लोकदोहोरी गायनमा स्थापित भैसकेकी मीना लामा विगत दुई वर्षदेखि एउटा टेलिभिजन कार्यक्रममार्फत हरेक दिन दर्शकमाझ पुगिरहेकी छिन् । लोकदोहोरीका चारवटा गीति एल्बम सार्वजनिक गरिसकेकी बैरेनीकी यी स्थायी वासिन्दालाई दर्शकले एबीसी टेलिभिजनका लोकप्रिय कार्यक्रम 'इन्द्रेणी' मा देख्न तथा सुन्न पाइरहेका छन् । मीनालाई प्रत्येक दिन साँझ ४ बजेको समाचार बुलेटिनपछि प्रसारण हुने अन्तर्त्रियामा आधारित सांगीतिक कार्यक्रम 'इन्द्रेणी' मा मुख्य सञ्चालक कृष्ण कँडेलसँगै देख्न सकिन्छ । राम्रो गायिका भएकै कारण मीनाले 'इन्द्रेणी' कार्यक्रममा सह-सञ्चालिकाको जिम्मेवारी पाएकी हुन् । हरेक दिन प्रसारण हुने यो कार्यक्रमको छायांकन स्टुडियो भित्र र बाहिर दुवै ठाउँमा हुन्छ । करिब एक घण्टा लामो कार्यक्रम इन्द्रेणीमा स्टुडियोको कार्यक्रम प्रत्यक्ष प्रसारण हुन्छ भने बाहिरको कार्यक्रम रेकर्डेड । गायिका भएकाले मीनाले यो कार्यक्रममा पनि गीत गाउने जिम्मेवारी पाएकी छिन् । लोकदोहोरीसहित हरेक प्रकारका गीत गाउन सिपालु मीना कार्यक्रमका क्रममा अतिथिहरूसँग अन्तर्त्रियासमेत गर्छिन् । कार्यक्रम छायांकनका क्रममा देशका विभिन्न जिल्ला तथा क्षेत्रको भ्रमण गरिसकेकी मीना सांगीतिक क्षेत्रमा सक्रिय भएको आधा दशकभन्दा बढी भैसकेको छ । गायक मिलन लामासँगको 'राजी भए', रामजी खाँडसँगको 'प्रवेश निषेध छ...' जस्ता दोहोरी गीत लोकप्रिय भएपछि मीनाले महोत्सवहरूमा समेत गीत गाउने मौका पाइरहेकी छिन् । गायक प्रकाश कटवालसँगको गीति संग्रह 'एक्लै भा'को छु', रामजी खाँडसँगको 'प्रवेश निषेध', मिलन लामाको लय तथा शब्दको 'राजी भए' जस्ता एल्बममार्फत श्रोतामाझ पुगिसकेकी मीना निकट भविष्यमै कृष्ण रौलेसँग 'रोधी घरको पाइलो' मार्फत पुन: श्रोताहरू आउँदैछिन् । टेलिभिजनकर्मी तथा गायिकाको दोहोरो भूमिका सफलतापूर्वक निर्वाह गरिरहेको बताउने मीनासँग कृष्ण भट्टराईको तीन प्रश्न : गायिकाका रूपमा टेलिभिजनमा कार्यक्रम चलाउँदा दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
गायिका मात्र भएको भए हरेक दिन दर्शकमाझ पुग्न असम्भव हुन्थ्यो तर टेलिभिजन कार्यक्रममा गायिकाकै रूपमा प्रस्तुत हुन पाउँदा आफ्ना गीत-संगीतमात्र होइन, विचार समेत दर्शकसमक्ष पुर्याउन पाइरहेकी छु । यो कार्यक्रमबाट मैले सकारात्मक प्रतिक्रिया पाएकी छु ।
कार्यक्रममा तपाईंको भूमिका कस्तो छ ?
हाम्रो कार्यक्रममा वाद्यवादनसहित १५ जनाको समूह छ । कार्यक्रमका क्रममा हामी देशका विभिन्न भू-भागसम्म पुगेर स्थानीयवासीदेखि नेतृत्व गरिरहेका वर्गसँग अन्तक्रिर्या गर्छौं । प्राकृतिक तथा धार्मिक सम्पदासमेत अवलोकन गराउँछौं । मैले हरेक विषयवस्तुलाई सांगीतिक रूपमा प्रस्तुत गर्ने जिम्मेवारी पाएकी छु ।
भविष्यको योजना के छ ?
गायिकाका रूपमा हरेक दर्शक तथा श्राेताको मनमा बस्ने योजना छ । त्यसबाहेक 'इन्द्रेणी' कार्यक्रमलाई अझ बढी लोकप्रिय बनाउन म हरसम्भव प्रयास गरिरहनेछु ।