नेपालका सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले सुन्धारास्थित सिभिल मलमा अघिल्लो शुक्रबारदेखि सञ्चालनमा ल्याएको निलडेभिड्स युनिसेक्स सैलुनको उद्घाटनमा नेपाली सेलिब्रेटीको साथ पाएका छन् । सार्वजनिक समारोहमा कमै देखिने नायिका गौरी मल्लले रिबन काटेर उक्त सैलुनको उद्घाटन गरेकी थिइन् । त्यसक्रममा नीलडेभिडलाई नायिका मल्लका साथै हास्य कलाकार निर्मल शर्मा, गायक युवराज चौलागाईं, उद्योगपति राजेन्द्र खेतान, फेसन डिजाइनर तथा निर्मात्री पूनम गौतमले साथ दिएका थिए । सिभिल मलको पहिलो तल्लामा रहेको सैलुन उद्घाटन गर्दै नायिका गौरी मल्लले नीलडेभिडको कामबाट आफू प्रभावित भएको बताउँदै उनले हेयर स्टाइलको क्षेत्रमा नयाँ सोच ल्याएको उल्लेख गरिन् ।