साप्ताहिक संवाददाता
इराकमा अबु अल बक्र बग्दादीको नेतृत्वमा देखा परेको आईएस अर्थात् इस्लामिक स्टेट नामक संगठनले मच्चाएको आतंकले इराक र सिरियालाई मात्र प्रभावित गरेन, अपितु त्यसको छायाँ विश्वभर देखियो । अमानवीय क्रूरताको पराकाष्ठासम्म पुगेको आईएसको आतंक यतिबेला संसारका सबैजसो क्षेत्रमा फैलिसकेको छ भन्ने कुराको संकेत वर्षको अन्तमा अस्ट्रेलियाको एउटा रेस्टुराँमा देखिएको बन्धक प्रकरणले समेत प्रमाणित गर्यो । यतिबेला आईएसको आतंकबाट संसारको कुनै पनि मुलुक सुरक्षित नरहेको अमेरिकी सुरक्षा निकायहरूको ठहर छ ।
आईएसकै जस्तो आतंक मध्यअफ्रिकी मुलुक नाइजेरियामा समेत देखा पर्यो । बोको हराम नामक संगठनले त्यहाँ इस्लामिक शुद्धताका नाममा प्रारम्भ गरेको जेहाद अर्थात् धर्मयुद्धको चपेटामा त्यहाँका थुप्रै महिला तथा बालबालिका परे । गाउँका गाउँ र सिंगो विद्यालय नै अपहरण गर्ने तथा मार्ने अभियान चलाएको बोको हरामले नाइजेरिया लगायतका पश्चिमी अफ्रिकी मुलुकमा जुन किसिमको आतंक मच्चायो त्यसले वर्ष २०१४ भरि नै सञ्चारमाध्यमहरूमा चर्चा पाइरह्यो ।
इस्लामिक जेहादकै नाममा पाकिस्तानको पेसावरस्थित एक सैनिक विद्यालयमा आक्रमण गरी तहरिक-ए-तालिवान नामक आतंककारी संगठनले १ सय २४ जना बालबालिकासहित १ सय ६४ जनाको हत्या गरेर आतंकसँग मानवीय व्यवहारको कुनै सम्बन्ध हुँदैन भन्ने दृष्टान्त प्रस्तुत गर्यो । वर्षको अन्ततिर घटेको उक्त घटनाले यसअघि सामरिक महत्त्व एवं राजनैतिक तथा व्यवसायिक केन्द्रहरूमा हुने आतंककारी आक्रमण अब संयुक्त राष्ट्रसंघले नै शान्तिक्षेत्र भनी घोषणा गरेको विद्यालय तहसम्ममा पुगेको देखायो । यो निकृष्टतम आतंककारी आक्रमणले संसारबाट मानवीयता नै हराउन थालेको संकेतसमेत गरेको छ ।
यो वर्ष मध्यपश्चिमी अफ्रिकी मुलुकहरूमा फैलिएको इबोलाको महामारीले पनि विश्वव्यापी रूपमै आतंक मच्चायो । औषधी विज्ञान र अनुसन्धानलाई नै चुनौती दिने गरी देखा परेको इबोला रोगकै कारण कतिपय अफ्रिकी मुलुक संकटग्रस्त घोषित गरिए भने शेष विश्वले पनि इबोलाविरुद्धको तयारीलाई तीव्रता दिए ।
एक्काइसौं शताब्दीको संसारमा सैन्य बलले कुनै देश टुक्रिन सक्छ वा कुनै देशको भू-भागलाई आफ्नो भूभागमा गाभ्न सकिन्छ ? यो प्रश्नको जवाफ खोज्नुपर्ने गरी मध्ययुरोपमा क्रिमियाको संकट देखा पर्यो । पूर्व सोभियत संघबाट अलग भएको युक्रेनको एउटा भूभाग क्रिमियामा रूसी भाषीहरूको बाहुल्यता रहेकै आधारमा रूसले त्यसलाई युक्रेनबाट टुक्र्याएर आफूमा समाहित गर्यो । एउटा सार्वभौम सत्ता सम्पन्न मुुलुकमा देखा परेको बाह्य हस्तक्षेपको यो प्रकरणमा संयुक्त राष्ट्र संघलगायत शेष विश्व नै असरहीन देखिए । अहिले युक्रेनका अन्य भूभागमा समेत रूसले भाषाका आधारमा विखण्डनवादी नीति अख्तियार गरेर शेष विश्वलाई नै चुनौती दिइरहेको छ ।
आणविक शक्ति सम्पन्न एउटा मुलुकले गरेको यस्तो निन्दनीय घटनाका विरुद्ध अमेरिकालगायत अन्य आर्थिक महाशक्तिहरूले रूसविरुद्ध आर्थिक नाकाबन्दीको घोषणा गरे । परिणाम अहिले देखा पर्न थालेको छ । रूसमा यसअघि कहिल्यै बेहोर्नुनपरेको आर्थिक संकट देखिएको छ भने उसको मुद्रा रुबलको विश्वसनीयता रसातलमा पुगेको छ । रूसी धनाढ्यहरू कंगाल हुन थालेका छन् भने त्यहाँ गरिएको वैदेशिक लगानी धमाधम फिर्ता हुने प्रक्रियामा पुगेका छन् ।
आर्थिक दृष्टिकोणले यो वर्ष अविस्मरणीय रह्यो । सन् १८७३ मा बेलायतलाई पन्छाउँदै आर्थिक महाशक्तिको हैसियत प्राप्त गरेको अमेरिकालाई यो वर्ष चीनले दोस्रो स्थानमा धकेल्यो । प्रतिव्यक्ति आय, जनताको जीवनस्तरजस्ता कुरामा अझै धेरै पछाडि रहे पनि चीनले कुल गार्हस्थ्य उत्पादन तथा वैदेशिक व्यापार सन्तुलनका दृष्टिकोणले आफूलाई विश्व आर्थिक महाशक्तिका रूपमा स्थापित गर्यो ।
जतिसुकै सम्पन्न भए पनि मानिसले प्रजातन्त्रप्रतिको आफ्नो आस्था गुमाउँदैन भन्ने कुराको संकेत यसै वर्ष हङकङ विद्रोहले गर्यो । एक देश दुई नीतिअन्तर्गत बेलायतको उपनिवेशबाट १९९७ मा चीनमा फर्किएको हङकङमा थप प्रजातान्त्रिक अधिकारका लागि जुन विद्रोह देखा पर्यो त्यो अझै सेलाइसकेको छैन । यो विद्रोहको रापले वर्ष २०१५ भरि नै चर्चा पाइरहने देखिन्छ ।
राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र हुँदैनन् भन्ने उक्ति सम्झँदै वर्षको अन्ततिर सन् ६० को दशकदेखि पानी बाराबारको स्थितिमा रहेको अमेरिका र क्युबा नजिकिएको घटनाले पनि विश्वव्यापी चर्चा पायो ।
आकाशमै हराएको मलेसियन एयरलाइन्सको एमएच-३७० विमान क्वालालम्पुरबाट बेइजिङका लागि उडेको केही समयमै सम्पर्कविहीन हुन पुग्यो । २ सय ३९ यात्रुसहित आकाशमै हराएको उक्त विमानका बारेमा अहिलेसम्म कुनै सुराक फेला पार्न सकिएको छैन । यो घटनाले हाम्रो संसारमा रहस्यहरूका लागि अझै ठाउँ छ भन्ने संकेत समेत गर्यो ।