अहिले हात्तीलाई मात लाग्ने समय पनि हो । मात लाग्ने समयमा हात्ती हिंस्रक हुन्छ । यो समयमा सहवास गर्न नपाउँदा हात्ती आक्रामक बन्छ । हात्तीको आँखा र कानको बीच भागबाट कालो चिल्लो पदार्थ आउँदा हात्तीलाई मात लाग्छ । यो बेला भाले हात्तीलाई पोथीले आवाज दिएर बोलाउँछन् । ३५ वर्षको रोनाल्डो अहिले सौराहामा भएका पोथी हात्तीसँग सहवास गरी बस्तीमा पस्ने गरेको छ । 'सहवासपछि हात्ती भोकाउँछ,' चितवन निकुञ्जका पशु चिकित्सक कमल गैरे भन्छन्, 'त्यसैले आहारा खोज्दै गाउँ पस्छ ।'
यसरी गाउँमा पस्दा हात्तीले भौतिक तथा मानवीय क्षति पुर्याउँछ । कात्तिकदेखि जेठसम्म हात्तीलाई मात लाग्छ । केही समयअघि रोनाल्डोले सौराहाका होटल तथा घरहरूमा क्षति पुर्याएको थियो । अन्न खोज्दै र पोथी हात्तीलाई भेट्न जाँदा सामान्य क्षति भएको थियो । सहबासका क्रममा हात्तीलाई शक्ति चाहिन्छ । त्यसैले शक्ति बढाउन सहवासपश्चात् आहाराको खोजीमा हुन्छ । झन्डै एक दशकदेखि यो हात्ती सौराहा आसपासको क्षेत्रमा सक्रिय रहँदै आएको छ ।
२००२ मा विश्वकप भैरहेको समयमा ब्राजिलका चर्चित फुटबलर रोनाल्डोले गोलको वर्षा गरिरहेका थिए । त्यही बेला यता यो हात्ती सक्रिय थियो । धेरै सहवास गर्ने भएकाले यसको नाम 'रोनाल्डो' राखिएको पशु चिकित्सकहरू बताउँछन् ।