प्रथम मिस नेपाल रुबी राणालाई प्रमुख अतिथिका रूपमा पाएपछि 'मास्टर एन्ड मिस नागार्जुना-२०७१' का २० जना प्रतिस्पर्धी बालबालिका उत्साहित देखिन्थे । शनिबार कुपन्डोलमा आयोजित यो प्रतियोगिता परिचयात्मक चरण हुँदै अघि बढेको थियो । दोस्रो सिक्वेन्समा प्रतिस्पर्धी बालबालिकाहरूले विभिन्न जातजातिको पहिचान झल्कने परम्परागत पहिरन प्रदर्शन गरेका थिए । त्यसपछिको सिक्वेन्समा गायक निर्णय श्रेष्ठ, मोडल सुनिता डंगोल, गायक युवराज चौलागाईं, नायक फुपू तेन्जिङ शेर्पा सहितका निर्णायकले उनीहरूसँग पालैपालो प्रश्न सोधेका थिए । प्रतियोगितामा आस्था सिजापतिले मिस नागार्जुना तथा समिर परियारले मास्टर नागार्जुनाको उपाधि जितेका थिए । समारोहमा गायक युवराज चौलागाईंले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । उक्त अवसरमा कार्यक्रमस्थलमा फुड फेष्टिभलसहित अन्य मनोरञ्जक कार्यक्रम पनि समावेश गरिएको थियो ।