साप्ताहिक संवाददाता
एम.
सर्वप्रथम त तपाइर्ंले आफ्नो घरझगडाका स्रोतहरू के-के हुन सक्छन् भनेर गम्भीरतापूर्वक विश्लेषण गर्नु आवश्यक छ । थुप्रै कारणले घरमा झैझगडा हुन्छ । दम्पतीबीच पनि बेलाबखत झगडा हुन्छ । झगडा तत्काल व्यवस्थापन भएको छ कि त्यसले निकै गम्भीररूप लिइसकेको छ ? दम्पतीबीच हुने झगडाका यस्ता पाटाहरू केलाउनु आवश्यक छ । झगडा जीवनका नकारात्मक पाटो हो, जसले मानिसलाई ठूला-ठूला दुर्घटनासम्म धकेल्छ । झगडा वा बेमेलका विषयहरूले दम्पतीलाई त अझ नकारात्मक असर पारेको हुन्छ । यसले मानसिक अवस्थामा समेत असर पार्छ । मनस्थितिमा असन्तुलन आउनासाथ शरीरले असजिलो महसुस गर्छ । नकारात्मक ग्रन्थीहरू सक्रिय हुन्छन् । शरीरले त्यही किसिमको रसायन उत्पादन गर्न थाल्छ । हँसिलो हुनुहोस्, शरीरले दिने प्रतिक्रिया फरक भैहाल्छ । जहाँसम्म दम्पतीको यौन गतिविधिमा पर्ने नकारात्मक प्रभावको कुरा छ, मानसिक स्वास्थ्यमा असर पर्नासाथ समग्र शरीरमा त्यसको नकारात्मक असर परिहाल्छ । दम्पतीको मुडमा नकारात्मक असर पर्छ । यौनसम्पर्कका लागि बन्नुपर्ने वातावरण वा परिवेश बन्न सक्दैन । एक-अर्काबीच मायामोहको स्थिति रहँदैन । यसले गर्दा झगडाको स्थितिमा रहने जोडीको यौनिक सम्बन्ध त्यति राम्रो हुँदैन । शारीरीक बनावट एवं मनोवैज्ञानिक असरका कारण दम्पतीको सम्बन्धमा प्रतिकूल असर परेको हुन्छ ।
दम्पतीबीचको यौनसम्बन्धले तनाव कम गर्छ भन्ने भनाइहरू विभिन्न संस्कृतिमा विद्यमान छन् । यस्तो अवस्थामा तनाव बढी भएको भन्ने विषयलाई आधार मानेर विभिन्न चलचित्र पनि बनेका छन् । यौनसम्बन्धले दम्पतीको जीवनमा भएको तनावलाई कम गर्छ कि गर्दैन भनेर अनुसन्धानहरू पनि भएका छन् । यौन क्रियाकलापले श्वासप्रश्वास, रक्तसञ्चार, नशा प्रणालीलाई आनन्द महसुस गराउँछ भन्ने विषयमा युनिभर्सिटी अफ सिफिल्डका रोय जे लेभिनले अनुसन्धान गरेका छन् । अनुसन्धानहरूले देखाएअनुसार पुरुषको वीर्यमा पाइने हार्मोनले महिलालाई आनन्द प्रदान गर्छ । त्यसैले कतिपय महिलाले यौन क्रियाकलापपछि मुड परिवर्तन भएको महसुस गर्छन् ।
अर्को एउटा अनुसन्धानमा ७५ जना रोमान्टिक जोडीलाई डायरी दिइएको थियो । उनीहरूले उक्त डायरीमा १८ हप्ता सम्म आफ्नो यौनसम्बन्धपछि २४ घण्टासम्म तनाव कस्तो छ भनेर लेख्नुपथ्र्यो । उनीहरूले यौनसम्पर्क भएका दिनहरूमा दिनभरि तनाव महसुस भयो कि भएन भनेर आफ्नो अनुभव विस्तृत रूपमा लेखेका थिए । यसैगरी अर्को अनुसन्धानले नियमित स्वस्थ यौनसम्बन्धले तनाव सामना गर्ने सीप बढ्ने कुरा उल्लेख गरेको छ । अर्को एक अनुसन्धान अनुसार जुन व्यक्तिले धेरै तनावको सामना गरेको हुन्छ उसले अर्को दिन यौनसम्बन्ध राख्ने सम्भावना धेरै हुने तथा त्यसपछिको अर्को दिन तनाव कम महसुस भएको बताएको थियो । बुझ्नुपर्ने कुरा के पनि छ भने अनुसन्धानमा राम्रो सम्बन्ध भएका जोडीलाई मात्र समावेश गरिएको थियो । नराम्रो सम्बन्ध भएका जोडीमा त समस्या हुन्छ नै । त्यसैले उनीहरूलाई समावेश गरिएको थिएन । विभिन्न किसिमका अनुसन्धान अनुसार यौनसम्पर्कले तनाव कम गर्न मद्दत गर्छ । त्यसैले तपाईंले सर्वप्रथम झगडाको स्रोत खोजेर त्यसको समाधानतर्फ लाग्नुपर्छ । श्रीमान्को अर्को सम्बन्ध स्थापित भएर पनि यौनसम्बन्धमा दरार उत्पन्न भएको हुनसक्छ, तर यति मात्र कारणले तपाईंहरूको यौनसम्बन्धमा असन्तुष्टि बढ्दै गएको नहुन सक्छ । त्यसपछि श्रीमान्सँग सोध्नुहोस कि किन सम्बन्धहरू मनमोहक हुन सकिरहेका छैनन् । आपसमा माया बाँड्नुहोस ।
रमाइला र मनमोहक स्थानहरूको भ्रमण गर्नुहोस्, यौनसम्बन्धी आनन्द र सन्तुष्टिका बारेमा पनि चर्चा गर्नुहोस । यौनसम्बन्धलाई कसरी आनन्ददायक बनाउन सकिन्छ भनेर आ-आफ्नातर्फबाट सक्दो प्रयास गर्नुहोस् । यसले तपाईंहरूको सम्बन्धमा परिवर्तन फरक ल्याउन सक्छ । यौनसम्बन्ध बिगि्रएका कारण निकै तनावको स्थितिमा हुनुहुन्छ भने मनोविद्हरूसँग परामर्श गर्न सक्नुहुन्छ ।