कतै कोणधारी एक्समस ट्री सजिए, कतै रंगविरंगी बत्ती बले । कसैले शान्ता क्लजको नाममा उपहार आदान-प्रदान गरे, कसैले इभ पार्टीको मज्जा लिए । सवैले आ-आफ्नै ढंगले क्रिसमस मनाए, तर त्यसमा कुनै धार्मिक रंग थिएन, बरु हार्दिकता थियो, सद्भाव थियो, उन्मुक्त खुसी थियो ।
टि्वंकल अग्रवालकै कुरा गरौं । अग्रवाल आफ्नो समुदायमा प्रचलित 'डान्डिया नृत्य'मा जति रमाउँछिन्, उति नै क्रिसमसमा पनि । त्यसैले त क्रिसमसको पूर्वसन्ध्यामा टि्वंकल भन्दै थिइन्-'रातो पहिरन लगाउँछु, चर्च जान्छु र रमाइलो गर्छु ।'
मनोविज्ञ करुणा कुँवरका अनुसार 'मानिसहरू स्वभावैले खुसी हुन चाहन्छन् र त्यसका निम्ति उनीहरू कुनै न कुनै बहाना खोजिरहेका हुन्छन् ।' टि्वंकलकै सन्दर्भमा पनि कुँवरको भनाइ मेल खान्छ- 'चाडपर्व भनेको रमाउने, खुसी हुने एउटा बहाना पनि हो ।'
क्रिसमस किन मनाइन्छ ? कतिपय तन्नेरीसँग यसको जवाफ नहुन सक्छ । यद्यपि उनीहरू यही अवसर छोपेर भरपुर मज्जा लिन चुक्दैनन् । किनभने उनीहरूलाई त बहाना न चाहिएको छ, 'इन्जोय' गर्ने ।
'हामीलाई रमाइलो गर्न पाए पुग्छ,' बुटवलका प्रकाश भण्डारी भन्छन्- 'त्यसबाहेक अरू केही लिनु-दिनु छैन ।' त्यसो त भण्डारीले यहि मौका छोपेर नजिकका सहपाठीहरूलाई आमन्त्रण गरेर डान्सपार्टी नै आयोजित गरे । बुटवलकै 'वाइक स्टन्ट राइडर'को प्रमोसन गर्न उनले उक्त मेसो जुराएका थिए । प्रकाश भन्छन्- 'यो प्रमोसनका लागि एउटा राम्रो अवसर हो ।' बत्तीसपुतलीको एक फुड कोर्टमा आयोजित 'विन्टर क्रिसमस पार्टी विथ वाइक स्टन्ट'मा सैयौं तन्नेरी सहभागी भए ।
क्रिसमसकै पूर्वसन्ध्यामा कमलपोखरीस्थित सिटी सेन्टरको आर्चिज ग्यालरीमा 'क्रिसमस आइटम' किनमेल गर्ने तन्नेरीहरूको भीड लागेको थियो । उनीहरू थरीथरीका क्रिसमस ह्याट, शान्ता ड्रेस, लाइट तथा क्यान्डिल खरिद गरिरहेका थिए । त्यही लस्करमा भेटिएकी थिइन् संगीता प्रधान, जो एक्समस ट्री डोकेरेसनका सामग्री किनिरहेकी थिइन् । 'सबै साथीहरूले सजाउँछन्' संगीताले भनिन्- 'त्यसैले मैले पनि किनेकी ।'
मनोविज्ञ कुवँरको विश्लेषणमा नेपाली तन्नेरीहरूले यो पर्वलाई 'फेसन'का रूपमा अनुसरण गरिरहेका छन् । विश्वव्यापी ट्रेन्डलाई पच्छ्याउँदै उनीहरू शान्ता क्लजको आवरणमा सजिन्छन् र 'ह्याप्पी क्रिसमस' भन्दै शुभकामना साटासाट गर्छन् । यसलाई सकारात्मक परिवर्तनका रूपमा समाजले ग्रहण गर्नुपर्ने कुँवरको तर्क छ ।
'सबै धर्म, परम्परालाई स्वीकार गर्नु राम्रो हो,' मनोविज्ञ कुँवर भन्छिन्- 'यसले आपसी भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।' कुँवरले यसलाई 'क्रस कल्चर'को प्रभावका रूपमा पनि व्याख्या गरिन् । 'अहिले सबै जातजाति, धर्म, रीतिरिवाज एवं संस्कृतिलाई समान रूपले ग्रहण गर्ने संस्कारको विकास भैरहेको छ,' कुँवर भन्छिन्- 'क्रिसमसलाई तन्नेरीहरूले खुला हृदयले स्वीकार गर्नुको पछाडि यो पनि एउटा कारण हुन सक्छ ।'
गायिका चन्दा देवान क्रिसमसले समाजमा छुटै उमंग सञ्चार गर्ने बताउँछिन् । यद्यपि इभ पार्टीका रूपमा 'डि्रंक गर्ने' चलन उपयुक्त नभएको उनको तर्क छ । 'रातभर डि्रंक गर्छन्' चन्दा भन्छिन्- 'यो त विकृति भयो नि ।' चन्दा इसाई धर्मावलम्वी हुन्, त्यसैले यो पर्वलाई मर्यादित ढंगले मनाउनुपर्नेमा उनको जोड छ ।
