साप्ताहिक संवाददाता
कस्तो छ नेपालको बसाइ ?
काठमाडौं बस्न अलि दिक्क लाग्छ । बेलायतका साथीहरूले सोध्छन् पनि, अरे तिमी त्यहाँ बस्दा पागल भएनौं भनेर । काठमाडौंको लोडसेडिङ, सडक जाम एवं अस्तव्यस्तता सम्झेर उनीहरूले त्यसो भनेका होलान् । यद्यपि म काठमाडौंभन्दा बढी गाउँमै हुन्छु । त्यसैले यस्ता कुराले कुनै फरक पर्दैन ।
गाउँ, किन नि ?
म ह्युमेन जियोग्राफीमा स्नातक गरेर इन्र्टनका लागि यता आएको हुँ । त्यसैका लागि नेपालको गाउँ-गाउँ पुग्छु, त्यहाँको समाजका सम्बन्धमा अध्ययन गर्छु र काठमाडौं फर्किएर रिपोर्ट तयार पार्छु । यससँगै मेरो अर्को प्रोजेक्ट पनि छ, ट्रेसिङ नेपाल । विदेशमा जन्मिएका, उतै हुर्किएका तर, नेपाल नदेखेका साथीहरूलाई म यो प्रोजेक्टमा सहभागी गराउँछु । यसपालि प्रोजेक्टमार्फत मसँग ८ जना साथी सँगै आएका छन् । उनीहरू गाउँ-गाउँ पुगेर त्यहाँको रहनसहन बुझ्ने, सामाजिक क्षेत्रमा सहभागी हुने काम गरिरहेका छन् ।
विदेशमा हुर्किएको एउटा ठिटोको आँखाबाट कस्तो देखिँदो रहेछ ग्रामीण नेपाली समाज ?
नेपालका बारेमा बाहिर नकारात्मक ढंगले प्रचार गरिएको छ । मैले डडेल्धुरा, रुकुम, सल्यान, दाङ, डोटी, दार्चुलादेखि इलाम हुँदै ताप्लेजुङसम्मका थुप्रै गाउँ घुमे, त्यस्तो नराम्रो केही पाइन । हो, पुग्दो सेवा सुविधा छैन । त्यो पनि अहिले विस्तार हुँदैछ । मेरा बुवा जन्मिएको ताप्लेजुङको साप्लाख गाउँमा मैले इन्टरनेट चलाउन पाएँ । अन्य गाउँमा पनि युवाहरूले केही न केही उद्यम गरिरहेको देखें । गाउँको जनजीवन एक हिसाबले लोभ लाग्दो छ ।
यसबीच तपाइर्ं सम्पर्कविहीन जस्तै हुनुभएको थियो, सोसल मिडियाबाट बिच्छेद भएर गाउँमा बस्नुपर्दा छटपटी हुँदो हो होइन ?
नेपालमा मेरो समस्या भनेको इन्टरनेट मात्र हो, किनभने यहाँ इन्टरनेट धेरै स्लो छ । त्यसैले बाहिर घुम्दा फोटो खिच्छु, रिर्पोटिङ गर्छु र काठमाडौं आएर अपलोड गर्छु । अरू किसिमको असुविधाले मलाई खासै फरक पार्दैन । किनभने, यता आउनुअघि नै मैले 'माइन्ड मेकअप' गरिसकेको थिएँ ।
विदेशमा हुर्किएको लाहुरेको छोरालाई नेपाली समाजसँग जोडिन के कुराले प्रेरित गर्यो ?
म सानैदेखि नेपाली गीत सुन्थें, फिल्म हेर्थें । आफ्नो मातृभूमिको माया सबैलाई हुन्छ नि, होइन र ?
बेलायतमा बस्ने एउटा आलोकाँचो केटोलाई कोसीको बाढीदेखि कुमार कान्छाको पीडासम्म कसरी अनुभव हुन्छ ?
प्राय: म अनलाइनमार्फत नेपालका घटनालाई नजिकबाट नियालिरहेको हुन्छु । त्यही क्रममा मैले कोसीमा बाढीले ल्याएको विनाशाको कुरा सुनें अनि पीडितहरूका लागि ब्लगमार्फत नै १ हजार पाउन्ड सहयोग उठाएर हेल्प नेपाललाई दिएँ । यसैगरी कुमार कान्छाका लागि ९ हजार ५० पाउन्ड संकलन गरेर दिएँ ।
संविधान निर्माणमा दबाब दिनेदेखि त्यहाँ हुने नेपाली कार्यक्रमको प्रवर्द्धनमा पनि स्वत:स्फूर्त लागिरहनु भएको छ नि ?
खासमा मैले अनलाइनमा भएको आफ्नो पीआर -पब्लिक रिलेसन)लाई उपयोग गरेर सहयोग जुटाउने गरेको छु । संविधान निर्माणका लागि बेलायतको दूतावासमा ज्ञापनपत्र बुझाउन, 'लिभ फर चेन्ज' भन्ने सानो समूह बनाएर नेपालका ग्रामीण भेगका स्कुलहरूका लागि शैक्षिक सामग्री जुटाउन, यस्तै माध्यम अपनाएको थिएँ ।
लेक्सको खास चिनारी ब्लगरका रूपमा छ, कसरी यो क्षेत्रमा आउनुभयो ?
