भजन-कीर्तनमा निरन्तर योगदान दिएको भन्दै केशव-सुष्मा भजन ज्ञान गुठीले आफ्नो १२ औं वाषिर्क उत्सवको अवसर पारेर विभिन्न भजन मण्डली तथा संगीतकर्मीलाई सम्मान गरेको छ । गुठीले यो वर्षको महाशक्ति सम्मान मछेन्द्रनाथ मृदंग भजन मण्डल ललितपुरलाई, महादेश सम्मान दत्तत्रेय भजन मण्डल भक्तपुरलाई तथा महाबुद्ध सम्मान भगवान बहाल भजन खल ठमेललाई अर्पण गरेको छ । समारोहमा यो वर्षको भजन विशेष सम्मान गायक कमल परियार, रामा मण्डल, गायिका ज्ञानु राणा तथा संगीता शाक्यलाई प्रदान गरियो । समारोहमा 'भजन र संगीत जीवन' शीर्षकको पुस्तक तथा भजनहरूको भिडियो संग्रह 'शान्तिको सन्देश' समेत विमोचन गरिएको थियो ।