क्रिसमस मनाउने कल्चर बर्सेनि झाँगिदै गएको अनुमान गर्छन्, अनिल कुमार जलान । आर्चिज ब्रान्डका गिफ्ट आइटम विक्री गरिरहेका जलानले विगत ७ वर्ष यता क्रिसमसका सामग्री खरिद गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको अनुभव गरेका छन् । 'म डेढ दशकअघिदेखि कारोबार गरिरहेको छु,' जलानले भने- 'तर, अहिले क्रिसमस आइटम खोज्नेहरूको संख्या ह्वात्तै वढेको छ ।'
त्यसो त क्रिसमसले विभिन्न गिफ्ट आइटमको बजारलाई पनि उत्कर्षमा पुर्याउने गरेको छ । खासगरी एक्समस टि्र, शान्ता ड्रेस, ह्याट, ग्रेटिङ कार्ड, क्यान्डिलको माग उच्च हुने व्यवसायीहरू बताउँछन् । यतिवेला ठूला सपिङ सेन्टरदेखि स-साना पसलसम्म क्रिसमसमय हुने गरेका छन् ।
सहरी क्षेत्रका तारे होटलहरूदेखि सामान्य रेस्टुराँसम्म क्रिसमसको रंगमा रंगिएको पाइन्छ । यही मेसोमा 'क्रिसमस पार्टी'को रौनक पनि देखिन्छ । दरबारमार्गस्थित मालिङ्गो रेस्टुराँ गजल एन्ड बारमा नियमित गीत गाउँदै आएका गायक सञ्जय तुम्रोक भन्छन्- 'क्रिसमस विशेष कार्यक्रम गरेर आगन्तुकहरूलाई नचाइरहेका छौ ।' किराँत संस्कारमा हुर्किए पनि सञ्जय क्रिसमसलाई विशेष अवसरका रूपमा लिन्छन् ।
शान्ता क्लज र फेसन
रातो पृष्ठभूमिमा सेतो किनारा भएको पहिरन, सानो गोलाकार चस्मा, हिउँजस्तै सेतो केस तथा सेतै दाह्री-जुँगा । शान्ता क्लजको यही आवरणमा सजिएका भेटिन्छन्, तन्नेरीहरू । यद्यपि शान्ता को हुन् ? कतिपयलाई जानकारी नहुन सक्छ । शान्ताक्लजलाई 'फादर अफ क्रिसमस' पनि भनिन्छ । क्रिसमसको अघिल्लो दिन (२४ डिसेम्बर) मा उनी आकाश मार्ग हुदै 'रेन डियर'ले तानेको रथ चढेर आउँछन् र बालबालिकाले वर्षभरि गरेको व्यवहार अनुसार उनीहरूलाई उपहार-प्रदान गर्छन् भन्ने धार्मिक कथन छ ।
क्रिसमस र विश्व रेकर्ड
क्रिसमसका अवसरमा एउटा अनौठो विश्व कीर्तिमान बनाएका छन्, करिब ३ हजार मानिसले । होन्डुरसको राजधानी टेगुसिगाल्पामा उनीहरूले 'मानव क्रिसमस रूख' बनाएर उक्त विश्व किर्तिमान कायम गरेका हुन् । विभिन्न रंगका पहिरन लगाएका मानिसहरूले उक्त क्रिसमस ट्रीको आकृति तयार पारेका थिए । सन् २०१३ मा ८ सय ५२ जना थाइ वालवालिका मिलेर वनाएको मानव क्रिसमस ट्रीलाई उछिन्दै उनीहरूले नयाँ किर्तिमान वनाएका हुन् ।
त्यस्तै अस्ट्रेलियाको राजधानी क्यानवेरामा पनि क्रिसमस लाइटले विश्व किर्तिमान वनाएको छ । १२ लाख एलईडी वल्भ तथा १ सय २० किलोमिटर लामो तार प्रयोग गरी रूखको आकारमा तयार गरिएको उक्त क्रिसमस लाइटले सवैभन्दा ठूलो एलइडी इमेज डिस्प्ले विधामा नयाँ किर्तिमान वनाएको हो ।
क्रिसमस कार्डको प्रचलन
क्रिसमसको पूर्वसन्ध्यामा आकर्षक ग्रेटिङ कार्ड आदानप्रदान गर्ने चलन छ । सबैभन्दा पहिले विलियम एंगलेले क्रिसमस कार्ड प्रचलनमा ल्याएको मानिन्छ, सन् १८४२ मा । क्रिसमसको अवसरमा प्रयोग गरिएकाले यसलाई 'क्रिसमस कार्ड' भनियो । उक्त कार्डमा शाही परिवारको तस्बिर तथा आफ्ना मित्रको स्वास्थ्यको शुभकामना दिँदै लेखिएको थियो- 'विलियम एगंलेको साथीको क्रिसमस शुभ होस् ।'