साप्ताहिक संवाददाता
लाइटवेट
यसलाई अल्ट्रापोर्टेवल वा अल्ट्राथिन ल्यापटप पनि भनिन्छ । आकारको हिसाबले यो नोटवुकभन्दा दुई गुणा ठूलो हुन्छ । हल्का भएकाले यसलाई कहीं पनि बोकेर हिँड्न सजिलो छ । यस्तो ल्यापटप सुविधाजनक मात्र हुँदैन, पर्फमेन्स एवं स्पिड पनि राम्रो हुन्छ । मध्यम साइजको स्क्रिनयुक्त लाइटवेट ल्यापटप हर किसिमको कामका लागि उपयोगी छ । यसमा डिभिडी भर्नस पनि उपलब्ध छ, जुन नोटवुकमा हुँदैन । यसमा ठूलो हार्ड ड्राइभ र धेरै स्पिडयुक्त ल्यापटप पनि पाइन्छ । यद्यपि त्यो अलि महँगो हुन्छ ।
विशेषता
- १३ दशमलव ३ देखि १४ इन्चको डायग्नल स्क्रिन
- सेयर्ड भिडियो मेमोरी
- विल्ड इन अप्टिकल ड्राइभ
- हार्ड ड्राइभ- २ सय ५० जीबी वा त्योभन्दा बढी
मिड साइज
यसलाई मेनस्ट्रिम नोटबुक पनि भनिन्छ । यसको तौल र स्क्रिन साइज ठूलो हुन्छ । कुनै ल्यापटपको स्क्रिन त १७ देखि १८ इन्चसम्म छ । ठूलो स्क्रिन र पावरफूल प्रोसेसरका कारण यो ल्यापटप हरेक किसिमको कामका लागि उत्तिकै उपयोगी छ । यद्यपि लामो दूरीको यात्रामा यो ल्यापटप बोक्नु उपयुक्त हुँदैन । किनभने यसको तौल तुलनात्मक रूपमा बढी हुनुका साथै ब्याट्री पनि चाँडै सकिन्छ ।
विशेषता
- १५ दशमलव ६ देखि १८ दशमलव ४ इन्चको डायग्नल स्क्रिन
- सेयर्ड र डेडिकेटेड भिडियो मेमोरी
- विल्ट इन भिभिडी वर्नर
- हार्ड ड्राइभ- १ टीबीसम्म ।
डेक्सटप रिप्लेसमेन्ट
यो ल्यापटपले व्यक्तिगत कम्प्युटरको महसुस गराउँछ । ठूलो स्क्रिन, आरामदायक किबोर्ड, ठूलो हार्ड ड्राइभ तथा उत्कृष्ट मेमोरी सिस्टमयुक्त यो ल्यापटपको स्टिरियो स्पिकर पनि राम्रो छ । यसमा रहेको इन्टेल ताररहित डिस्प्लेको सहयोगले ल्यापटपको दृश्यलाई ठूलो स्क्रिन एचडी टिभीमा बिना तार हेर्न सकिन्छ । यद्यपि यो ल्यापटप यात्राका लागि उपयोगी हुँदैन ।
विशेषता
- १७ दशमलव ६ इन्चको डायग्नल स्क्रिन
- डेडिकेटेड ग्राफिक्स
- ब्लु रे डिक्स वर्नर
- ७२ सय आरपिएम तथा हार्ड ड्राइभ- १ टीबीसम्म ।
बिजनेस ल्यापटप
यो ल्यापटप खासगरी बिजनेस एक्जुकेटिभका लागि डिजाइन गरिएको हो । सानो र हल्का हुनुका साथै यो ल्यापटपको स्पिड एवं समग्र पर्फमेन्स राम्रो छ । यसको प्रोसेसर तीव्र एवं मल्टी टच स्क्रिन छ । बिजनेस ल्यापटपको मेमेरी २ जीबीभन्दा बढी र स्टोरेज करिब ८० जीबी हुन्छ । यसको ब्याट्री लाइफ पनि धेरै छ ।
विशेषता
- १३ दशमलव ३ देखि १७ दशमलव ३ इन्चको डायग्नल स्क्रिन
- ३ जीबीभन्दा वढी र्याम
- डेटा सेक्युरिटी फिचर्स
- स्ट्यान्डर्ड लिमिटेड वारेन्टी
- फिंगर प्रिन्ट र स्मार्ट कार्ड रिडर
मल्टीमिडिया ल्यापटप
