'सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा विश्वभरमै विकास भएका प्रविधिका सम्बन्धमा नेपाली जनतालाई सुसूचित गर्न क्यान इन्फोटेकको आयोजना प्रभावकारी सावित हुँदै आएको छ,' क्यान महासंघका अध्यक्ष विनोद ढकालले भने- 'हाम्रो पहिलो उद्देश्य भनेकै उपलब्ध नयाँ प्रविधि एवं उपकरणहरूसँग जिज्ञासु, विद्यार्थी तथा उपभोक्ताहरूलाई एउटै थलोमा साक्षात्कार गराउनु हो ।' प्रविधि विकासकर्ता एवं व्यवसायीहरूबीच इन्फोटेकलाई नै लक्षित गरेर आफ्ना प्रविधि तथा पछिल्ला संस्करणका उपकरण सार्वजनिक गर्ने टे्रन्ड विकास भएको ढकालले बताए ।
सन् १९९५ मा प्रारम्भ भएको क्यान इन्फोटेक २१ औं संस्करणसम्म आइपुग्दा अझ भव्य बन्दै गएको छ । सूचना, सञ्चार र मनोरञ्जन एउटै ग्याजेटमा समाहित भैसकेको अवस्थामा उपभोक्ताहरू पनि प्रविधिका सम्बन्धमा सचेत बन्दै गएका छन् । २ दशक लामो अनुभवले पनि इन्फोटेक र यसका अवलोकनकर्ताहरूलाई थप परिपक्व बनाएको ढकालको दाबी छ ।
आइसिटी महोत्सवको आयोजनाले यो क्षेत्रको विकास एवं विस्तारका निम्ति आवश्यक रणनीति तय गर्न पनि बल पुगेको क्यानका महासचिव अमृत पन्तको भनाइ छ । इन्फोटेक प्रविधि-विकासकर्ता, व्यवसायी तथा उपभोक्ताबीच सार्थक अन्तर्क्रिया गर्ने उपयुक्त प्लेटर्फम भएको पन्तले बताए ।
सुविसु क्यान इन्फोटेकमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हलबाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष राखिएका छन् । यस्तै ट्रसमा १ सय ४४, ओपन स्पेसमा १४ तथा फुड स्टल ९ गरी जम्मा २ सय १९ स्टल मेलामा छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सलुसन, मोबाइल फोन, मोबाइल फोन एसेसरिज, डिलर एवं डिस्टि्रब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्िटच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सलुसन्स आदि सहभागी छन् ।
यसपटकको इन्फोटेकमा विशेषतः स्मार्ट मोबाइल फोन तथा इन्टरनेट सेवा प्रदायकहरू विशेष स्किम एवं योजनाका साथ प्रस्तुत भएका छन् । स्मार्ट मोबाइल फोनसेटका कम्पनी एवं डिस्टि्रब्युटर्सले ब्रान्डिङका निम्ति आकर्षक स्टल तयार पारेका छन् । सामसुङ, हुवावे, प्यानासोनिक, कलर्स, कार्बन आदि ब्रान्डले नयाँ सिरिजका स्मार्ट मोबाइल छुटका साथ उपलब्ध गराइरहेका छन् । यस्तै इन्टरनेट सेवा प्रदायकहरू सुविसु, भायनेट, वल्र्ड लिंक, वेभसर्फरले विशेष प्याकेज सार्वजनिक गरेका छन् । डेस्कटप र ल्यापटप कम्प्युटरका अत्याधुनिक संस्करण पनि मेलामा उपलब्ध छन् । ठूला व्यापारिक समूहले ठूलै र सानाले सानै किसिमका छुट एवं अन्य निःशुल्क सेवाका कार्यक्रम मेलामा सार्वजनिक गरेका छन्, क्यानका महासचिव पन्तका अनुसार उपभोक्ताले अन्य समयमा नपाएको सुविधा यो मेलामा प्राप्त गर्नेछन् ।
यो वर्ष ४ लाख ५० हजार दर्शकलाई मेला अवलोकन गराउने लक्ष्य राखिएको छ भने सर्वसाधारणका निम्ति प्रवेश शुल्क १ सय ५० रुपैयाँ तथा विद्यार्थीलाई ७५ रुपैयाँ तोकिएको छ । अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटको व्यवस्था छ ।
इन्फोटेकमा प्रदर्शन गरिने सामान तथा सेवाका विषयमा एसएमएसबाट पनि जानकारी प्राप्त गर्न सकिन्छ । यसका लागि उपभोक्ताले मोबाइलको म्यासेजबक्समा क्यान स्पेस आफूले खरिद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाइप गरी ५००१ म्ाा पठाउनुपर्नेछ । आइतबार बिजनेस डेका दिन ठूला व्यापारिक समूहले विभिन्न डिलर तथा स्टेकहोल्डरहरूसँग बिजनेस डिल गर्न सक्नेछन् । इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरूबाट अगि्रम लिखित अनुरोध र नामावलीसहित पत्र आए निःशुल्क प्रवेश दिइने व्यवस्था मिलाइएको छ ।