नेपालकै पहिलो मोटरसाइकल रियालिटी शो 'पल्सर डेयर भेन्चर' को पहिलो संस्करण सम्पन्न भएको छ । कान्तिपुर टेलिभिजनबाट प्रसारित यो श्रृङ्खलाबद्ध कार्यर्क्रममा ८ सयभन्दा बढी राइडरबाट चयन भएका एक महिला तथा नौ पुरुष गरी दस जनाको सहभागिता थियो । उक्त शोका क्रममा सहभागी राइडरहरूले विभिन्न साहसिक एवं जोखिमपूर्ण कार्यहरू गरेका थिए । त्यस क्रममा उनीहरू पल्सर मोटरसाइकलमा उपल्लो मुस्ताङसम्म पुगेका थिए । यो टेलिभजन रियालिटी शोको सञ्चालक गायक रविन तामाङ एवं अभिनेत्री निशा अधिकारी थिए । गत शनिबार राजधानीस्थित होटल सोल्टी क्राउन प्लाजामा एक समारोहबीच यो कार्यक्रमको समापन गरियो, जसअन्तर्गत सहभागी राइडहरूमध्येबाट सर्वाधिक साहसी राइडर अनिलकुमार कुशवाह, सर्वाधिक अनुशासित राइडरका रूपमा अकिब अब्दुल अतिकी तथा सर्वाधिक लोकप्रिय राइडरका रूपमा सन्तोष अधिकारीलाई पुरस्कृत गरिएको थियो । सहभागी सबै राइडरले पल्सरको १ सय ८० सीसीको मोटरबाइक प्राप्त गरे । यो कार्यक्रमको सिक्वेल निकट भविष्यमै सञ्चालन हुने बताइएको छ ।