गायनमा आधारित रियालिटी शो 'नेपाल तारा' रोमाञ्चक मोडमा पुगेको छ । प्रत्येक शनिबार राति ८:५० बजे नेपाल टेलिभिजन तथा सोमबार राति ८ बजे इमेज च्यानलबाट प्रसारण भैरहेको यो रमाइलो सांगीतिक कार्यक्रममा यसै साता उत्कृष्ट १० प्रतियोगीको छनाैट गरिएको छ । भोलि शनिबारको कार्यक्रममा उत्कृष्ट १० विजेतालाई दर्शकमाझ प्रस्तुत गरिँदैछ । त्यसअघि टप टेनमा पुग्न सफल प्रतियोगीहरूले आज शुक्रबार वसन्तपुरमा लाइभ कन्सर्ट प्रस्तुत गर्दैछन् । लाइभ कन्सर्टमा टप टेनका प्रत्येक सहभागीले दुई-दुईवटा गीत प्रस्तुत गर्नेछन् । कार्यक्रमका एक सञ्चालक तथा गायक सन्तोष लामाका अनुसार टप टेनमा सात जना गायक तथा तीन जना गायिकाले स्थान सुरक्षित गरेका छन् । टप टेनमा पर्न सफल भएकाहरूमा स्वेच्छा ठकुरी, जलजला परियार तथा सुष्मा बिके गरी तीन जना मात्र महिला प्रतियोगी छन् । छनौट भएका पुरुष प्रतियोगीमा प्रताप लामा, प्रताप दास, सुरेश लामा, देवेश राई, विनोद राई, सुदेश सुवेदी तथा विशाल आत्रेय छन् । शुक्रबारको लाइभ कन्सर्टलाई आगामी साताको नेपाली तारामा प्रसारण गरिनेछ । त्यसपछिका श्रृंखलामा भने प्रत्येक साता एक-एक जना प्रतियोगीले कार्यक्रमबाट बाहिरिनुपर्नेछ । निर्णायकको निर्णय तथा एसएमएस मतका आधारमा प्रतियोगिताबाट बाहिरिने प्रतिस्पर्धीको छनौट हुनेछ । यो कार्यक्रममा गायक रामकृष्ण ढकाल, संगीतकार सुरेश अधिकारी तथा प्रकाश गुरुङ निणर्ायक छन् भने सन्तोष लामासँगै गायक धवेन्द्र सेवान उद्घोषकका रूपमा सहभागी छन् ।