेका थिए । सडक सुनसान देखिन्थ्यो । कुनै-कुनै गाडीचालक थाहा नभएर अगाडि जान खोज्थे तर ट्राफिकहरूले उनीहरूलाई खेदिहाल्थे । केही बेरमा तीन-चारवटा चिल्ला र काला रंगका गाडी लस्करै आए । अगाडिको जिपमा सुरक्षाकर्मीहरू थिए ।

'को बाबा ?' प्रतीकले सोध्यो ।

'राष्ट्रपतिको सवारी हो बाबु ।'

'किन अरू गाडीलाई जान नदिएको ?' प्रतीकले फेरि उत्सुत्कतापूर्वक बाबासँग सोध्यो ।

'राष्ट्रपति देशकै सबैभन्दा ठूलो मान्छे हो नि, त्यसैले ।'

'ठूलो मान्छे हुनु त राष्ट्रपति जस्तो पो !' वरपर थुप्रै गाडीको लस्कर लिएर सडक खाली गराउँदै हिँड्दा कति मज्जा आउँदो हो ।

उसले मनमनै अठोट लियो, 'ठूलो भएपछि म पनि राष्ट्रपति हुन्छु ।' करीब दुइ घण्टा उनीहरूले फन पार्कमा बिताए । दुवै जना दंग परे । 'अब चित्त बुझ्यो ?' बाबाले सोध्नुभो । रोजीले भनी, 'आइसक्रिम खाने !'

दुवैले आइसक्रिम पनि खाए ।

प्रदर्शनी स्थलतिर कन्सर्ट भैरहेको थियो । एक जना चर्चित गायक मञ्चमा थिए । थुप्रै दर्शक तलपट्टकिो खाली मैदानमा । गायक घरी-घरी अघिल्तिर बढेर तलपट्टकिा दर्शकतर्फ हात बढाइरहेका थिए । दर्शकहरू गायकको हात छुन तँछाडमछाड गरिरहेका थिए ।

उक्त दृश्यले प्रतीकलाई फेरि सोचमा डुबायो ।

प्रतीकलाई लाग्यो 'मान्छे हुनु त गायक जस्तो पो !' लाखौँले चिन्छन् । सबै छुन पाए हुन्थ्यो जस्तो गर्छन् । कत्रो सम्मान !

प्रतीकलाई ती गायक मन पर्दै जान थाले । उसलाई गायकले माइक समाएको, जीउ हल्लाएको, नेपाली शब्दलाई अंग्रेजीजस्तै बनाएर उच्चारण गरेको, सबै मन पर्‍यो । कन्सर्टबाट र्फकने क्रममा उसले मनमनै आफैँसँग भन्यो, 'ठूलो भएपछि म गायक बन्छु ।'

त्यहाँबाट फर्किएपछि उनीहरू अस्पतालतर्फ लागे । बाबाको साथी संतोष अंकल बिरामी हुनुहुन्थ्यो ।  अंकल बेडमा पल्टिरहनुभएको थियो । 'अहिले कस्तो छ ?' बाबाले सोध्नुभयो । अंकलले मुस्कुराउँदै भन्नुभयो, 'भोलि डिस्चार्ज गर्ला ।'

केही बेरमा सन्तोष अंकलको अप्रेसन गर्ने डाक्टर राउन्ड लाउँदै आए । ठमठम बुट बजार्दै ती डाक्टर आउँदा पुरै अस्पतालमै आवाज गुञ्जियो । छिटोछिटो हिँडेका हुन् कि कुदेका ठम्याउनै गाह्रो । सबैले 'नमस्ते' गरे, तर डाक्टरले कतै नहेरी मुखैले 'नमस्ते,' फर्काए ।

डाक्टरका पछाडि दुई जना नर्स र अरू तीन जना फुच्चे डाक्टर पनि थिए । उनीहरू पनि डाक्टरलाई पछ्याउन बिस्तारै कुदेकाझैँ देखिन्थे ।

डाक्टर ५ फुट ९ इन्च जति अग्लो, गोरो र खाइलाग्दो देखिन्थ्यो । केश पूरै फुलिसकेको । बूढो भए पनि तन्दुरुस्त ।

कस्तो राम्रो मान्छे ! कति धेरै ज्ञान ! कत्ति स्मार्ट ! कत्रो इज्जत !

