भाषामाथिको राम्रो पकडले लोकसेवा आयोगको परीक्षामा मात्र होइन, जीवनका प्रत्येक क्षेत्रमा अहं भूमिका निर्वाह गर्छ । भाषा हाम्राे सोचलाई अभिव्यक्त गर्ने एउटा माध्यम हो । जब हामी कुनै विषयमा बोल्छौं वा लेख्छौं भने उक्त विषयविशेषका साथै भाषाको शब्द छनोट, वाक्य संरचना, व्याकरण आदिमाथि पनि विशेष ध्यान दिनुपर्छ । भाषाको महत्व लोकसेवा आयोगको परीक्षामा मात्र होइन कि जीवनका अन्य क्षेत्रमा पनि उत्तिकै छ । बैंकिङ तथा वित्तीय, शिक्षक सेवा, रक्षा सेवा, प्रशासनिक सेवा, बहुराष्ट्रिय कम्पनी आदि सबै सेवा एवं क्षेत्रको परीक्षामा भाषाको विशिष्ट महत्व रहँदै आएको छ ।
भाषाको प्रयोग
भाषाको प्रयोग प्रत्येक व्यक्तिले गर्छ, तर सामान्य मानिसको भाषा र शिक्षित व्यक्तिको भाषामा अन्तर हुन्छ । सामान्य बोलचालको भाषा र विषयविशेषको भाषामा पनि पर्याप्त अन्तर हुन्छ । सामान्य भाषाले व्याकरणको नियम अथवा वाक्य संरचनाको ख्याल गर्दैन जब कि विषयविशेषको भाषाको आफ्नै अनुशासन र आशय हुन्छ । जस्तो इतिहास, भूगोल, अर्थशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, विज्ञान आदि विषयको आ-आफ्नै विशेष शब्दावली छन् । यी विषयको धेरैजसो शब्द आममानिसद्वारा प्रयोगमा ल्याइँदैन । यसैप्रकार चिकित्सा, इन्जिनियरिङ, रक्षा सेवा आदिसँग सम्बन्धित विशेष शब्द हुन्छन् जसको प्रयोग सम्बन्धित व्यक्तिले मात्र गर्छन् । यिनै शब्दलाई विशेष भाषा भनिन्छ । लोकसेवा आयोगको परीक्षाका लागि यो विशेष भाषाको स्तरीय ज्ञान अति आवश्यक छ । भाषा क्षमतालाई समृद्ध गर्न ज्ञानका विविध विषय र त्यसको शब्दावलीप्रतिको सजगता आवश्यक छ ।
भाषा-क्षमताको आशय
भाषा-क्षमताको अर्थ हामी जे भन्न वा लेख्न चाहन्छौं, त्यसलाई बिना कुनै गल्ती अभिव्यक्त गर्नु नै हो । व्याकरणको बुझाइ, पर्याप्त शब्द-सम्पदा र शब्द प्रयोग आदि केही यस्ता गुण छन् जसका आधारमा आफ्नो अभिव्यक्तिलाई बलियो र प्रभावशाली बनाउन सकिन्छ । भाषा क्षमताको अर्थ कुनै भाषाको प्रयोग हामी कति साधिकार गर्छौं अथवा हामी जे कुरा बोल्न वा लेख्न चाहन्छौं त्यसलाई पूर्ण रूपमा व्यक्त गर्न कति सक्षम छांै भन्ने पनि हो । प्राय: हामी भाषाको प्रयोग त गर्छौं तर हाम्रो भाषा क्षमता कस्तो छ त्यसको आँकलन कमै गर्छौं । भाषा क्षमताको अभिप्राय अलंकृत भाषाको प्रयोग होइन । पहिले अलंकारिक भाषाको प्रयोगलाई विद्वताको पर्याय मानिन्थ्यो, तर आज आधुनिक लेखनमा सहज र सम्प्रेषणीय भाषाको प्रयोगलाई महत्त्व दिइन्छ, त्यसैले आज नेपाली मात्र होइन कि संसारका सबै भाषा सरलता र सहजतातर्फ बढिरहेका छन् । केही परीक्षार्थी कठिन शब्दमा विश्वास गर्छन् । यिनले केही कठिन शब्दलाई संग्रह गर्छन् र तिनै शब्दलाई आफ्नो लेखनमा यथासम्भव प्रयोग गर्छन्, तर बिना सन्दर्भको कठिन र अप्रत्याशित शब्दको प्रयोगले वाक्य रचनामा अनेकौं अशुद्धि देखा पर्छ, जसले परीक्षकमाथि प्रतिकूल असर पार्छ ।
भाषाको भूमिका
