नेवाः ल्यायम्ह पुचःले धरानमा आयोजना गरेको पाँचदिने 'तेस्रो योमरी सांस्कृतिक तथा पर्यटन उत्सव-११३५' सोमबार साँझ सम्पन्न भएको छ । अघिल्लो बिहीबार प्रारम्भ भएको उक्त उत्सवमा हरेक साँझ स्थानीय कलाकारहरूका साथै गायक दिप श्रेष्ठ, गंगा वरदान, गायिका प्राश्ना शाक्य आदिले गीत सुनाउनुका साथै गरिमा, युनाइटेड थट्टनि, मुनलाइट आर्ट्स आर्ट स्टिक डान्स सेन्टर आदिले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । नेवारहरूले नयाँ धानवाली घर भित्र्याउँदा नयाँ चामलको गणेश, लक्ष्मी तथा विभिन्न देवीदेवताको प्रतिमा बनाउनुका साथै नयाँ चामलकै परिकार योमरी बनाएर खाने चलन भएकाले उक्त संस्कृति लोप हुन नदिने उद्देश्यका साथ महोत्सव आयोजित गरिएको नेवाः ल्यायम्ह पुचः का अध्यक्ष दिपेश श्रेष्ठले बताएका छन् ।