बुटवल मण्डपमा १६ दिनसम्म चलेको तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव गत मंगलबार सम्पन्न भएको छ । प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमअन्तर्गत लोकदोहोरी, आधुनिक, पप एवं हास्य विधाका दुई दर्जनभन्दा बढी कलाकारले आ-आफ्नो प्रस्तुतिमार्फत पर्याप्त मनोरञ्जन प्रदान गरेका थिए । प्रदर्शनीमा पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, चन्द्र शर्मा, नवीन पौडेल, कृष्ण देवकोटा, शिरीष देवकोटा, खुमन अधिकारी, मन्जु पौडेल, रामजी खांण, बद्री पंगेनी, पशुपति शर्मा, देवी घर्ती, टीका पुन, पुर्णकला बीसी, कृष्णा गुरुङ, सपना गाहा, प्रचण्ड जीसी, अनुराधा घर्ती, बालचन्द्र बराल, कला पंगेनी आदिले लोकसंगीतका पारखीहरूलाई छमछमी नचाए । आधुनिकतर्फका रामकृष्ण ढकाल, हेमन्त शर्मा, मल्लिका कार्की, शिव परियार, रूपक डोटेल, रामचन्द्र काफ्ले, जुनु रिजाल, आकांक्षा बस्याल, सनुप पौडेल, वीरेन्द्र अग्रहरी, पुश्कल शर्मा आदिले दर्शकहरूलाई झुमाए भने मनोज गजुरेल, रोहित कार्की, विष्णुजी पाण्डे आदि कलाकारले प्रहसन एवं क्यारिकेचरमार्फत सबैलाई हँसाए । स्थानीय विद्यालयस्तरीय लोकनृत्य, विभिन्न जनजातिका मौलिक संस्कृति झल्काउने सालैजो, मयूर नाच तथा देउडाले पनि मनोरञ्जन प्रदान गरेको थियो ।