लोकसेवा आयोगको परीक्षाको तीनवटै चरणमा भाषाको अहं भूमिका रहिआएको छ । यद्यपि प्रारम्भिक परीक्षामा लेख्ने आवश्यकता पर्दैन, किनभने त्यहाँ सबै प्रश्न बहुवैकल्पिक हुन्छन् जसमध्ये कुनै एउटा सही उत्तरको छनौट गर्नुपर्छ, तर पनि बहुवैकल्पिक प्रश्न यस्ता हुन्छन् जसलाई बुझ्न सकिएन भने उत्तर गलत हुने सम्भावना हुन्छ । तार्किक योग्यतासँग सम्बन्धित बढीभन्दा बढी प्रश्नको उत्तर दिन त्यसलाई पूर्ण रूपमा बुझ्नुपर्ने हुन्छ । यस्ता प्रश्नहरू हल गर्दा सतर्क रहनुपर्छ । यदि भाषामाथि राम्रो पकड छ भने यस्ता प्रश्नलाई सजिलै हल गर्न सकिन्छ ।
लिखित परीक्षाको प्रारम्भ निबन्ध-लेखनबाट हुन्छ । यसमा भाषा ज्ञानलाई नै परीक्षण गरिन्छ । लिखित परीक्षामा नाम निकाल्न निबन्धात्मक प्रश्नको अंक धेरै सहयोगी सावित हुनसक्छ । विषय विशेषको जानकारी त सबै परीक्षार्थीलाई हुन्छ नै, तर त्यसको प्रस्तुतीकरणले अंक प्राप्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले प्रस्तुतिमा भाषाको भूमिका अहं हुन्छ । कतिपय अवस्थामा विषयवस्तुको ज्ञान हुँदाहुँदै पनि भाषा प्रस्तुतीकरणको अभावमा अपेक्षित सफलता प्राप्त हुन सक्दैन ।
अन्तर्वार्तामा पनि भाषाको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । यदि कसैको मौखिक भाषाशैली विशिष्ट छ भने उसले प्रभावशाली तरिकाले आफ्नो भावना व्यक्त गर्न सक्छ । अन्तर्वार्तामा सोधिएको प्रश्नको उत्तर राम्रोसँग जान्दा-जान्दै पनि यदि कसैले त्यसलाई राम्रोसँग अभिव्यक्त गर्न सकेन भने उसले निराश हुनुपर्ने हुनसक्छ । वस्तुत: अन्तर्वार्ता ज्ञानको परीक्षा नभएर उम्मेदवारको बुझाइ र अभिव्यक्तिको मूल्यांकन हो ।
भाषाकौशलको विकास
यदि कोही लेखनकलामा निपुर्ण छ भने उसको लेख सधैं प्रभावशाली हुन्छ चाहे उसले लोकसेवा आयोगको परीक्षामा लेखिरहेको होस् वा जीवनको अन्य क्षेत्रमा, तर लेखन कलामा उक्त निपुर्णताको विकास अचानक वा केही दिनमै प्राप्त गर्न सकिँदैन । यसका लागि निरन्तर अभ्यासका साथै केही यस्ता उपाय छन् जसको मद्दतले भाषाशैलीलाई बढीभन्दा बढी प्रभावशाली बनाउन सकिन्छ ।
१. प्रत्येक दिन नयाँ शब्द सिक्नुपर्छ ।
२. गहन अध्ययन गर्न र त्यसलाई बुझ्न व्याकरणमा विशेष ध्यान दिनुपर्छ ।
३. भाषाको माध्यमबाट अवलोकन क्षमताको विकास गर्नुपर्छ ।
४. कुनै तथ्य र सूचनालाई विश्लेषण गर्न तथा त्यसबाट निष्कर्ष निकाल्ने क्षमताको विकास गर्नुपर्छ ।
६. भाषा संरचना, शब्दावली र त्यसको व्यावहारिक पक्षको ज्ञान आवश्यक छ ।
७. लेखनमा शब्दसीमा उल्लंघन गर्नु हुँदैन ।
८. न्यूनतम शब्दमा अधिकतम भाव व्यक्त गर्दा बिन्दु शैली अपनाउनुपर्छ ।
९. प्रस्तावना र उपसंहारमा बढी समय खेर फाल्नु हुँदैन ।
अन्तर्वार्ताको माध्यम
अन्तर्वार्ताको माध्यम नेपाली भाषा हो तर आजभोलि अंग्रेजीको प्रयोग पनि हुन थालेको छ । विश्व्यापीकरणको प्रभावले अंग्रेजी भाषा अहिले सबैको भाषा बन्दै गएको छ । भाषा चाहे नेपाली होस् वा अंग्रेजी राम्रो संवाद कुन भाषामा हुन्छ त्यही भाषा उम्मेदवारले छनोट गर्नु उपयुक्त हुन्छ ।
तनावबिना परीक्षाको तयारी
परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरूमा एक किसिमको तनाव उत्पन्न हुन्छ । के पढ्ने, के नपढ्ने द्विविधा हुन्छ । सोचेजस्तो नतिजा आएन भने के गर्ने ? भन्ने कुराले पनि उत्तिकै चिन्ता बढाइरहेको हुन्छ । यद्यपि यस किसिमको तर्क-वितर्कले तनाव बढाउनेबाहेक केही गर्दैन । त्यसैले यतिबेला सही ढंगले अभ्यास गरियो भने नतिजा सोचेजस्तै आउन सक्छ ।
