साप्ताहिक संवाददाता
रोबोट वेटर : पूर्वी चीनको कुन्सान प्रान्तमा सञ्चालनमा रहेको एक रेस्टुराँले रोबोटलाई वेटरका रूपमा प्रयोगमा ल्याएको छ । उक्त रोबोटले पाहुनाको स्वागत, खाना पकाउने एवं खाना पुर्याउने कामसमेत गर्छ ।
ब्रा पेन्टि लुटेरा : महिलाको भित्री पोसाक ढुवानी गरिरहेको एक ट्रकलाई रोकेर ब्रा र पेन्टि लुट्दै ड्राइभरलाई धम्काउने ब्राजिलियन प्रहरीहरू वर्खास्तीमा परे । ब्राजिलका ६ जना प्रहरीले उक्त कार्य गरेको थाहा पाएपछि प्रहरीले उनीहरूको घरमा छापा मारेर लुटिएका ब्रा तथा पेन्टी जफत गरेको थियो ।
मरेपछि ब्युझिइन् आमै : पोल्यान्डकी ९१ वर्षीया हजुरआमा जानिना कोल्किवेभिचलाई चिकित्सकहरूले मृत घोषणा गरेर फ्रिजमा राखेका थिए । ११ घन्टापछि उनको अन्तिम संस्कार गर्न फ्रिजको ढोका खोल्दा उनी जिउँदो फेला परिन् ।
सबैभन्दा पुरानो सन्देश : जर्मनीका एक माझीले सन् १९१३ मा एक सन्देश लेखेर समुद्रमा फालिएको बियरको एउटा बोतल फेला पारे । बाल्टिक सागरमा भेटिएको उक्त बोतल सम्बन्धित व्यक्तिकी नातिनीलाई हस्तान्तरण गरिएको छ ।
माछाको ट्युमर निष्कासन: अस्ट्रेलियाका एक सौखिन माछापालकले आफूले पालेको गोल्ड फिसको ट्युमर शल्यक्रिया गराएर निकालेका छन् । ४५ मिनेट लगाएर शल्यक्रिया गरिएको जर्ज नाम गरेको उक्त गोल्डफिस १० वर्षको थियो ।
मायामा खोलिने ब्रा : जापानको भित्री पोसाक निर्माता कम्पनी रबिजोरले आफ्नो स्थापनाको १० औं वाषिर्कोत्सवमा प्रेम भएपछि मात्र खोलिने ब्रा -ट्रु लभ टेस्टर) बजारमा ल्यायो । उक्त ब्रा कुनै पनि युवती प्रेममा परेपछि मात्र खुल्छ भने प्रेममा नपरेका बेला यसको हुक खुल्दैन ।
महँगो विवाह प्रस्ताव : नेदरल्यान्डका एक युवाले आफ्नी प्रेमिका समक्ष विवाह प्रस्ताव गर्न क्रेनको सहयोग लिँदा ठूलो मूल्य चुकाउनुपर्यो । क्रेनको सहयोगले प्रेमिकाको बगैंचामा गएर प्रेम प्रस्ताव राख्न खोज्दा क्रेन पल्टिएर छिमेकीको घरमा क्षति पुगेको थियो ।
गोठालो सुन्दरी : यो वर्ष सम्पन्न मिस युगान्डा प्रतियोगिताका क्रममा सर्वसाधारणलाई कृषि पेसातर्फ आकषिर्त गर्न सहभागीहरू सुन्दरीलाई गाई दुहुने, बाख्रा पाल्ने जस्ता कार्यमा सम्लग्न गराइएको थियो ।
फेला पर्यो असर्फी : क्यालिफोर्नियाका एक दम्पतीले आफ्नो कुकुरलाई घुमाउन लाने क्रममा एउटा बूढो रूखको छहारीछेउमै सुनका प्रशस्त असर्फी फेला पारे । सन् १८४७ देखि १८९४ सम्ममा निर्माण भएका ती असर्फीको संख्या १ हजार ४ सय २७ थियो । यसरी फेला परेका कतिपय असर्फीमध्ये एउटैको मूल्य १० करोड रुपैयाँसमेत पर्छ । उक्त असर्फीको मूल्य १ अर्ब रुपैयाँ जति छ ।