साप्ताहिक संवाददाता
हामी दुई जम्ल्याहा दाजुभाइ विगत १५ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छौं । गायन तथा संगीतका साथै हामी आफूले गाउने गीत पनि आफैं रचना गर्छौं ।
लामो समयदेखि संगीत क्षेत्रमा भए पनि चर्चामा आउन समय लाग्यो नि ?
हामी विराटनगरमा छँदा 'निशान' ब्यान्डमा आबद्ध थियौं । उक्त ब्यान्डबाट पूर्वाञ्चलका विभिन्न क्षेत्रमा कन्सर्टसमेत गर्यौं । मोफसलमा बसेर सांगीतिक संघर्ष गर्न गाह्राे छ । करिब चार वर्षअघि उक्त ब्यान्ड टुक्रिएपछि हामी दाजुभाइ यो क्षेत्रमा संघर्ष गरिरहेका छौं ।
पहिलो एल्बमबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
ब्यान्डबाट अलग भएपछि हामीले गत वर्ष मात्र पहिलो एल्बम 'पास अन' सार्वजनिक गर्यौं । पप गीतहरूको यो ब्यान्डमार्फत हामी स्वदेश तथा विदेशमा बसोबास गर्ने नेपालीहरूमाझ पुग्न सकेका छौं ।
एल्बमका गीतहरू कत्तिको मन पराइयो ?
पहिलो एल्बममा हामीले २०६९ साल वैशाखमा रेकर्ड गरेको पहिलो गीत 'ए रुन्न भन्थें...' पनि समावेश गरेका थियौं । उक्त गीतको लोकपि्रयताले हामी कन्सर्टमा समेत सहभागी भयौं । त्यसबाहेक 'मेरो जीवन...' ले पनि हामीलाई चिनायो ।
पहिलो एल्बमको म्युजिक भिडियो कस्तो बनेको छ ?
'मेरो जीवन...' तथा 'ए रुन्न भन्थें' गीत लोकपि्रय हुनुमा म्युजिक भिडियोको पनि ठूलो भूमिका छ । गीतको भावनालाई चित्रण गरिएको भिडियो युट्युबमा पनि धेरै पटक हेरिएको छ ।
दोस्रो एल्बमको तयारी कस्तो छ ?
पहिलो एल्बमको सफलतासँगै यतिबेला हामी दोस्रो एल्बमका गीतहरू रेकर्ड गर्दैछौं । यसपटक हामीले आफ्ना गीत आफैंले कम्पोज गरेका छौं । पहिलो एल्बम सार्वजनिक भएपछि मात्र उक्त एल्बममा समावेश गीतको म्युजिक भिडियो तयार पारेका थियौं । यसपटक गीत रेकर्डिङ गरेर भिडियो तयार पारेपछि मात्र एल्बम सार्वजनिक गर्ने योजना बनाएका छौं ।