साप्ताहिक संवाददाता
काठमाडौंकै मूलपानीमा क्रिकेट एकेडेमी बनाउने सरकारी योजना छ । उक्त योजना अझै कार्यान्वयन हुन सकेको छैन तर करिश्मा मानन्धरले त्यसको सम्पूर्ण आर्किटेक्चरल डिजाइन बनाइसकेकी छिन् । १ सय ८७ रोपनीमा फैलिएको उक्त एकेडेमीमा १२ हजार दर्शक बस्न मिल्नेछ ।
अर्कातर्फ माइक्रोसफ्ट इनोभेसन सेन्टरको सहयोगमा बनेको एक्सबक्स काइनेक्ट गेमिङ थियो । यसमा कन्सोलका रूपमा आफ्नो शरीरको चाल प्रयोग गर्न सकिन्थ्यो जसलाई श्रीया वैद्य, रुचि श्रेष्ठ, सत्येन्द्र शाक्य तथा रसिका जोशीले तयार पारेका थिए ।
यी गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन काठमाडौं इन्जिनियरिङ कलेजमा विभिन्न कलेजका विद्यार्थीले प्रदर्शित गरेका प्रविधिका केही झलक हुन् । 'आकृति-२०१४' शीर्षकको उक्त प्रदर्शनीमा विभिन्न १५ कलेजका ३ सय भन्दा बढी प्रोजेक्ट प्रदर्शन गरिएका थिए । त्यहीं सोलार पावरबाट चल्ने आरसी प्लेन पनि थियो । रेडियो अर्थात् रिमोटको माध्यमबाट नियन्त्रण गर्न सकिने उक्त प्लेन १ किलोमिटरको दूरीसम्म चल्न सक्छ । उक्त प्लेन सागर लामिछानेको अवधारणामा निर्माण गरिएको हो । न्युटनको गतिसम्बन्धी तेस्रो नियम तथा बर्नालीज प्रिन्सिपलका आधारमा उक्त प्लेन निर्माण गरिएको लामिछानेले बताए । यसलाई अझै सुरक्षित कसरी बनाउन सकिन्छ भनेर थप अध्ययन गरिरहेको लामिछानेको दाबी छ ।
त्यसैगरी विनोदराज गिरी, असिम केसी, अभिषेक महर्जन र विप्लब केसीको समूहले हाइड्रोलिक र्याम पम्प प्रदर्शन गरेका थिए । उक्त पम्प दुई वटा वल्भको सहयोगले विद्युत्बिनै उकालो स्थानमा पनि पानी तान्न सकिने खालको छ । अर्जुन पाण्डे, अन्जु बुढाथोकी, सुदीप घिमिरे तथा अनिल पाण्डेले निर्माण गरेका स्पिच रिकग्निसन रोबोट प्रदर्शनीको अर्को आकर्षण थियो । अंक थिचेर रोबोटलाई ट्रेन्ड गराएपछि त्यसैका आधारमा अगाडि वा पछाडि लान सकिन्थ्यो । त्यसैगरी ब्रेन कन्ट्रोल्ड रोबोट अझ आकर्षक थियो । रामु राउत, रामप्रसाद गजुरेल, श्रीया दाहाल तथा रोसित सिंहले डिजाइन गरेको उक्त रोबोट मानिसको मस्तिष्कमा हुने ५ प्रकारका सिग्नलका आधारमा चलाउन सकिन्छ । यसमा 'वाक एगेन प्रोजेक्ट' र 'टक एगेन प्रोजेक्ट' गरी दुई प्रकारको प्रोजेक्ट संचालन गर्न सकिन्छ ।
केबुल स्टेड बि्रज, पानी सदुपयोग गर्ने रेन वाटर हार्भेस्टिङ तथा अन्य विभिन्न आकर्षक प्रविधिहरू उक्त अवसरमा प्रदर्शन गरिएका थिए । विद्यार्थीहरूले आफूले सिकेको ज्ञानलाई व्यावहारिक रूपमा प्रदर्शन गर्न पाउनु निकै खुसीको कुरा हो । सीमित स्रोत र साधनबाट आफुले सैद्धान्तिक रूपमा सिकेको कुरालाई व्यावहारिकता प्रदान गर्न उक्त प्रदर्शनीले मद्दत गरेको प्रोजेक्ट को-अर्डिनेटर सर्वज्ञरत्न शाक्यले बताए । कम्प्युटर, इलेक्ट्रोनिक्स, सिभिल तथा आर्किटेक्चर सबै फ्याकल्टीका विद्यार्थीहरूलाई एउटै स्थानमा ल्याउन पनि उक्त प्रदर्शनी निकै महत्वपूर्ण सावित भएको प्रोजेक्ट म्यानेजर रबिराज केसीको तर्क छ । कलेजले यस प्रकारको प्रदर्शनी पहिलो पटक गरेको भए पनि २५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेकाले आफूहरू हौसिएको आयोजकहरूले बताएका छन् ।
३० करोड प्रयोगकर्ता
तस्बिर सेयर गर्ने साइटका रुपमा लोकप्रिय इन्स्टाग्रामले आफ्ना ३० करोड सक्रिय प्रयोगकर्ता भएको दाबी गरेको छ । ९ महिनाअघि मात्र यसका २० करोड प्रयोगकर्ता थिए । सन् २०१० मा प्रयोगमा आएको इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्ना तस्बिर सेयर गर्ने सुविधा दिन्छ । गत वर्ष एन्ड्रोइड, आईओएस तथा विन्डोज फोनका लागि भिडियोसहितको मोबाइल एप सञ्चालनमा आएको थियो । यो वर्ष छुट्टै प्रकारको हाइपरल्याप्स एप प्रयोगमा ल्याउन सकिने सुविधा उपलब्ध छ, जसमार्फत निश्चित समयको भिडियो क्याप्चर गर्न सकिन्छ ।
