साप्ताहिक संवाददाता
यसरी चर्चा कमाउनेहरूमा सबैभन्दा अगाडि देखिए आईएस नामक इस्लामिक आतंकवादी संगठनका प्रमुख अबु अल बक्र बग्दादी । सन् १९७१ मा इराकको समारामा जन्मिएका बग्दादीले इराककै इराकी विश्वविद्यालयबाट स्नातकसम्म अध्ययन गरेका छन् । कुनै बेला अमेरिकाले इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनविरुद्ध कारबाही थाल्दा पक्राउ परेर अमेरिकी सेनाको ब्यारेकमा बन्दी बनाइएका बग्दादीले आफू रिहा भएपछि इस्लामिक स्टेट अर्थात् आईएस नामक संगठन निर्माण गरे, जसले यो वर्ष इराक र सिरियामा आतंकवादको परिभाषा नै बदलिने गरी आतंक मच्चायो भने त्यसको रापले संसारलाई नै झकझक्यायो ।
बग्दादीकै हाराहारीमा आफ्नो क्रुरताका कारण चर्चित बने नाइजेरियाको आंतककारी संगठन बोको हरामका नेता अबुबाकर सेकाउ । बोको हरामका संस्थापक नेता मोहम्मद युसुफ सन् २००९ मा मारिएपछि नेतृत्वमा आएका सेकाउले नाइजेरियामा इस्लामिक जेहादका नाममा जेजस्ता हर्कत गरे त्यसले उनलाई चर्चाको अग्रस्थानमा ल्यायो । सेकाउले आफ्नो राजनैतिक लक्ष्य प्राप्तिका लागि आतंकवाद त रोजे नै, सँगसँगै उनले त्यसका लागि महिला तथा केटाकेटीहरूलाई समेत हतियारका रूपमा प्रयोग गरे । केही समाचार एजेन्सीले २४ सेप्टेम्बर २०१४ मा उनी मारिएको खबर सार्वजनिक गरे पनि त्यसको पुष्टि हुन सकेको छैन ।
चर्चाको यही श्रृंखलामा छन् रुसका राष्ट्रपति भ्लादीमिर पुटिन । एक्काइसौं शताब्दीको विश्वमा पनि सैनिक बलका आडमा राष्ट्र विस्तार हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्दै पुटिनले स्वतन्त्र मुलुक युक्रेनको एउटा भूभाग क्रिमियालाई रुसमा मिसाए । यसले उनको आन्तरिक लोकप्रियता चुलिए पनि विश्वव्यापी रूपमा ठूलो आलोचना भयो । यसैको प्रभावमा देखिएको आर्थिक नाकाबन्दीका कारण रूसी मुद्रा रुबलको विश्वसनियता समाप्त भयो भने रूसी अर्थतन्त्र पनि धरापमा पर्यो ।
पुटिनको ठीकविपरीत आमनिर्वाचनमा व्यापक विजय प्राप्त गरेर हिन्दू राष्ट्रवादी तथा अनुदारवादी छविका भारतीय नेता नरेन्द्र मोदी पहिलो पटक विश्वव्यापी समाचारको केन्द्र बने । लामो समयसम्म साम्प्रदायिकताको आरोप बेहोरेका मोदीले अमेरिकालगायत चीन, जापान, अस्ट्रेलियाजस्ता मुलुकको भ्रमण गरेर आफूमाथि लाग्दै आएको साम्प्रदायिकताको आरोप पखाल्ने काममा सफलता प्राप्त गरे । मोदीको नेतृत्वमा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले भारतको केन्द्रीय सत्तामा मात्र होइन कतिपय प्रान्तीय विधानसभाहरूमा समेत ठूलो विजय प्राप्त गर्यो ।
यही वर्ष बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन बेलायतलाई थप टुक्रिनबाट जोगाएर चर्चामा आए । डेभिड क्यामरुनले लामो समयदेखि स्वतन्त्र राष्ट्रको माग गर्दै आएको स्कटल्यान्डमा जनमत संग्रह गराए । जनमतसंग्रहको परिणामले त्यहाँका जनता बेलायतबाट नछुट्टनिे पक्षमा रहेको प्रमाणित गर्यो । जनमत संग्रहको उक्त नतिजापछि डेभिड क्यामरुन बेलायतमा थप लोकप्रिय त भए नै विश्वभरि नै उनको उदार प्रजातान्त्रिक व्यवहारले समेत चर्चा पायो ।
