एक्सन
मैले अहिलेसम्म अभिनय गरेका अधिकांश चलचित्रमा प्रेमिका तथा श्रीमतीको भूमिका निर्वाह गर्दै आएकी छु । एकै प्रकारको भूमिका निर्वाह गर्दा दर्शकलाई पनि नरमाइलो लाग्न सक्छ भन्ने सोचिरहेको बेला चलचित्र 'एक्सन' बाट प्रस्त्ााव आयो । चलचित्रको शीर्षकअनुसार नै मैले यसमा एक्सन लेडीको भूमिका निर्वाह गर्नुपर्ने भयो । यसअघि चलचित्रका द्वन्द्व दृश्यमा काम नगरेकाले मलाई फाइट खेल्न आउँदैनथ्यो, तर यो चलचित्रमा प्रस्ताव आएपछि मैले फाइटको औपचारिक प्रशिक्षण लिएँ ।
क्यारिकेचर
म राम्रो क्यारिकेचर गर्न सक्छु भन्ने कुरा मेरो परिवारका सदस्यबाहेक अरू कसैलाई जानकारी छैन । अधिकांश हास्यकलाकारले झैं म पनि धेरै जनाको क्यारिकेचर गर्न सक्छु । मैले आजसम्म कुनै पनि निर्देशकलाई मेरो यो खुबीका बारेमा बताएकी छैन ।
गायिका
म कुशल 'बाथरुम सिंगर' हुँ भन्ने कुरा मलाई नजिकबाट चिन्ने धेरैलाई जानकारी छ । निकट भविष्यमै म गायिकाका रूपमा समेत श्राेतामाझ आउँदैछु भन्ने कुरा भने कसैलाई पनि थाहा छैन । फुर्सद भएको बेला गुनगुनाइरहने मेरो स्वभावका कारण पनि मैले गीत गाउने प्रस्ताव पाएकी हुँ जस्तो लाग्छ । निर्माणको क्रममा रहेको एउटा नयाँ चलचित्रका लागि मैले एउटा आईटम गीत गाउने प्रस्ताव पाएँ र यतिबेला म त्यही गीतको अभ्यास गरिरहेकी छु ।
डर
हरेक मानिसलाई कुनै न कुनै कुराको डर लाग्छ । मलाई भने केवल एउटा कुराको मात्र डर लाग्छ, त्यो हो- हवाईजहाजको यात्रा । हवाईजहाजको यात्रा गर्नुपर्ने भयो भने मेरो जीउभरी काँडा उम्रन्छ । कतिपय ठाउँसम्म पुग्न हवाई यात्रा अनिवार्य हुन्छ, त्यतिबेला म असाध्यै डराउँछु । एयरपोर्टबाट उडेर ल्यान्ड नहुन्जेल म भगवान्को नाम जपिरहन्छु । सकुशल ल्यान्ड भएपछि 'भगवान्लाई धन्यवाद' भन्छु ।
व्यायाम
शारीरिक सुन्दरता तथा तन्दुरुस्तीका लागि व्यायाम अति नै आवश्यक छ । म हरेक दिन बिहान एक-एक घण्टा नियमित व्यायाम गर्छु । मेरो शरीर 'स्लिम' हुने कारण पनि नियमित व्यायाम नै हो ।
फुच्ची
मेरो निक नेम 'फुच्ची' हो । घरमा मलाई सबैले यही नामले बोलाउँछन् । कतिसम्म भने मेरो भाइले पनि मलाई फुच्ची नै भनेर सम्बोधन गर्छ । सबैले फुच्ची भनेर बोलाउँदा मलाई रमाइलो पनि लाग्छ ।