साप्ताहिक संवाददाता
फिल्मफेयरमा सुनिल
भारतको प्रतिष्ठित फिल्मफेयर एवार्डको ६० औं श्रृंखलामा नेपाली अभिनेता सुनिल थापा मनोनीत भएका छन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र 'मेरी कोम' बाट कलाकार थापा एवार्डको उत्कृष्ट सह-अभिनेताको विधामा मनोनयनमा परेका हुन् । वर्ष २०१४ का उत्कृष्ट हिन्दी चलचित्रहरूमध्येको एक 'मेरी कोम' मा सुनिलले बक्सिङ गुरुको भूमिका निभाएका छन् ।
'अझै पनि’को ट्रेलर
फागुन १५ गतेदेखि प्रदर्शन हुने चलचित्र 'अझै पनि' को फस्टलुक पोस्टर तथा टे्रलर सार्वजनिक भएको छ । दिवंगत निर्देशक स्व.आलोक नेम्वाङको यो अन्तिम चलचित्रको टे्रलर सार्वजनिक गर्नुअघि चलचित्रका नायक सुदर्शन थापा तथा नायिका पूजा शर्माले स्टेजमा चलचित्रको एउटा रोमान्टिक दृश्यलाई अभिनयमार्फत प्रस्तुत गरेका थिए ।
कलेजमा आभाष
आगामी शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र 'आभास' ले काठमाडौंका विभिन्न कलेजमा पुगेर विद्यार्थीहरूसँग अन्तक्रिर्या गरेको छ । यो चलचित्रका कलाकार सलोन बस्नेत, आस्मा डिसी, गोविन्द शाहीसहितको समूहले विभिन्न कलेजको भ्रमण गरेको हो ।
रोल्पामा कार्यशाला
अखिल नेपाल चलचित्रकर्मी संघले रोल्पाको सदरमुकाम लिवाङमा 'अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला-२०७१' आयोजना गर्ने भएको छ । चलचित्रकर्मीहरूको सीप, क्षमता तथा अनुभवलाई समृद्ध बनाउन तथा नेपाली चलचित्रको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय स्तरको कार्यशाला गर्न लागिएका हो । भारत तथा इजिप्टका चलचित्रकर्मीले प्रशिक्षण दिने कार्यशाला माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।
माघ २ मा इच्छा
माघ २ गतेदेखि प्रदर्शन हुने चलचित्र 'इच्छा' ले काठमाडौंमा एक औपचारिक समारोह आयोजित गर्दै अभिनेता भुवन केसीलाई सम्मान गरेको छ । चलचित्रको गीति-संग्रहको विमोचन समेत गरिएको उक्त समारोहमा अभिनेता केसीले चलचित्र क्षेत्रमा दिएको योगदानको चर्चा गरिएको थियो ।
लोग्ने मान्छेका कुरा
लय संग्रौलाद्वारा निर्देशित पहिलो चलचित्र 'लोग्ने मान्छे' को गीतिएल्बम सार्वजनिक गरिएको छ । दिलीप रायमाझी तथा नन्दिता केसीले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रमा पुरुषबाट प्रताडित हुने नारीको कथालाई मुख्य विषय बनाइएको छ । चेतन सापकोटाको संगीत रहेको चलचित्रका चारवटा गीतमा स्वरूपराज आचार्य, दीपक लिम्बू, माण्डवी त्रिपाठी, इन्दिरा जोशी तथा अन्जु पन्तको पाश्र्व गायन छ ।
बन्दैछ रातोघर
हास्य कलाकार विल्सन विक्रम राईले निर्माण गर्ने चलचित्रको शीर्षक 'रातो घर' राखिएको छ । यसै साता छायांकन प्रारम्भ हुने यो चलचित्रको निर्देशन सुरज सुब्बा नाल्बोले गर्दैछन् । चलचित्रमा विल्सनविक्रम राई, गौरव पहाडी, संयम पुरी, माला लिम्बु, जितेन तामाङ, विकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बू आदि कलाकारले अभिनय गर्नेछन् ।