साप्ताहिक संवाददाता
चालक दलकासहित २ सय ९८ जना बोकेर आम्सटर्डमबाट क्लालालम्पुरका लागि उडेको विमान युक्रेनको सीमानजिक दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो । कुनै प्राविधिक त्रुटि नभेटिएको उक्त विमानमा क्षेप्यास्त्र प्रहार गरिएको समाचारमा उल्लेख थियो । उक्त घटनाको एक साता बित्न नपाउँदै एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त भयो । बुर्किनो फासोबाट अल्जेरियाका लागि उडेको एयर अल्जेरियाको विमान माली मलावानजिक मरुभूमिमा पूर्णरूपमा क्षतविक्षत अवस्थामा फेला परेको थियो । उक्त दुर्घटनामा ६ जना चालक दलका सदस्यसहित १ सय १६ जना यात्रुले ज्यान गुमाए । डिसेम्बरमा अमेरिकाको मेरिल्यान्ड प्रान्तमा सानो निजी विमान तीनवटा घरमा ठोक्किँदा ६ जनाले ज्यान गुमाउनुपर्यो ।
त्यसो त विमान दुर्घटनाका समाचारहरू वर्षभरी नै छाइरहे । साना-ठूला ती दुर्घटनामा कतिले ज्यान गुमाए भने कतिले अंगभंग हुनुपर्यो । यता दक्षिण कोरियामा पानी जहाज दुर्घटना ग्रस्त भयो । 'सेवल' नामक उक्त जहाज इन्च्छनबाट ४ सय ७७ यात्रु बोकेर गैरहेको थियो । अप्रिलमा भएको उक्त दुर्घटनामा धेरैले ज्यान गुमाए ।
त्यस्तै दक्षिण कोरियामै अर्को जहाज बेरिङ्ग सागरमा दुर्घटना ग्रस्त हुँदा ५० भन्दा बढी यात्रु हराए । ओरयांग नामको उक्त जहाज वुशान सहरबाट जुलाई महिनामा बोरिङ सागरतर्फ लागेको थियो ।
यता सडक दुर्घटनाको खवर पनि वर्षभरि छाइरहे । मे महिनामा भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा ३० जनाभन्दा बढीको मृत्यु भयो । उत्तर प्रदेशको कविर नगरस्थित चुरेव रेलवे स्टेसनमा गोरखधाम एक्सप्रेस दुर्घटना ग्रस्त भएको थियो । गोखरपुरबाट नयाँ दिल्ली हुँदै हिसारका लागि हिँडेको उक्त रेल प्लेटर्फममा सामान ओसार्ने मालगाडीसँग ठोक्किएको थियो । चीनको दक्षिण पश्चिम न्येमो प्रान्तमा यात्रुवाहक बस ट्रकसँग ठोक्किँदा ४४ जनाको मृत्यु भयो । बसमा धेरैजसो पर्यटक सवार थिए । यस्तै प्रकृतिको दुर्घटनामा पाकिस्तानमा ५५ जनाले ज्यान गुमाए । सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा बस ट्रकसँग ठोक्किएको थियो । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो ।
सवारी बाहेकका दुर्घटनाले पनि यसपालि धेरैको ज्यान लियो । पाकिस्तानको लाहौरमा मस्जिदको छत भत्किएर दुई दर्जनभन्दा बढीको मृत्यु भयो । दारोगावाला क्षेत्रमा अवस्थित उक्त मस्जिदमा ४० भन्दा बढी व्यक्ति नमाज पढ्न आएको वेला उक्त दुर्घटना भएको थियो । यता चीनको शेदोङ्ग प्रान्तमा एक फुड प्याकेजिङ फ्याक्ट्रीमा आगलागी हुँदा दुई दर्जनभन्दा बढीको जलेर मृत्यु भयो । लोंगुयान फुड कम्पनीमा राति लागेको उक्त आगलागीमा धेरैजना घाइते भए ।
चीनको पश्चिमी शिनझियांग प्रान्तमा एक कोइला खानीमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढीको ज्यान गयो । रातको समयमा खानीको मुख भत्किएर उक्त दुर्घटना भएको थियो । अक्टोबरमा भएको उक्त खानी दुर्घटनामा थुप्रै श्रमिक अंगभङ्ग भए । चीनकै एक मेटल कारखानामा भएको विस्फोटमा ६५ जनाले ज्यान गुमाउनुपर्यो ।
यता ताइवानको दोस्रो ठूलो सहर काओसिउंगमा ग्याँस लिक भएर लागेको आगलागीमा दुई दर्जनको ज्यान गयो । यसबाट १५ वटा घर पूर्ण ध्वस्त भए भने करिब ३ सय जना घाइते भए । त्यस्तै, चीनको दक्षिणी प्रान्त हुनानको स्कुल बस दुर्घटनामा आठ जना बालबालिकासहित ११ जनाको मृत्यु भयो ।
अमेरिकाको वासिंगटन राज्यको एक हाइस्कुलमा विद्यार्थीले आफ्ना सहपाठीमाझ अन्धाधुन्ध गोली बर्साएको घटनाले पनि सनसनी मच्यायो । स्कुलको क्यान्टिनमा भएको विवाद पछि ति विद्यार्थीले पेस्तोल निकालेर गोली चलाएका थिए । त्यसपछि उनी स्वंमले आफूलाई गोली हानेर आत्महत्या गरेका थिए । गोली लागेर एक विद्यार्थीको घटनास्थलमै मृत्यु भयो भने आधा दर्जन जति गम्भीर घाइते भए ।
चीनमा स्कुलका बालबालिकामाथि हमला हुने क्रम केही वर्षयता निरन्तर जारी छ । यस्ता घटनाबाट यो वर्ष पनि अछुतो रहेन । विद्यालय गैरहेका चार जना विद्यार्थीमाथि एक हतियारधारीले आक्रमण गर्दा तत्कालै तीन जनाको मृत्यु भयो । गम्भीर घाइते अर्का विद्यार्थीको उपचार गर्न लाने क्रममा बाटोमै मृत्यु भयो ।