उपयुक्त वातावरण
अध्ययन प्रारम्भ गर्नुअघि सुनिश्चित गरौं कि के पढ्ने कोठाको वातावरण सही छ ? ओछ्यानमा बसेर पढ्नु राम्रो होइन । पढाइका लागि स्टडी टेबल नै उपयुक्त हुन्छ । कोठामा पढाइमा बाधा पुग्ने किसिमका सामग्रीहरू राख्नु हुँदैन । सकेसम्म खुला, उज्यालो र हावा सहज रूपमा आवत-जावत गर्ने कोठा उपयुक्त हुन्छ ।
निद्रा पूरा भएन भने पढेको कुरा ग्रहण गर्न गाह्रो हुन्छ, त्यसैले हरेक रात कम्तीमा ७ घण्टा राम्रोसँग निदाउनुपर्छ । अध्ययनका क्रममा मोबाइल चलाउन, टिभी हेर्न एवं संगीत सुन्न बन्द गरौं । उक्त अवधिमा फेसबुक प्रयोग नगरौं । यसले अध्ययनमा एकग्रता हुन दिँदैन ।
अभ्यासले बढ्छ एकाग्रता
एकैपटक धेरै च्याप्टर पढ्दा पाठ याद गर्न गाह्रो हुनुका साथै तनाव पनि बढ्छ । त्यसैले सरल ढंगले अभ्यास गरौं । दैनिक एक वा दुई च्याप्टर पढौं तर, पढिएको पाठ राम्रोसँग याद हुनुपर्छ ।
पढ्ने प्रभावकारी उपाय
नोटबुक एवं पुस्तकको महत्त्वपूर्ण वाक्य/शब्दलाई हाइलाइटरले मार्क गरौं । यसले मस्तिष्कमा भिजुअल मेमोरी बनाउन मद्दत गर्छ । पढिसकेको पाठबाट महत्वपूर्ण वाक्य छनौट गरेर छुट्टै कपीमा लेखौं ।
थाकेको मस्तिष्कलाई आराम दिन बेला-बेला ब्रेक लिनुपर्छ । त्यतिबेला गहिरो सास लिनुपर्छ । यस्तो ब्रेकमा मनपर्ने संगीत सुन्न सकिन्छ, हल्का स्न्याक्स खान तथा १० मिनेटजति बाहिर हिँड्न सकिन्छ । त्यसपछि नयाँ ऊर्जाका साथ पढाइ सुरु गर्नुपर्छ । यद्यपि ब्रेकका क्रममा टिभी हेर्नु, भिडियो गेम खेल्नु वा मोबाइलमा कुराकानी गर्नु हुँदैन, किनभने त्यसले तनाव वढ्न सक्छ ।
रिभिजन आवश्यक
मनोवैज्ञानिकहरूले गरेको शोधअनुसार पढेको २४ घन्टा पछि हामी त्यसलाई बिर्सन थाल्छौं । केहि दिन वा हप्ता बितेपछि भुल्ने क्रम अझ बढ्छ । त्यसैले विद्यार्थीले १, २, ७, १५ वा ३० दिनपछि पढिएको च्याप्टर रिभिजन गर्नुपर्छ । यस क्रममा पुरै पाठ छिचोल्नुपर्छ भन्ने छैन । बरु नोट एवं च्याप्टरमा हाइलाइट गरिएको कुरा दोहोर्याउनु पर्छ ।
आफ्नो परीक्षा आफै लिने
स्व-मूल्यांकनले आफ्नो गल्ती सुधार्ने मौका मिल्छ । त्यसैले हप्तामा एकपटक आफैले आफ्नो परीक्षा लिनुपर्छ । यस किसिमको अभ्यासले लेखन शैली सुधार हुनुका साथै आत्मविश्वास पनि बढ्छ ।
परीक्षा हलमा के गर्ने
प्रश्नपत्र ध्यानपूर्वक पढिसकेपछि मात्र जवाफ दिन थाल्नुपर्छ । यदि कुनै प्रश्न कठिन लागेको अवस्थामा त्यसलाई छाडेर दोस्रो प्रश्न हल गर्नुपर्छ । सहपाठीहरूको गतिविधिप्रति ध्यान दिनु हँुदैन । उनीहरूले कति कपी थपे भन्ने कुराको गणना गर्नु हुँदैन । मौलिक जवाफ लेख्नुपर्छ ।
तनावरहित हुने
परीक्षा दिइसकेपछि साथीसँग प्रश्नपत्रका बारेमा चर्चा नगरौ । परीक्षा केवल मूल्यांकन गर्ने एउटा विधि मात्र हो, जसवाट वर्षभर विद्यार्थीले कति कुरा जानेको छ भन्ने थाहा हुन्छ । प्राप्त अंक थोरै भयो भनेर पनि चिन्ता लिनु आवश्यक छैन । बरु, शिक्षक एवं अभिभावकसँग आग्रह गरौं कि, सही ढंगले पढ्न उनीहरूले सहयोग गरून् ।
— शिव