विपत्तिको वर्ष

विपत्तिको वर्ष

पुस ११, २०७१

यो वर्ष पनि विश्वभरि नै प्राकृतिक विपत्तिका समाचारहरू छाइरहे । कतै बाढीपहिरो त कतै भूकम्पले जनधनको ठूलो क्षति भयो । दक्षिणी छिमेकी भारतलाई 'हुडहुड' नामक आँधीले नराम्रोसँग प्रभावित तुल्यायो भने अफगानिस्तानमा एउटा पहाड खस्दा पुरै गाउँ पुरियो । ज्वालामुखी विस्फोट, आगलागीबाट पनि कतिले आफन्त गुमाए, कतिले घरबार ।

चिलीमा महाभूकम्प

दक्षिण अमेरिकी राज्य चिलीले महाभूकम्पको सामना गर्नुपर्‍यो, अप्रिल २ मा । बिहानको समयमा आएको भूकम्पका कारण दर्जनौले ज्यान गुमाउनुपर्‍यो । भूकम्पपछि यातायात, सञ्चार तथा विद्युत् सम्पर्क विच्छेद भएको थियो । चिली तटीय राष्ट्र भएकाले भूकम्पीय हिसाबले निकै जोखिममा छ ।

गाउँमा पहाड खस्यो

मे महिनाको पहिलो साता अफगानिस्तानको एउटा पूरै बस्तीमाथि पहाड खसेर पुरियो । वदख्सन प्रान्तस्थित अब बारिक गाउँमा पहाड खस्दा २ हजार ५ सयभन्दा बढीले ज्यान गुमाउनुपर्‍यो । मुसलधारे पानी परेपछि पहाडको एउटा पूरै भाग झरेर २ सय १५ घर परिवार बसोबास गर्ने गाउँ पुरिएको थियो । त्यसबाट १ हजारभन्दा बढी घर प्रभावित भए । उक्त विपक्तिले ४ हजार जनालाई घरवारविहीन बनायो । बिदाको दिन शुक्रबार अधिकांश व्यक्ति घरमा खाना खाइरहेका बेला उक्त दुर्घटना भएको थियो ।

वासिङ्टनको भीषण अग्निकाण्ड

जुलाई महिनाको अन्तिम साता अमेरिकाको वासिङ्टन राज्यलाई आगोले आतंकित वनायो । चट्याङका कारण विद्युत् सर्ट भएपछि लागेको अनियन्त्रित आगोले डेढ सयभन्दा बढी घरलाई खरानी बनायो भने कतिले विस्थापित हुनुपर्‍यो । ८ सय ७० वर्गकिलोमिटरसम्म फैलिएको आगोमा १० जनाभन्दा बढी बेपत्ता भए ।

यसअघि मे महिनामा अमेरिकाको पश्चिम राज्य क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगलागीबाट ४० हजार व्यक्तिले विस्थापित हुनुपर्‍यो । ६ सय हेक्टरमा फैलिएको उक्त आगलागीका कारण त्यस क्षेत्रको तापमान बढेर ३७ डिग्रीसम्म पुग्यो । आगो नियन्त्रणमा लिन हप्ता दिन लागेको थियो ।

हुदहुद आँधीको उत्पात

अक्टोबरको दोस्रो साता बंगालको खाडीबाट उठेको खतरनाक समुन्द्री आँधीले भारतमा उत्पात मच्यायो । उक्त विनाशकारी चक्रवात आँधीलाई 'हुदहुद' नाम दिइएको थियो, जसले दर्जनौं व्यक्तिको ज्यान लियो भने हजारौं घरवारविहीन भए । दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशलाई उक्त चत्रवातले सबैभन्दा नराम्रोसँग प्रभावित तुल्याएको थियो । यसैगरी अक्टोबरमै जापानको ओकिनावा क्षेत्रमा पनि विनाशकारी आँधी आयो । आँधीका कारण केहिले ज्यान गुमाए भने, थुप्रै घाइते भए ।

यता हागुपिट नामक आँधीले पूर्वी फिलिपिन्समा पनि आतंक मच्चायो । उक्त आँधीका कारण ५ लाखभन्दा बढी मानिस घरवारविहीन भए ।

जापानमा शक्तिशाली ज्वालामुखी

सेप्टेम्बर महिनाको अन्तिम साता जापानको एक पहाडमा शक्तिशाली ज्वालामुखी विस्फोट भयो । ३ हजार ६७ मिटर अग्लो पहाड ओताकेमा ज्वालामुखी विस्फोट हुँदा तीन दर्जनले ज्यान गुमाए । उक्त पहाड चढ्न जानेहरू ज्वालामुखीको चपेटामा परेका थिए । शनिबारको दिन भएकाले धेरै जना उक्त पर्यटकीय आकर्षणको पहाड चढ्न गएका थिए ।

उत्तर अमेरिकामा हिम आँधी

नोभेम्बर महिनाको दोस्रो साता हिम तुफानले उत्तर अमेरिकाको जनजीवन नराम्रोसँग प्रभावित भयो । तुफानकै कारण अमेरिकामा दुई दर्जनभन्दा बढीको ज्यान गयो । ग्रेट लेक्सवाट निस्किएको हिमआँधीका कारण बफेलो क्षेत्रमा पाँच फिटसम्म हिउँ जमेको थियो । तीव्र हावा र हिउँले ढाकिएको सडकमा धेरै दुर्घटना पनि भए ।

प्रकाशित :पुस ११, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×