साप्ताहिक संवाददाता
पढ्नुको महत्त्व
विद्यार्थीका लागि फलामे गेट मानिएको प्रवेशिका परीक्षामा उनी फेल भए । तेह्रथुमजस्तो दुर्गम गाउँको विद्यालय, गलत साथीहरूको संगत तथा पढाइको महत्त्व बुझाउने मान्छेको अभावका कारण उनले पढाइलाई कहिल्यै महत्त्व दिएनन् । उनी समय काट्न मात्र विद्यालय जान्थें । झापातिर परिवारको जग्गा-जमिन थियो, स्कुल जान अल्छी लाग्यो भने तराई झरेर बरालिन्थे । फलस्वरूप उनी एसएलसीमा तीन विषयमा अनुत्तीर्ण भए । एसएलसीमा असफल हुँदा पनि उनलाई दु:ख लागेन । किनभने उनले पढाइको महत्व बुझेका थिएनन् । बरु पढ्नु नपर्ने भएकाले झापा र विराटनगर डुल्न थाले । उनलाई संगीतमा निकै रुचि थियो । शास्त्रीय संगीतको तालिम लिन थाले । दुई वर्ष यसरी हल्लिएपछि उनलाई लाग्यो, मान्छे जतिसुकै असल भए पनि नपढेको मानिसलाई समाजले असल मान्दो रहेनछ । उनका साथीहरू स्नातक तहमा पुगेपछि भने उनलाई पढ्नैपर्छ भन्ने लाग्यो । पहाड गएर आफूभन्दा कम उमेरका विद्यार्थीहरूसँग पढ्न संकोच लाग्यो । यहीबेला उनले साप्ताहिकमा प्राइभेटबाटै एसएलसी परीक्षा दिन सकिने खबर पढे । त्यही समाचार पच्छ्याउँदै उनी काठमाडौं आए । साथीको सहयोगले र्फम भरे र मेहनत गरेर पढे । नभन्दै एसएलसी उत्तीर्ण पनि भए ।
नामको महत्त्व
पढेर मात्र हुँदैन, पैसा पनि कमाउनुपर्ने रहेछ । समाजमा जसले बढी पैसा कमाएको छ, उसैलाई महत्त्व दिइएको देखेपछि उनी पैसा कमाउने बाटो खोज्न थाले । प्रवेशिका मात्र उत्तीर्ण, कुनै अनुभव नभएको गाउँले मान्छेले के गर्ने ? कुनै बाटो पाएनन् । विराटनगरमा संगीत सिक्दा उनको विद्यालयमा अतिथि भएर आएका थिए- स्वामी प्रपन्नाचार्य । उनी ठूला व्यक्ति हुन् भन्ने थाहा पाएका दीपकले उनीसँग जागिर खोजिदिन आग्रह गरे । प्रपन्नाचार्यले उनलाई निजी सहायक बनाएर राखे ।
स्वामी प्रपन्नाचार्यको संगतमा दीपकले के थाहा पाए भने मानिसको जीवनमा पैसाको भन्दा नामको महत्त्व छ, अनि नामको भन्दा समाजसेवाको महत्त्व छ । प्रपन्नाचार्यलाई त्यो बेला धेरै संघसंस्थाले सम्मान र पुरस्कार दिइरहन्थें । जुन दिन जति पैसा हात पथ्र्यो स्वामी त्यो पैसा त्यसै दिन दान गरिदिन्थे । नगद पैसा आफूसँग नराख्ने यस्ता योगीको संगत गर्दै जाँदा उनले बुझे, सबैभन्दा खुसी आत्मसन्तुष्टिमा छ । उनी आफू सन्तुष्ट हुने ठाउँ खोज्न थाले । यसबीच समाजसेवा नै सन्तुष्ट हुने बाटो देखे । आफन्तहरू उनको डुलिहिड्ने बानीबाट दिक्क थिए । समाजसेवाको माध्यमबाट पनि दीपकमा स्थिरता आउँछ भने केही लगानी गर्न तयार भए । यहि बाटोमा जन्मियो- घर आँगन नेपाल ।
फेरि पनि दु:ख त छँदैछ
रहर गर्नु एउटा कुरा, साँच्चै नै समाजसेवा गर्नु फरक कुरा हो । मावलीबाट ८ लाख रुपैयाँ ऋण लिएर समाजसेवामा हात हालेका दीपकले सहरमा मागी हिँड्ने धेरै दृष्टिविहीन, अपाङ्ग एवं रोगी मान्छे भेटें । उनीहरूलाई आफ्नो संस्था लान खोज्दा उनले थाहा पाए, उनीहरू कुनै संस्थासँग आबद्ध भएरै माग्न आउँदा रहेछन् । यसरी जम्मा भएको रकममध्ये आधा संस्थाले र आधा माग्नेले नै राख्ने चलन रहेछ । त्यसैले मान्छे पनि पाएनन् । उनी त्यस्तो सेवा गर्न पनि चाहँदैनथे । करिब ६ महिना र ८ लाख खर्च गरेपछि गाउँ-गाउँमा रहेका १७ जना दृष्टिविहीन, अपाङ्ग तथा गरिब ज्येष्ठ नागरिक फेला पारे । त्यो बेलासम्म मामाले दिएको पैसा सकिएको थियो । काम अगाडि बढाउन पैतृक सम्पत्तिबाट पाएको अंश बेचिदिए ।
अहिले उनीसँग सम्पत्तिको नाममा एक टुक्रा जग्गा पनि छैन । तैपनि २० जना व्यक्तिको रेखदेख गरिरहेका छन् । गैरआवासीय नेपाली अस्ट्रेलिया शाखा तथा ओम हेल्थ फाउन्डेसनले सहयोगको चासो देखाइरहेको छ, तर पनि उनी संस्था चल्छ भन्ने कुरामा विश्वस्त छैनन् । अहिले उनी ३२ वर्षका भए, विवाह पनि गरेका छैनन् । 'जिन्दगी अहिलेसम्म प्रयोग गर्दै बित्यो, अगाडि पनि यसैगरी बित्ला भन्ने आशा राखेको छु ।' भविष्यप्रति लापरबाहझैं देखिएका दीपकले भने, 'जुन दिन सहयोग जुट्न बन्द हुन्छ, फेरि नयाँ बाटो समात्छु, किनभने संसार निकै ठूलो छ ।'