अल्लोका कपडाबाट कोट, मफलर, सल, झोला, वानपिस, मिनिस्कर्ट, हाते ब्याग, जुत्ता, ह्याट, टोपी, मेच टेबुल कभर आदि उत्पादन गरिन्छ । अल्लोबाट निर्मित कपडाको प्राकृतिक रंग खैरो हुन्छ । अल्लोबाट तयार गरिएका कपडाहरू सजिला एवं आकर्षक मानिन्छन् । अहिले उत्पादन भैरहेका धेरैजसो अल्लोका कपडा र त्यस्ता कपडाबाट बनेका वस्तुहरू नेपाल घुम्न आउने पर्यटकहरूले उपहारका रूपमा किन्ने गरेका छन् । अल्लो कपडा उत्पादन क्लबकी सञ्चालिका लीला राई भन्छिन्- 'नेपालमा मात्र नभै अमेरिका, हङकङ आदिमा अल्लो धेरैको रोजाइमा परेको छ, विशेषतः पर्यटकहरूले स्वास्थ्यका हिसाबले अल्लोका कपडा खोजी-खोजी किन्ने गरेका छन् ।'
कोट ः अल्लोको कपडाबाट बनाइएका कोटहरू विभिन्न स्टाइलमा उपलब्ध छन् । बाक्ला र न्याना यस्ता कोटको मूल्य १० हजार रुपैयाँसम्म पर्छ ।
सल ः अल्लोको धागोबाट बनेका पाँच प्रकारका सल बजारमा उपलब्ध छन् । यस्ता सलको मूल्य त्यसको आकारमा निर्भर हुने गरेको छ । यस्ता सल महिला र पुरुष दुवैका लागि उपलब्ध हुन्छन् ।
झोला तथा पर्स ः अल्लोको कपडाबाट बनेको हाते झोला र पछाडि भिर्ने झोलाहरू आकर्षक मानिन्छन् । यस्ता झोलाको मूल्य १ हजार रुपैयाँभन्दा बढी पर्छ । अल्लोको कपडाबाटै महिलाहरूका लागि हाते पर्स पनि बन्ने गरेका छन् । यस्ता सात प्रकारका हाते पर्सको मूल्य बुट्टा र आकारअनुसार ३ सय रुपैयाँभन्दा बढी पर्छ ।
मफलर ः जाडो महिनामा धेरैको रोजाइमा पर्ने अल्लोको कपडाबाट निर्मित मफलर न्याना हुन्छन् । यस्ता मफलर पनि साना-ठूला र बाक्ला-पातला आकारमा उपलब्ध छन् । बुट्टा र झुम्काअनुसार ती मफलरको मूल्य निर्धारण हुन्छ ।
यसबाहेक अल्लोको कपडाबाट निर्मित टोपी, ह्याट, जुत्ता, टेबुल तथा कुर्सीका कभर एवं खेलौनाहरू पनि उपलब्ध छन् । काठमाडौंको बौद्ध, ठमेल, झम्सीखेल आदि स्थानमा रहेका आधिकारिक विक्रेताहरूमार्फत अल्लोको कपडाबाट निर्मित सामानहरू खरिद गर्न सकिन्छ ।