जनताको लोकप्रिय मत नै कुनै पनि सुधारको आधार हुनुपर्छ र कुनै पनि राजकीय निर्णयको प्रस्थानबिन्दु हुनुपर्छ भन्ने डेभिड क्यामरुनको मतलाई पछ्याउँदै जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि यसै वर्ष आमनिर्वाचनमा जाने निर्णय गरेर राजनैतिक साहसको परिचय दिए । उनको निर्णयलाई जापानी जनताले पनि अनुमोदन गरेपछि आबे विश्वव्यापी चर्चामा आए । जापानको अर्थतन्त्रमा देखा परेको मन्दी हटाउन आबेले लागू गरेको 'आबेनिक्स' अर्थनीति यतिबेला चर्चामा छ ।
जनताको प्रजातान्त्रिक भावना अनुभव गरेर मात्र पुग्दैन, त्यसलाई स्वीकार गरेर नेतृत्व दिने साहस पनि देखाउनुपर्छ । यही भावनालाई आत्मसात् गरेर जोसुवा वोङले हङकङका जनतालाई प्रजातन्त्रका पक्षमा सडकमा उतारे । हङकङमा थप प्रजातान्त्रिक अधिकारका लागि त्यहाँका जनताले गरेको (गरिरहेको) सडक आन्दोलनले वोङलाई प्रजातन्त्रको नयाँ मसिहाका रुपमा विश्वव्यापी रूपमा चर्चामा ल्याएको छ ।
चर्चाको यो सूचीमा आउन राजनैतिक रूपमै सक्रिय हुनुपर्छ भन्ने छैन । आफ्नो विचारले अरूलाई प्रभावित गरेर पनि चर्चा कमाउन सकिन्छ । यही कुरालाई प्रमाणित गरे टिमोथी डोनाल्ड अर्थात् टिम कुकले । संस्थापक स्टीब जब्सको निधनपछि टुहुरो भएको एप्पल नामक इलेक्ट्रोनिक कम्पनीको कुशल नेतृत्व गरेर कुकले उक्त कम्पनीलाई एकपटक फेरि ग्याजेटको बजारमा पहिलो स्थानमा स्थापित गरे । त्यतिमात्र होइन, एप्पलले पछिल्लोपटक जारी गरेको आईफोन-६ र आईफोन-६ प्लसले जुन चर्चा कमायो त्यो अतुलनीय मानिएको छ ।
कुकले जस्तै व्यवसायिक कुशलता प्रदर्शन गरेर चर्चामा रहन सफल अर्का व्यक्ति हुन् अलिबाबा नामक अनलाइन बजारका संस्थापक अध्यक्ष ज्याक मा । यतिबेला अनलाइनमार्फत् हुने विश्वव्यापी कारोबारको ठूलो हिस्सामा कब्जा जमाएको अलिबाबाको जुन चर्चा छ त्योभन्दा बढी चर्चा त्यसका मालिक चिनियाँ व्यापारी ज्याक माले कमाएका छन् । ज्याक यतिबेला विश्वबजारको नयाँ र प्रभावशाली खेलाडीका रूपमा उदाएका छन् ।
चर्चाको यो श्रृंखलामा कुनै नेपालीले ठाउँ पाउला कि नपाउला ? यो कौतूहलता दशकौंदेखि नेपाली जनमानसमा छ । त्यही कौतूहलता मेटाइदिएका छन् डाक्टर कुमुद धितालले । अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा एउटा मृत मानिसको मुटुलाई जीवित मानिसमा ट्रान्स प्लान्ट गर्ने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेर मुटुरोग विशेषज्ञ डा. धिताल अचानक चर्चामा आए । धार्मिक तथा संस्कारजन्य मान्यताले विवादमा ल्याए पनि डा. धितालको टिमले गरेको कामले चिकित्सा विज्ञानलाई एउटा नयाँ उचाइमा पुर्याएको छ ।