यो मिडिया सेन्ट्रिक ल्यापटप हो । यसमा चलचित्र हेर्ने, गीत सुन्ने अनि टिभी कार्यक्रम रेकर्ड गर्न सकिने सुविधा छ । यसको स्टोरेज क्षमता २ सय जीबी छ, जहाँ मन पर्ने चलचित्र एवं गीत स्टोरेज गर्न सकिन्छ । मल्टीमिडिया ल्यापटपको स्क्रिन ठूलो र प्रोसेसर पावरफुल हुन्छ ।
विशेषता
- १५ दशमवल ६ इन्चको डायग्नल स्क्रिन
- ५ जीबीभन्दा बढी र्याम
- हार्ड ड्राइभ ५ सय जीबीभन्दा बढी
- ब्लु रे ड्राइभ
- क्वालिटी स्टिरियो स्पिकर
खरिद गर्नुअघि ध्यान दिनुपर्ने कुरा वारेन्टी
ल्यापटप खरिद गर्नुअघि त्यसको वारेन्टीका सम्बन्धमा जानकारी लिनुपर्छ । यदि छुट्टै कभरेज प्याकेज आवश्यक भए त्यो पनि लिनुपर्छ ।
स्टोरेज क्षमता
ल्यापटपको हार्ड डिक्स क्षमता जति बढी हुन्छ, उति नै धेरै म्युजिक, भिडियो तथा चलचित्र स्टोरेज गर्न सकिन्छ ।
टिकाउ
ल्यापटप एउटै स्थानमा राखेर काम गरिने साधन होइन । यसलाई बोकेर हिँड्दा टुट्ने, फुट्ने डर हुन्छ । खरिद गर्नुअघि ल्यापटपको स्क्रिन, किबोर्ड कति बलियो छ हेर्नुपर्छ ।
प्रोसेसर
प्रोसेसर ल्यापटपको सवैभन्दा महत्त्वपूर्ण पक्ष हो । ल्यापटप खरिद गर्दा त्यसको प्रोसेसरको स्पिडमा ध्यान दिनुपर्छ । बढी स्पिड भएको प्रोसेसर नै लिनुपर्छ । इन्टेलको प्रोसेसर वढी पावरफुल हुन्छ । ल्यापटप खरिद गर्दा व्रान्ड होइन, त्यसको प्रोसेसरको स्पिड हेर्नुपर्छ ।
र्याम
र्याम अर्थात रेन्डम एक्सेस मेमोरी जति बढी हुन्छ, काम उति नै सुविधाजनक हुन्छ । आजभोलि ल्यापटप डिडिअर ३ र्यामसहित आउँछ ।
स्क्रिन
सामान्यत: दिनको उज्यालोमा ल्यपटपमा काम गर्न सकिँदैन, किनभने प्रकाश परावर्तन हुने भएकाले स्क्रिनमा केही देखिँदैन । त्यसैले ग्लसीको साटो मेट स्क्रिनयुक्त ल्यापटप छनौट गर्नुपर्छ । यदि बजेट छ भने आईपीएस -इन प्यानल स्विचिङ) स्क्रिनयुक्त ल्यापटप खरिद गर्नुपर्छ, यसको कलर क्वालिटी राम्रो हुन्छ । कतिपय स्क्रिनमा कुनै एक कोणबाट सही कलर देखिँदैन, खरिद गर्नुअघि यस्ता कुरामा पनि ध्यान पुर्याउनुपर्छ ।
साइज र तौल
यदि कार्यालय तथा कलेजमा प्रयोग गर्न ल्यापटप खरिद गर्दै हुनुहुन्छ भने, हल्का र सानो मोडल छनौट गर्नुपर्छ । ल्यापटपको स्क्रिन १४ इन्चभन्दा कम र तौल २ किलोभन्दा कम हुनुपर्छ । घरमै प्रयोग गर्न वा गेम खेल्न ठूलो स्क्रिनयुक्त ल्यापटप उपयोगी हुन्छ ।
पोर्ट्स
ल्यापटपमा कम्तीमा एक युएसबी ३.० पोर्ट आवश्य हुनुपर्छ ।
ब्याट्री लाइफ
यो निकै महत्त्वपूर्ण कुरा हो । लामो समयसम्म ल्यापटप प्रयोग गर्न ब्याट्री व्याकअप राम्रो हुनुपर्छ ।
किबोर्ड
कुनै पनि ल्यापटप खरिद गर्नुअघि त्यसमा २ सय वा ३ सय शब्द टाइप गर्नुपर्छ । यदि टाइप गर्न सहज भयो भने किबोर्ड ठीक छ भन्ने बुझे हुन्छ ।