वास्तवमा सबैभन्दा ठूलो मान्छे भनेको त डाक्टर पो रहेछ !

तर पनि 'ठूलो मान्छे' को हो ? प्रतीकले अझै निक्र्यौल गर्न सकेन । त्यसो त उसको बाबा पनि सरकारी अधिकृत हुनुहुन्थ्यो । घरमा अनेक थरीका मान्छे बाबालाई भेट्न आउँथे । उपहारहरू लिएर ।

'यति स्यानो काममा हजुरलाई कष्ट दिन आएको,' भन्थे । हाम्रा बाबा पनि ठूलै मान्छे हुन् ।

बेलाबेलामा उसलाई सोसल स्टडी पढाउने सुवास सरपनि ठूला लाग्थे । संसारभरिको सप्पै कुरा उहाँलाई थाहा छ । प्रतीकलाई लाग्थ्यो, संसारमा त्यस्तो कुनै ज्ञान बाँकी छैन जुन सुवास सरलाई थाहा नभएको होस् । भोलिपल्ट उसले स्कुल पुग्नासाथ सुवास सरलाई भेट्यो ।

'सर सबैभन्दा ठूलो मान्छे को हो ?' सरले उल्टै सोध्नुभो, 'तिमीलाई को होला जस्तो लाग्छ ?' त्यसपछि प्रतीकले हिजोको दिनमा घटेको घटना र आफ्नो मनमा लागेका सबै विचार सरलाई सुनायो ।

प्रतीकको पुरा कुरै नबुझेझैँ गरी सरले सोधे, 'साँच्ची हिजो राष्ट्रपति, गायक, डाक्टरहरूलाई कसले पो देखेको रे ?'

'मैले नि !' 'तिमी हिजो घरबाट ननिस्केको भए, ती मान्छे देख्थ्यौ ?' सरको अर्को प्रश्न ।

'अहँ !' 'तिमी यो संसारमा नभएको भए, ती मान्छेलाई देख्ने नै थिएनौ,' सर भन्दै गए, 'त्यसैले तिम्रो हिसाबमा सबैभन्दा ठूलो मान्छे तिमी आफैँ हौ । तिमी छौ र तिम्रा लागि यो संसार छ, यो संसारका मान्छे छन् । फेरि यो ठूलो मान्छेको के अर्थ ? सबै मान्छे आफ्ना लागि ठूलो मान्छे हो । आफू छ, अरू पनि छन् । कोही अरूलाई अनावश्यक रूपमा ठूलो नबनाऊ । आफैँ ठूला हौ तिमी । तिमी आफू जे छौ जस्त्ाो छौ त्यस्तै बन । जो भेटियो त्यस्तै बन्छु भनेर रहर मात्र नपाल । भोलि आफ्नो रुचि र क्षमताअनुसार आफुलाई डोहोर्‍यायौ भने तिमी आफैंलाई खुसी बनाउन सक्छौ ।'

'तर यसको अर्थ यो होइन कि आफूबाहेकका अरू सबै साना हुन् । सबै ठूला हुन् । सबैको आ-आफ्नो महत्व छ । बुझ्यौ होइन ?' प्रतीक आँखा ठूल्ठूला बनाएर बडो ध्यानपूर्वक सरका कुरा सुनिरहेको थियो । उसलाई सुवास सरको कुरा चित्त बुझ्यो ।

टिङ टिङ .......। घण्टी बज्यो । स्कुलको घण्टी र उसको दिमागको घण्टी पनि । आखिर हिजोदेखि मनमा उठेको प्रश्नको जवाफ उसले पाएको थियो । लाइन बस्न जाँदा उसको मनमा गुञ्जिरह्यो, 'सबैभन्दा ठूलो मान्छे.....म आफैँ । संसार हेर्ने, बुझ्ने म आफैँ नभैदिएको भए मैले कसलाई ठूलो मान्छे मान्थेँ र ?'

प्रकाशित :पुस ४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×