साप्ताहिक संवाददाता
महोत्सवमा कलाकारको जमघट
पोखराबाट शिव शर्मा लेख्छन्- एघारौं लेखनाथ महोत्सवमा पूर्व तथा पश्चिमका कलाकारहरूको जमघट रह्यो । धनकुटाका गायक तुलसी पराजुलीले लोकलयमा आधारित 'कान्छीको छाता ढल्काइदेऊ' गाउँदै महोत्सवका सहभागीहरूलाई छमछमी नचाए । पराजुलीले पहिलो पटक लेखनाथमा आफनो सांगीतिक कार्यक्रम प्रस्तुत गरेका हुन ।
दिपक लिम्बू, प्रमोद खरेल, रोज मोक्तान, रेसमा सुनुवार, प्राश्ना शाक्य आदि एक दर्जन कलाकारले मेलामा मादकता छरे । त्यसैगरी धर्मेन्द्र सेवान, इन्दिरा जोशी, हेमन्त शर्मा, कोमल वली, मिलन लामा आदिले पनि प्रशस्त मनोरञ्जन प्रदान गरे । आयोजकहरूको पूर्व र पश्चिमका कलाकारलाई समेटेर नयाँ स्वाद पस्किने प्रयास सफल भयो । महोत्सव लोकदोहोरी, पप, आधुनिक तथा हास्य प्रहसनको संगम रह्यो । उक्त अवसरमा गण्डकी तारा, बालबालिकाको ट्यालेन्ट कन्टेस्टदेखि विविध नृत्यले समेत दर्शकहरूको मन जितेको थियो ।
लेखनाथ महोत्सव २० करोड रुपैयाँको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । मंसिर १८ गते प्रारम्भ भएको उक्त महोत्सव ३ लाख ३० हजार दर्शकले अवलोकन गरेको बताइन्छ । महोत्सवमा आदीवासी तथा जनजातीको र्यालीमा स्याङ्जाली तमु समाज लेखनाथ प्रथम भएको छ । यसैगरी धौलागिरि पुन मगर समाज लेखनाथ द्वितीय, क्षेत्री समाज लेखनाथ नगरसमिति तृतीय भएका छन् । उक्त अवसरमा गायक तारापति सुवेदी, चन्द्र शर्मा, जीवन दाहाल र शिवहरि ढुंगानालाई सम्मान गरिएको थियो । लेखनाथ महोत्सवको विशेष आकर्षण गण्डकी ताराको उपाधि आरती सापकोटाले जितेकी छिन् भने दीपक विक उप-विजेता भए ।
बुटवलमा महोत्सव
बुटवलबाट टोपराज शर्मा लेख्छन्- बुटवलमा रूपन्देही उद्योग संघको आयोजनामा पुस ७ देखि २१ गतेसम्म १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा कृषि एवं पर्यटन महोत्सव आयोजित गरिंदैछ । बुटवल, रामनगरस्थित बुटवल मण्डपमा सञ्चालन हुने महोत्सवमा स्वदेशी उद्योग, प्रविधि, हस्तकला तथा कृषिजन्य उत्पादनका ३ सय ५० स्टल रहने संघका अध्यक्ष बोनिन पियाले साप्ताहिकलाई बताए । महोत्सवमा नेपाली मौलिक कला तथा संस्कृति झल्कने गीत-संगीत एवं झाँकीहरू पनि प्रस्तुत गरिनेछन् ।
आजदेखि उर्लाबारी महोत्सव
उर्लाबारीबाट तेजन खड्का लेख्छन्- मोरङको उर्लाबारीमा आज पुस ४ गतेदेखि 'उर्लाबारी रिमझिम महोत्सव' सञ्चालन हँँदैछ । महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै व्यापार-व्यवसाय पनि वृद्धि हुने विश्वास गरिएको छ । पूर्वी मोरङको पत्रकारहरूको साझा संगठन सञ्चार क्लब नेपाल उर्लाबारीको भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले उक्त महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सवमा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै व्यापारीक स्टलहरू पनि राखिने छन् ।
धादिङमा क्षेत्रीय महोत्सव
