जंगल सफारी लजको लबीमा बसेर फ्री वाइफाईको उपयोग गरिरहेको थिएँ । एउटा फ्रान्सेली जोडीको मुखबाट सौराहा महोत्सवका बारेमा निस्किन्छ—अमेजिङ । अमेजिङ शब्दले मलाई बु्रनो मार्सको 'यू आर अमेजिङ' भन्ने गीतको सम्झना दिलाउँछ । जब तिमी मुस्कुराउँछौ, सारा संसार केही क्षण रोकिन्छ किनभने तिमीजस्ती छ्यौ अद्भूत छ्यौ ।
सनसेट हेर्नेहरूको ठूलो भीडमा म पनि कतै हराएको छु । सबै पर्यटक राप्तीको तीरमा रहेका बीच-बेडमा पल्टेर सूर्यास्तलाई आ-आफ्ना क्यामेरामा कैद गरिरहेका छन् ।
'ओहो, तपाइँ यहाँ,' काठमाडौँदेखिको कुनै परिचित भेटिन्छ ।
'किन ? काठमाडौँका मान्छे सौराहामा भेटिनु हुन्न ?' म प्रतिप्रश्न गर्न माहिर छु ।
परिचितहरू श्रृङ्खलाबद्ध रूपमा भेटिन थाल्छन् ।
फलाना, चिलाना, ढिस्काना । कति हुन् मान्छे ? संसार कति साँघुरो ?
बेलुकी डिनरपछि एकछिन बाहिर निस्कन मन लाग्छ । त्यसै पनि लबीमा बसेर फ्री वाइफाई उपभोग गर्नेहरूको संख्या तेब्बर भएपछि अघिसम्म बाघजस्तो इन्टरनेटको स्पिड कछुवा भैसकेको हुन्छ । डम्म हुस्सु लागेको छ । केही पसल खुल्ला छन्, अरू प्राय: सबै बन्द । सल्किरहेको चुरोेटसहित केही आउने जाने मान्छे भने परैबाट छुटिन्छन् । दृश्य एकदमै धमिलो छ ।
एकजोडी पर्यटक खुला सडकमै एक-आपसलाई चुम्बन गरिरहेका थिए । म नदेखेझैँ गर्न विवश भएँ, तर भित्र कता उनीहरूको चुम्बन चोर्नुजस्तो भैरहेको थियो ।
हात्तीदौडको अन्तिम दिन । गाडी, टाँगा, पैदल यात्री त्यहीँका लागि दौडिरहेका । मैदानमा विभिन्न स्टलहरू । भोकले सातो लिन लाग्यो । एउटा स्टलमा पसेर छिचरा -थारुहरूको भातजस्तै स्पेशल डिस) र हाँसको मासु खाइसकेपछि केही ऊर्जा आयो । कार्यक्रमका लागि हजारौँ मानिस मैदानमा घण्टौं कुरिरहेका छन्, तर कार्यक्रमले पूर्वराजालाई कुरिरहेको थियो ।
उनी नआई सुरु गर्नै नमिल्ने रे । मान्छेलाई त गलुन्जेल कुराए कुराए, बिचरा हात्तीहरू पनि मैदानमा कुर्दा-कुर्दा गलेर होला टुक्रुक्क बसे । हात्तीदौड र हात्तीका छावाको फुटबल प्रतियोगिताको फाइनल । बल्ल तल्ल उनी आइसकेपछि हल्लाखल्ला, उत्साह र पोल्ने घामका बीचमा सम्पन्न भयो सौराहा महोत्सव ।
अब काठमाडौँ र्फकनु थियो । र्फकंदा र्फकंदै बाटैमा एक अर्का परिचित भेटिए ।
'न्यू इयरसम्म बसिन्छ होला नि ?' परिचित सोध्छन् ।
भुसुक्कै बिर्सेको न्यू इयर आउँदैछ भन्ने कुरा त । आफ्नो दिमाग त हात्तीमा मात्र केन्दि्रत भएको रहेछ ।
'बसिन्न,' भन्ने जवाफ दिएर म उम्किन खोजेँ ।
उनले मलाई छाडेनन् । सोधे, 'अनि सरको न्यू इयर रिजोलुसन के छ ?'
ओहो ! साँच्ची, मेरो न्यू इयर रिजोलुसन के छ हँ ? दुई जनाबाट छिनको छिनमै मलाई यो प्रश्न गरियो । एउटा त्यही मित्र, अर्को म आफैँ । जीवनका अनगिन्ती नयाँ वर्षहरूमा कहिल्यै 'न्यू इयर रिजोलुसन' भनेर केही बनाइएन । बनाए त सधैँ लाइफकै रिजोलुसन बन्छ । हरेक दिन । हरेक हप्ता । हरेक पल । हरेक फेर्ने नयाँ सासमा नयाँ उमँग नयाँ सोच नयाँ ऊर्जा बन्न सक्छ ।
मैले ती परिचितलाई भनेँ, 'नयाँ वर्षको मात्र होइन मित्र, मेरो जीवनभरि सधैँ दुइटा रिजोलुसन छ । सधैँ राम्रो लेख्ने र खुसी हुने ।'
परिचित मित्रले मेरा कुरामा समर्थनमूलक भाव देखाए ।
आ-आफ्नो सोच हो । मैले कहिल्यै नयाँ वर्ष भनेर केही रिजोलुसन बनाइनँ । रिजोलुसन, समय र परिस्थितिको मागअनुसार आफैँ बन्दै जान्छन् । भन्नैपर्दा मैले एउटा नयाँ लभ स्टोरीको थालनी गरिसकेको छु, अर्को सालसम्म सार्वजनिक गर्ने हिसाबमा । सम्भवत: नजानिँदो पारामा मैले पनि न्यू इयर रिजोलुसन बनाइरहेको हुँदो हो ।