साप्ताहिक संवाददाता
- सुबास थेबे
धेरै बिराला भए भने मुसा फुत्किन्छ । नेपालमा त्यस्तै भैरहेको छ । नेताहरू धेरै भए, कामचाहिँ भएन ।
- गंगा बीके
सवारी साधनमा सिटभन्दा अतिरिक्त यात्रु राख्न नपाउने नियम एकदम राम्रो लाग्यो ।
- चिल्ली साइरस
सूचनाको हक माग्न जाँदा २२ घण्टा जेल पर्नुपरेको अवस्था पनि छ हाम्रो नेपालमा । यो त अन्याय भयो । नागरिकलाई चाहिएको सूचना दिने व्यवस्था मिलाउनुपर्यो ।
- प्रह्लाद बाँस्तोला
सिन्धुपाल्चोक जिल्लाको जनसहयोग माध्यमिक विद्यालय, नारगाउँमा तीन जना शिक्षक १० वर्षदेखि अनुपस्थित छन्, त्यो पनि बिना जानकारी । कलिला विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने जिम्मेवारी बोकेका शिक्षकहरू यसरी गैरजिम्मेवार भएको सुहाएन । गाउँका कैयौं स्कुलले यस्तै समस्या भोगिरहेका छन् ।
- दिनेश थापा, सिन्धुपाल्चोक
खोटाङको जिल्ला अस्पताल तथा अन्य स्वास्थ्यचौकीहरूमा सरकारले उपलब्ध गराएको नि:शुल्क औषधि जनताले पाइरहेका छैनन् । पाउनैपर्ने सुविधाबाट पनि सर्वसाधारणहरूलाई किन वञ्चित गरिन्छ ?
- शुभेच्छा थापा
सडक दुर्घटनामा दिनहुँ धेरैको अमूल्य ज्यान गैरहेको छ । चालक, यात्रु तथा सडकको अवस्थाका सम्बन्धमा राम्रोसँग अध्ययन गरेर नीति-नियम बनाउन जरुरी भैसकेको छ ।
- लक्ष्मण सापकोटा
भुटानी शरणार्थीहरूलाई तेस्रो देश पठाउनुभन्दा बरु उनीहरूकै देश फर्काए हुन्थ्यो । उमेर पुगिसकेका कतिले आफ्नै देश फर्कने इच्छा राख्दा पनि किन अर्को मुलुक पुर्याइन्छ ?
- जानकी भट्टराई, झापा
प्रमुख पार्टीका नेताहरूले व्यक्तिगत स्वार्थमा अल्झिएर बस्नुभन्दा आमनागरिकको चाहना बुझेर संविधान निर्माण गर्ने काममा जुट्नु बेस हुन्छ कि ? सबैको भलाइ हुन्छ भने व्यक्तिगत महत्वकांक्षा त्याग्नु नै उपयुक्त हो ।
- आयुश शिवाकोटी
पालुङमा महोत्सवका नाममा पसलैपिच्छे जबरजस्ती चन्दा असुल गरियो । के महोत्सब पैसा असुल्नका लागि आयोजना गर्ने हो ? किन यस्तो गरिन्छ ? जबरजस्ती चन्दा असुल्ने काम बन्द गरियोस् ।
- राजाराम रायमाझी, पालुङ