सुरुमा त म युट्युबमा भिडियो बनाउँदै राख्ने काम गर्थे । त्यो मेरो फुर्सद कटाउने मेलो थियो । यद्यपि जसका लागि मैले युट्युबमा सामग्री राख्थें, उनीहरू युट्युवको पहुँचमा थिएनन् । त्यसैले ब्लग सुरु गरें । ब्लगको नामचाहिँ 'आजको कथा' थियो । पछि उक्त नाम परिवर्तन गरेर आफ्नै नाममा ब्लग सुरु गरें ।
कति वर्षको उमेरमा ?
मैले ब्लग सुरु गर्दा त्यस्तै १८ वर्षको थिएँ । २००७ मा ब्लग बनाए पनि सक्रिय रूपमा २००९ देखि अघि बढेको हो ।
तपाईंको ब्लग यतिधेरै हिट होला भन्ने सोच्नुभएको थियो ?
त्यस्तो लाग्दैनथ्यो । सुरुमा त आफ्नै नामबाट ब्लग सुरु गर्दा 'छ्या यस्तो पनि नाम राख्नु र ?' भन्ने पनि लागेको थियो । यद्यपि अरू सेलिब्रेटी ब्लगरले आफ्नै नामबाट ब्लग चलाएको जानकारी पाएपछि मैले पनि लेक्स लिम्बू डटकम चलाएँ ।
डयस्पोराका तन्नेरीमाझ तपाईंको ब्लग अत्यधिक लोकप्रिय छ, किन होला ?
मैले ब्लग सुरु गर्दा नेपाली मनोरञ्जनसम्बन्धी कुनै ब्लग थिएनन् । त्यसैले पनि यसलाई पढ्ने धेरै भए । त्यसबाहेक मेरो लेखन शैली पनि उनीहरूले रुचाएका छन् भन्ने लाग्छ ।
कस्ता सामग्री राख्नुहुन्छ ?
सुरुमा राजनीति, गीत, संगीतका खवरहरू राख्ने गरेको थिए । अहिले मनोरञ्जनका क्षेत्रमा हुने गतिविधिलाई म अंग्रेजीमा छोटो-मीठो ढंगमा प्रस्तुत गर्छु । युवाहरूलाई मन पर्ने गसिप, अन्तरंग कुराकानी आदि राख्छु । अब यसलाई अलि फरक ढंगले प्रस्तुत गर्ने सोच छ ।
भन्नाले ?
यसपालि गाउँ घुम्दा मैले स-साना उद्यम गरिरहेका थुप्रै युवा भेटें । उनीहरूको कथा प्रेरणादायी हुनसक्छ भन्ने लागेको छ । त्यसैले विस्तारै मनोरञ्जनलाई छाडेर यस्ता फिचरहरू राख्ने सोंचमा छु ।
सात हजार किलोमिटर टाढा बसेर नेपाली मनोरञ्जनका घटनाहरू छिटो-छिटो अपडेट गर्नुहुन्छ, कसरी सम्भव हुन्छ ?
अहिले त फेसबुक आदि सोसल मिडियाबाट सजिलो भएको छ । पहिले अनलाइन पत्रिकाहरू हेरेर अपडेट गर्थें ।
नेपाली भाषामा तपाईंको दख्खल कति छ ?
बेलायतमै पढेको हुनाले म नेपाली भाषामा कमजोर छु । यद्यपि त्यहाँ प्रकाशित हुने नेपाली पत्रले मलाई नेपाली भाषा बुझ्न सहयोग गर्यो । ब्लगिङ सुरु गर्नुअघि त्यसमा सानोतिनो अंग्रेजी लेख लेख्थें । पछि नेपाली पुस्तकहरू पनि पढें ।
कुन कुन पुस्तक पढ्नुभएको छ ?
मैले हरिवंश आचार्यको 'चिना हराएको मान्छे' पढें । त्यसपछि विनोद चौधरीको आत्मकथा पनि पढेको छु ।
तपाईंको धेरैजसो समय ब्लगिङमा खर्च हुदो हो, के यसबाट आम्दानी पनि हुन्छ ?
मैले पैसाका लागि ब्लगिङ गरेको होइन । गुगल एड र कतिपय इभेन्टको प्रमोसनका लागि दिइने विज्ञापनबाट पैसा पनि आउँछ ।
तपाईंको अनुभवमा ब्लगिङ के हो ?
ब्लगिङ आफूलाई मनमा लागेको, निजी कुराहरू व्यक्त गर्ने डायरीजस्तै हो । यसमा ब्लगरको दृष्टिकोण हावी हुने भएकाले पढ्नेहरूलाई रमाइलो लाग्छ ।
सफल ब्लगर बन्न के गर्नुपर्छ ?
यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको निरन्तरता हो । ब्लगलाई निरन्तर रूपमा अपडेट गर्नुपर्छ । आफ्नो मौलिक विचार दिन सक्नुपर्छ । हिट हुन अरूको नक्कल गर्नु हुँदैन ।
कस्तो जीवनशैली रुचाउनुहुन्छ ?
साधारण खालको । मलाई देखावटीपन मन पर्दैन । यहाँ -काठमाडांै) म ट्याम्पु चढ्छु । ट्याक्सीमा चढ्दा पैसा खर्च भएको जस्तो मात्र लाग्छ । त्यस्तै मेरो ड्रेसअप पनि साधारण नै हुन्छ । मलाई लुगामा खर्च गर्न मन लाग्दैन ।
खानपान ?
बेलायतमा बस्दा नेपाली परिकारको तलतल लाग्थ्यो । यहाँ आएपछि उताको तलतल लाग्दो रहेछ । मलाई चिकेनका आइटम मन पर्छन्, चटपटे पनि खान्छु ।
लभ रिलेसन नि ?
अहिलेसम्म त त्यस्तो केही छैन ।