धादिङ समाचारदाताका अनुसार पुस ७ गतेदेखि १७ गतेसम्म धादिङको सदरमुकाम धादिङबेसीमा मध्यमाञ्चल क्षेत्रीय महोत्सव हुने भएको छ । उक्त महोत्सव उद्योग वाणिज्य संघ धादिङले घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा सञ्चालन गर्नेछ । धादिङमा उत्पादन हुने खाद्यवस्तु, स्थानीय कला, संस्कृति, कृष,ि सूचना, पर्यटन, धार्मिक तथा औद्यौगिक प्रदर्शनीका साथै मध्यमाञ्चल विकास क्षेत्रका १९ वटै जिल्लासाग सम्बन्धित वस्तुहरू महोत्सवका आकर्षण हुनेछन् । महोत्सवमा हेलिकप्टरमार्फत जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको दृश्यावलोकन, पर्यटकीय क्षेत्रहरूमा होमस्टेका साथै सांस्कृतिक कार्यक्रमहरू पनि आयोजित गरिनेछ ।
सिन्धुली महोत्सव
सिन्धुलीबाट ऋषि राई लेख्छन्- पुस १० देखि १९ गतेसम्म सिन्धुली महोत्सव हुने भएको छ । सिन्धुलीको चर्चित जुनार, स्थानीय लोकसंस्कृति तथा कृषिजन्य उत्पादनको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवले ऐतिहासिक सिन्धुलीगढीको पनि थप प्रचार-प्रसार गर्नेछ । त्यसैगरी महोत्सवमा विभिन्न कलाकारको समेत प्रस्तुति रहनेछ । महोत्सवमा विभिन्न जातजातिको वेशभूषा, संस्कृति एवं झाँकीहरूसमेत प्रदर्शन गरिनेछ ।्
धनकुटा महोत्सव
धनकुटाबाट प्राप्त समाचारअनुसार नेपाल उद्योग वाणिज्य महासंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र एवं वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा धनकुटा उद्योग वाणिज्य संघले पुस २३ गतेदेखि माघ २ गतेसम्म धनकुटा महोत्सव सञ्चालन गर्नेे भएको छ । धनकुटा महोत्सवमा १ सय ५० वटा स्टल राखिनेछन् । महोत्सवमा विभिन्न १९ वटा वस्तु तथा पूर्वाञ्चलका १६ जिल्लामा उत्पादित सामग्रीहरूको प्रदर्शनी, पूर्वाञ्चलका चर्चित पर्यटकीय स्थलहरूका बारेमा जानकारी दिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूबाट गीत संगीत, हास्यव्यंग्य, दोहरी गीत तथा प्रहसन, विभिन्न जातजातिको वेशभूषा एवं कला प्रदर्शन गरिनेछ ।
सुदूरपश्चिममा रामकृष्ण र हिमाल सागर
दुई लोकप्रिय गायक रामकृष्ण ढकाल तथा हिमाल सागरले सुदूरपश्चिमाञ्चल क्षेत्रमा सम्पन्न दुई क्षेत्रीय महोत्सवमा आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गरेका छन् । मंसिर २२ गतेदेखि पुस २ गतेसम्म जारी सुदूरपश्चिम महोत्सव-२०७१ मा यी दुई गायक आकर्षणको केन्द्रमा रहे । महोत्सवका क्रममा गत आइतबार प्रस्तुत भएका गायक रामकृष्ण ढकालले 'बाँचुन्जेलीलाई...' सहितका आफ्ना लोकप्रिय गीत सुनाएका थिए भने गायक हिमाल सागर 'तीन ढिक्के फूली' गाएर दर्शकलाई नचाउन सफल रहे । धनगढीमा आयोजित सांगीतिक समारोहमा पनि यो जोडीले दर्शकहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गरेको थियो ।
पोखरामा पर्वतीय महोत्सव
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसर तीनदिन महोत्सवमय बन्यो । नेपाल पर्वतारोहण संघद्वारा पर्वतारोहणसम्बन्धी जानकारी दिन तथा पर्वतीय पर्यटनको विकास गर्न आयोजित महोत्सवमा हिमाल आरोहणसम्बन्धी स्टलहरू समावेश थिए । महोत्सवमा हिमाल आरोहणका क्रममा अपनाइने उपायको जानकारीसँगै पर्वतसँग सम्बन्धित सूचनामूलक जानकारीहरू राखिएका थिए । विभिन्न जनजातिका परिकारदेखि पर्वतीय कृषिसम्बन्धी जानकारी पनि समावेश थिए । हिमालय पर्वतको कथामा आधारित शिव-पार्वतीको रिमोटबाट चल्ने मूर्तिले महोत्सवमा आकर्षण थप्यो । त्यस्तै महोत्सवका क्रममा पर्वतीय चलचित्रहरूसमेत प्रदर्शन गरिएको थियो । महोत्सवमा ३० भन्दा बढी स्टल राखिएका थिए ।