पाँचथरको गणेशचोकमा पुगेका राष्ट्रिय कलाकारहरूले शनिबार स्थानीय बासिन्दाहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरे । बिदाको दिन परेकाले राष्ट्रिय कलाकारहरूको उक्त कार्यक्रममा ४३ किलोमिटर टाढादेखि विशिष्ठ अतिथिहरू आएका थिए । पहिलो पटक यति धेरै राष्ट्रिय कलाकारलाई एकैपटक एक ठाउँमा पाएका दर्शक/श्रोताले साढे तीन घण्टासम्म तिनको साथ छोडेनन् । नायक राजेश हमाल आफूमात्र नाचेनन् दर्शकलाई पनि आफूसँगै नचाएर असिनपसिन बनाए । स्थानीय हास्यकलाकार मिस्टर डुब्लिकेट भरतमणि पौडेलले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य पारे । समयका कारण गायकहरू रामकृष्ण ढकाल, प्रमोद खरेल तथा हिमाल सागरले भनेजति प्रस्तुति दिन सकेनन् ।