जियोनीका दुई नयाँ सेट
मोबाइल जगत्मै अग्रपंक्तिमा रहेको जियोनीले दुईवटा नयाँ मोडल— इलाइफ एस ५ दशमलव १ तथा एम थ्री म्याराथोन नेपाली बजारमा उतारेको छ । जियोनी इलाइफ एस ५ दशमलव १ संसारकै सबैभन्दा पातलो स्मार्टफोन निर्माण गर्ने कम्पनी जियोनीले एक कदम अघि बढ्दै फेरि अर्को एकदमै पातलो ह्यान्डसेट उत्पादन गरेको छ । जियोनी इलाफ एस ५ दशमलव १ मोबाइल अनौठो ढंगले डिजाइन गरिएको छ । कम्पनीको दाबीअनुसार यो उपभोक्ताहरूलाई अधिकतम सेवा दिने र सबै विशेषताहरूले भरिपूर्ण मोबाइल सेट हो ।
यसमा ४ दशमलव ८ इन्चको एमोलेड डिस्प्ले, ८ मेगापिक्सेलको रेयर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, ओक्टा कोर १ दशमलव ७ गिगाहर्ज प्रोसेसर, १ जीबी र्याम एवं १६ जीबी इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लासजस्ता विशेषताहरू छन् । भव्य र सुन्दर हुनुका साथै बिल्ट इन एप्सहरू जस्तै फेक कल, ओटीजी मोड, डिटिएस मोड, फ्लिप अलार्म आदि स-साना कुराले यो मोबाइललाई उत्कृष्ट बनाएको छ । जियोनी इलाइफ एस ५ दशमलव १ को बजार मूल्य २९ हजार ९ सय ९५ रुपैयाँ छ ।
एम थ्री म्याराथोन
जियोनीले एम सेरिजको अर्को संस्करण एम थ्री फोन पनि नेपाली बजारमा ल्याउने घाषणा गरेको छ । लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री भएको यो मोबाइलको कार्यक्षमताका कारण जियोनी मोबाइल जगत्मै एक कदम अघि बढ्न सफल भएको छ ।
सबैभन्दा शक्तिशाली ५००० एमएएच ब्याट्री भएको यो मोबाइल फोनले ३३ दशमलव ७ घण्टासम्मको टकटाइम तथा ३२ दशमलव ८ दिनको स्ट्यान्डबाइ टाइम दिन्छ । ओटीजी रिभर्स चार्ज, ओटीजी डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रिन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषताहरूले भरिपूर्ण एम थ्री मोबाइल सेट १ दशमलव ३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एचडी डिस्प्ले, डीटीएस साउन्ड, पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेराका साथै भि-जेस्चर तथा स्माइलीजस्ता रोचक मोडहरूले गर्दा विशेष छ । एम थ्री म्याराथोन मोबाइलको बजार मूल्य १९ हजार ९ सय ८५ रुपैयाँ छ ।
आइसिटी फर एग्रिकल्चर उत्कृष्ट
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आयोजना गरेको 'एनसेल एप क्याम्प' मा कृषि क्षेत्रको एप्लिकेसन 'आइसिटी फर एग्रिकल्चर' उत्कृष्ट घोषित भएको छ । उक्त एप कृषि समूहतर्फ पनि उत्कृष्ट भएको थियो । उक्त एपले समग्र प्रतिस्पर्धामा उत्कृष्ट भएबापत ५ लाख तथा कृषि समूहतर्फ उत्कृष्ट भएबापत २ लाख ५० हजार रुपैयाँ जितेको छ । प्रतियोगितामा उत्कृष्ट हुने एप अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि सहभागी हुनेछ । त्यसैगरी कर्पोरेट सोलुसन्सतर्फ सेन्टिनेप, शिक्षातर्फ रितिरिवाज एवं पर्यटनतर्फ लिपी उत्कृष्ट भएका छन् । ती एपले पनि २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।
विभिन्न समूहमा सर्वाधिक अंक प्राप्त गर्ने ६ वटा एप छनोट भएका थिए । तीमध्ये कृषि समूहतर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटिभ डेभलपर वान, आइसिटी फर एग्रिकल्चर, साथी र दि रिभोलुसन थिए । त्यसैगरी कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, डिपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी तथा सेन्टिनेप थिए । शिक्षातर्फ मेरो एन्सर, ग्रुप अफ इन्नोभेटिभ डेभलपर, लिएजिज, रीतिरिवाज, स्पेसल फोर्सेस र टिम जेभेरियन थिए । पर्यटन क्षेत्रतर्फ हायर अ गाइड, होमस्टे नेपाल, नेपाल लाइट्स, टिम एल्लो नेपाल, टुरिस्ट टक र लिपी थिए । एप क्याम्पका लागि दर्ता भएका ४ सय ५७ आइडिया मध्ये १ सय ५० लाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो । तीमध्येबाट उत्कृष्ट आइडिया छनोटमा परेका थिए ।